Comments Add Comment

गच्छदारको नेतृत्वमा चुनाव परिचालन समिति

१९ भदौ, बिराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राष्ट्रिय भेलाले अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको छ । तीन दिनयता बिराटनगरमा जारी भेलाले वरिष्ठ उपाध्यक्ष रामेशवर राय यादव र महासचिव जितेन्द्रनारायण देव रहने गरी केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हो ।

बिराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी भेलाको निर्णयवारे जानकारी दिँदै महासचिव जितेन्द्रनारायण देवले अध्यक्ष गच्छदारको संयोजकत्वमा केन्द्रीय कोषाध्यक्ष श्रीमती आशा चतुर्वेदी समेत रहने गरी अर्थ संकलन तथा परिचालन समिति समेत गठन गरिएको जानकारी दिनुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलोपल्ट आयोजना गरिएको राष्ट्रिय भेलाले आसन्न सविधान सभाको चुनावमा प्रत्यक्ष तर्फ कम्तिमा ५० सिट जित्ने र ४५ सिटमा कडा प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । कुल २ सय ४० निर्वाचन क्षेत्र मध्ये २ सय निर्वाचन क्षेत्रमा मात्र चुनाव लड्ने तयारीमा रहेको लोकतान्त्रिकले प्रत्यक्षतिर प्राप्त गरेको सिट संख्याको दोब्बर संख्यामा समानुपातिक सिट जित्ने दाबी गरेको छ । लोकतान्त्रिकले आगामी निर्वाचनवाट पार्टी ठूलो पार्टीको हाराहारीमा पुग्ने निष्कर्ष निकालेको छ ।

भेलाले मुस्लिम फोरम, नेपाल लोकतान्त्रिक ट्रेड युनियन, थरुहट लोकतान्त्रिक परिषद, लिम्वुवान, मगर र तमु परिषदलाई भातृ संगठनको मान्यता प्रदान गरेको छ । गत आइतबारदेखि विराटनगरस्थित अथिति सदनमा केन्द्रीय पदाधिकारी, जिल्ला समिति र भातृ संगठनका प्रमुख सम्मिलित राष्ट्रिय भेला तीन दिनसम्म चलेको थियो ।

भेलामा ५३ जिल्लाका ८ सय १ जनाको सहभागिता रहेको थियो । चुनावी स्थिति र सम्भावित परिणामबारे विवेचना गर्ने र चुनावी प्रशिक्षण दिने मुख्य एजेन्डामा भेला केन्दि्रत भएको महासचिव देवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment