Comments Add Comment

थारु समुदाय अटवारी पर्व मनाउँदै

२३ भदौ, कञ्चनपुर । कञ्चनपुरका थारु समुदायका पुरुषहरूले आज हर्षोल्लासका साथ अटवारी पर्व मनाइरहेका छन् ।

भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

पर्वका दिन थारु समुदायका पुरुषहरू दिनभरि व्रत बसी साँझ घरमा पवित्र तरिकाले रोटी पकाई दही, फलफूलसाथ अग्नि देवतालाई अपर्ण गरी आफ्ना दिदीबहिनीको नाममा अग्रासन छुट्याई परिकार खाने गर्दछन् ।

यस पर्वमा पाँच पाण्डवमध्ये भीमको पूजा गर्ने गरिन्छ । प्राचीन दाङका राजा दङ्गीशरणको राज्यलाई भीमले शत्रुबाट बचाएको सम्झनामा यो पर्व मनाउन थालिएको थारु संस्कृतिका जानकार भागीराम चौधरीले बताउनुभयो ।

यस पर्वलाई थारु समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने गरेका छन् । शनिबार यहाँका थारु समुदायले पिठो पिस्ने, तोरीको तेल पेल्ने र पाकेको केरा घरमा ल्याउने कार्य गरेका थिए ।

यस पर्वको अघिल्लो दिन माछा तथा कुखुराको मासु दरका रूपमा खाने चलन यस समुदायमा रहेको छ । घरभित्र गोवरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन/चार जना मिली आगो बाल्ने गरिन्छ । सोही चोखो आगो सबैले घरघरमा लैजाने गर्दछन् । सो आगोबाट पकाइने परिकार व्रत नबसेका व्यक्तिले छुन नहुने चलन रहेको थारु अगुवा धनबहादुर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार घरमा पकाइएको परिकार घरका सबै व्रतालुको भाग लगाई बचेका परिकार अग्रासनका रूपमा दिदीबहिनीको घरघरमा पुगेर दिने चलन रहेको छ ।

परिकारका रूपमा हलुवा, रोटी, फुलौरा आदि बनाइन्छ । परिकार अग्निमा होमे पछि खानपिन सुरु हुन्छ ।

दाजुभाइले परिकार ल्याउने आशामा दिदीबहिनीहरू दाजुभाइको व्यग्र प्रतिक्षामा बसेका हुन्छन् । यसबाट दाजुभाइ र दिदीबहिनीबीचको प्रगाढ स्नेह र ममता झल्किने अगुवा चौधरीले बताउनुभयो ।

दिदीबहिनीले समेत दाजुभाइलाई आफ्नो घरबाट गच्छेअनुसारको सामग्री दिएर पठाउने चलन यस समुदायमा रहेको पाइन्छ । यो पर्व कञ्चनपुरसहित थारु बसोबास रहेका दाङ, कैलाली, बर्दिया र बाँकेलगायतका क्षेत्रमा मनाउने गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment