Comments Add Comment

एउटै गाविसका पाँच विद्यालयमा शौचालय छैन

२२ भदौ, सुर्खेत । सुर्खेतको पूर्वमा रहेको आग्रीगाउँ गाविसका पाँच विद्यालयमा अहिलेसम्म शौचालय निर्माण हुन सकेको छैन ।

यस गाविसमा रहेका २१ वटा विद्यालयमध्ये पाँचवटा प्राथमिक विद्यालयमा अहिलेसम्म पनि शौचालयको नबनाइएको आग्रीगाउँका गाविस सचिव प्रकाश आचार्यले जानकारी दिनुभयो ।

उहाँले गाविस वडा नं ९ र ६ मा रहेका चन्द्रसेवा प्राथमिक विद्यालय, शिखर प्राथमिक विद्यालय लापु, भैरव प्राथमिक विद्यालय, सूर्यज्योति प्राथमिक विद्यालय र कोइली प्राथमिक विद्यालयमा अझै शौचालय नभएको बताउनुभयो ।

विद्यालयमा र घरमा समेत शौचालय नहुँदा त्यहाँका विद्यार्थी शौचालय जाने बानी नपरेको सचिव आचार्यको भनाइ छ ।

यता जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक उत्तमप्रसाद अर्यालले सूर्यज्योति प्राविमा शौचालय बनाउन भूगोल नै नमिलेको बताउनुभयो । त्यहाँको विद्यालय नजिक शौचालय बनाए पनि पानी परेका बेला भेलले बगाउने गरेकाले शौचालय निर्माण गर्न नसकिएको बताउनुभयो । विद्यालय निरीक्षक अर्यालले अन्य विद्यालयमा तत्काल शौचालय निर्माण गर्न पहल गरिने बताउनुभयो ।

आग्रीगाउँका दलित तथा जनजाति अहिले पनि शौचालयको पहुँचभन्दा बाहिर रहेको गाविस सचिव आचार्यको भनाइ छ । त्यहाँका ८५ प्रतिशत दलित र जनजातिले शौचालयको प्रयोग नगर्ने सचिव आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment