Comments Add Comment

निर्वाचनमा भाग लिन माओवादीलाई कांग्रेसको आग्रह

२२ भदौ, काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताद्वयले निर्वाचन नै लोकतन्त्रको आत्मा भएकाले सरकार गठनको मुद्दालाई प्रमुख नबनाई निर्वाचनमा भाग लिन नेकपा-माओवादीलाई आग्रह गरेका छन् ।

बिपी विचार समाजद्वारा ‘बिपी कोइराला ः राष्ट्रिय मेलमिलाप र वर्तमान राजनीति’ विषयक कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले मङ्सिर ४ बाट अर्काे मितिमा निर्वाचन सार्न नहुने बताउनुभयो । निर्वाचनमा नेकपा-माओवादीलगायत अन्य असन्तुष्ट दलहरु आउनुपर्छ भन्ने पार्टीको मान्यता रहेको र यसका लागि निरन्तर वार्ता र संवाद गरिराखेको उहाँहरुले जानकारी दिनुभयो ।

उहाँहरुले निर्वाचनका लागि पार्टीले उम्मेदवार छनोट, घोषणापत्रलगायतका आवश्यक कार्य गरिराखेको जानकारी दिँदै निर्वाचनमा कोहीसँग साँठगाँठ नहुने स्पष्ट पार्नुभयो । जननेता नेता बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र मेलमिलाप नीतिबाट पार्टी विचलन नभएको उहाँहरुले बताउनुभयो ।

कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले सरकार गठनका विषयमा चित्त नबुझे पनि नेकपा-माओवादीलगायतका असन्तुष्ट दल निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन अवसर हो, अवसरलाई खेर फाल्नु भनेको प्रजातन्त्र र जनतालाई धोका दिनु हो ।”

वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनमा जाने विषयलाई राजनीतिक नाफाघाटासँग जोड्न नहुने बताउँदै निर्वाचन नै समस्या समाधान गर्ने माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ बहुमत दिलाउन पार्टीको आन्तरिक सङ्गठन सुदृढ बनाउन आवश्यक छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment