२० भदौ, काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको ४३५ औं बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ ।
बैंकले गत आवमा प्रतिसेयर ३६.६४ रुपैयाँ आम्दानी हुने गरी ६१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १ अर्ब ६८ करोड ४४ लाख चुक्ता पुँजी रहेको बैंकले बोनस सेयरमार्फत २ अर्ब पुँजी पुर्याउन लागेको हो ।
बैंकको सेयर मूल्य ५६० रुपैयाँको हाराहारी कारोबार भइरहेको छ । बोनस सेयरपछि समायोजित सेयर मूल्यअनुसार लगानीकर्ताले प्रतिकित्ता ६६ रुपैयाँ बराबर लाभ पाउने देखिन्छ ।
दुई वर्षअघि १७ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले यस पटक लाभांशमा उल्लेख्य कटौती गरेको छ । बैंकले अघिल्लो वर्ष र गत वर्ष बराबर मुनाफा गरेको थियो । यद्यपि गत वर्ष चुक्ता पुँजी बढेको कारण प्रतिसेयर आम्दानी घटेको छ ।
प्रतिक्रिया 4