Comments Add Comment

सिमेन्ट उद्योग खोल्न ८४ अर्ब एफडीआई स्वीकृत हुँदै

१८ भदौ, काठमाडौं । ठूला आयोजनामा प्रत्यक्ष विदेशी लगानी प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको लगानी बोर्डबाट पहिलो लाइसेन्स नाइजेरियन कम्पनीले पाउने भएको छ । लगानी बोर्डले ८० करोड डलर (करिब ८४ अर्ब रुपैयाँ) को सिमेन्ट उद्योग खोल्न नाइजेरियन कम्पनी डङगोट गु्रपलाई अनुमति दिने भएको हो ।

dangote_7

मेगा प्रोजेक्टहरुमा विदेशी लगानीलाई एकद्वार नीतिबाट अनुमति दिन सरकारले अढाई वर्षअघि लगानी बोर्ड (आईबीएन) स्थापना गरेको हो । बोर्डले अहिलेसम्म केही प्रस्तावमाथि अध्ययन गरिरहेको छ । अध्ययन भएकामध्ये सबैभन्दा पहिले अनुमति पाउने कम्पनी डङगोट हुने भएको छ ।

नाइजेरियन कम्पनीले ८ महिनाअघि उद्योग खोल्न प्रस्ताव गरेको थियो । अध्ययनबाट कम्पनीको प्रस्ताव जेनुइन पाइएपछि स्वीकृति दिने निष्कर्षमा पुगेको आईबीएनले जनाएको छ । डङ्गोट अफि्रकामा ठूलो सिमेन्ट उद्योग सञ्चालन गरिरहेको कम्पनी हो ।

छिट्टै उक्त कम्पनीको प्रस्ताव स्वीकृति हुने क्रममा रहेको आईबिएनका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताउनुभयो । आईबिनबाट लाइसेन्स पाएपछि डङगोटले कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरी काम अघि बढाउन सक्नेछ ।

आईबिएनले विदेशी कम्पनीलाई नेपालमा विदेशी लगानीको स्वीकृति र उद्योगको इजाजत दुवै दिनसक्ने व्यवस्था रहेको छ । त्यसमध्ये डङ्गोटले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को स्वीकृति पाइसकेको छ ।

डेनगोट गु्रपका सभापति तथा कार्यकारी प्रमुख अलिको डेनगोट फोब्र्स म्यागजिनको विश्वको ७६ औं धनी व्यक्तिमा परेका छन् । कम्पनीले सुर्खेतमा उद्योग खोल्ने योजना बनाएको छ । सुर्खेत चूनढुंगाको पनि राम्रो स्रोत भएको क्षेत्र हो ।

आईबीएनले तीन जलविद्युत प्रवर्द्धकसँग पनि नेगोसिएसन भइरहेको जनाएको छ । ९०० मेवाको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्बन्धमा भारतीय कम्पनी जीएमआर इनर्जी, ६०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्बन्धमा भारतीय कम्पनी सतलज जलविद्युत निगम र ६०० मेवाको तामाकोशी तेस्रो आयोजनाको लागि नर्वेको कम्पनी एसएन पावरसँग नेगोसिएसन भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment