Comments Add Comment

निर्वाचन निर्विकल्प शर्त : कोइराला

नवीन गिरी

sushil koirala२० भदौ, नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति, संविधान र लोकतन्त्रका लागि निर्वाचन निर्विकल्प शर्त भएको बताउनुभएको छ । सभापति कोइरालाले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको भन्दै सबैलाई आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचन सफल पार्ने अभियानमा जुट्न आग्रह गर्नुभयो ।

नेपाल विद्यार्थी संघ बाँकेको ११ औं जिल्ला अधिवेशनको नेपालगञ्जमा बिहीवार उद्घाटन गर्दैै उहाँले घोषित मितिमै निर्वाचन भए मात्रै मुलुकले शान्ति र समृद्धिको मार्ग पहिल्याउन सक्ने धारणा राख्नुभयो । आफूलाई देशका विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्न कार्यकर्ताहरुले अनुरोध गरिरहेको उल्लेख गर्दै उहाँले आफू बाँकेबाटै चुनाव लड्ने समेत स्पष्ट पार्नुभयो । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहनुभएका सभापति कोइरालाले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीलाई निर्वाचनमा आउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अरु सबै दल चुनावमा आउन सहमत भइसक्नुभयो, बैद्यजी तपाईंहरु पनि चुनावमा आउनुहोस्, चुनावमार्फत् संविधान जारी गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं ।’ सभापति कोइरालाले मुलुकमा चुनावको वातावरण निर्माणका लागि कांग्रेसले हदैसम्मको लचकता अपनाएको दाबी गर्दै केही आफ्नो पार्टीलाई चित्त नबुझेका कुरामा पनि सम्झौता गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकले निकास पाओस् भन्ने चाहनाले हामीले अरुका कुरा धेरै सुनेर सहमति जनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment