१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको पाँच अर्बको रिभर्स रिपोमा बैंकहरुले ३० अर्ब रुपैयाँको प्रस्ताव गरेका छन् । प्रस्तावकमध्ये न्यूनतम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकताको आधारमा केन्द्रीय बैंकले आजै बाँडफाँट गरेको छ । रिभर्स रिपोको भारित औसत ब्याजदर ०.०७५ प्रतिशत कायम भएको छ ।
बैंकहरुबाट आएको रकम र ब्याजदरको प्रस्तावले बजारमा निस्त्रिmय तरलताको मात्रा उच्च रहेको पुष्टि गरेको छ । अधिकांश वाणिज्य बैंकसहित २८ बैंकहरुले राष्ट्र बैंकलाई ऋण दिन प्रस्ताव गरेका थिए । बैंकहरुले अत्यन्तै न्यून ब्याज पाउने गरी नेपाल राष्ट्र बैंकलाई अल्पकालीन ऋण दिएका छन् । यो रिभर्स रिपोको परिपक्व अवधि सात दिन रहेको छ ।
नेपाल राष्ट्र बैंकले बजारमा तरलता अभाव भएको बेला रिपोमार्फत तरलता प्रवाह गर्दछ भने बजारमा अधिक तरलता भएको अवस्थामा रिभर्स रिपोमार्फत तरलता खिच्ने गर्दछ । बैंकहरुले सरकारी ऋणपत्रको धितोमा केन्द्रीय बैंकबाट ऋण लिने प्रक्रिया रिपो र त्यसको विपरीत प्रक्रिया रिभर्स रिपो हो ।
राष्ट्र बैंकले तीन वर्षपछि रिभर्स रिपो जारी गरेको हो । यसअघि २०६७ भदौमा रिभर्स रिपो जारी गर्दा भारित ब्याजदर ३ प्रतिशत कायम भएको थियो । अहिलेको अवस्थाले बैंक तथा वित्तीय संस्थामा इतिहासकै अधिक तरलताको स्थिति देखाएको छ ।
पछिल्लो समय वाणिज्य बैंकहरुमा अन्तर बैंक सापटी १ प्रतिशतभन्दा कममा कारोबार भइरहेको छ भने अन्य वित्तीय संस्थामा १ प्रतिशतभन्दा केही बढीमा कारोबार भइरहेको छ । अन्तर बैंक दर न्यून हुनुले पनि बैंकहरुसँग तरलता पर्याप्त रहेको संकेत गर्दछ ।
प्रतिक्रिया 4