१९ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्कको उद्देश्य प्राप्तिका लागि अर्थमन्त्री स्तरीय बैठक फलदायी भएको विश्वास व्यक्त गर्नुभएको छ ।
श्रीलंकाको कोलम्बोमा सम्पन्न सार्क अर्थमन्त्रीहरुको छैठौं बैठकमा भाग लिई स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिँदै मन्त्री कोइरालाले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्बन्धी सम्झौता (साफ्टा) कार्यान्वयनप्रति नेपालले पूर्ण प्रतिवद्धता जनाएको बताउनुभयो ।
बैठकमा बढ्दो डलर मूल्यले स्थानीय मुद्रामा परेको प्रभाव हटाउने विषयमा गम्भीर चासो र चिन्ता प्रकट गरिएको बताउँदै उहाँले यो समस्याका विषयमा सामूहिक प्रयास गर्ने सहमति भएको जानकारी दिनुभयो । यो समस्या केही समयमै टरेर जाने उहाँको भनाइ छ ।
मन्त्री कोइरालाका अनुसार बैठकले भौतिक पूर्वाधार सम्बन्धी व्यापारमा रहेका अवरोध हटाउने, भन्सारका प्रक्रिया सरलीकरण गर्ने, पर्यटन, कृषिजस्ता विषयमा आपसी सहयोग बढाउने निर्णय गरेको छ ।
अर्थमन्त्री कोइरालाले सार्क मञ्चमा नेपालले भौतिक पूर्वाधारलाई आर्थिक उन्नतिको पहिलो खुड्किलोमा राखेको बताउनु भयो । अर्को वर्ष नेपालमा हुने सार्क अर्थमन्त्री र सचिवहरुको बैठकले सार्कको गरिमालाई उच्च पार्न आफूहरुको प्रभावकारी भूमिका रहने अर्थमन्त्री कोइरालाको भनाइ छ ।
अर्थमन्त्रीको स्वागतका लागि अर्थ सचिव शान्तराज सुवेदीलगायत मन्त्रालयका पदाधिकारीहरु विमानस्थल पुग्नुभएको थियो ।
प्रतिक्रिया 4