Comments Add Comment

नमुना मतपत्र छपाइ सुरु, मतदाताको घरघरमा आउँदै

२४ भदौ, काठमाडौं । के तपाइँ आगामी निर्वाचनमा मत खसाल्दै हुनुहुन्छ ? निर्वाचनमा कसरी मत खसाल्ने भन्नेबारे अन्योलमा हुनुहुन्छ ? चिन्ता नगर्नुहोस् । आफूले रोजेको र खोजेको उम्मेदवार तथा दललाई कसरी भोट हाल्ने ? यसबारे निर्वाचन आयोगले तपाइँलाई घरघरमा आएर नमुना मतपत्र देखाई प्रशिक्षित गराउँदैछ ।

निर्वाचन प्रक्रियाप्रति असहमत केही दलले निर्वाचनमा भाग लिने सुनिश्चितता भइनसके पनि निर्वाचन आयोगले भने आफ्ना तयारीका सबै कार्यलाई एकैसाथ अघि बढाएको छ । आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना, मतदाता परिचयपत्र छपाइ, निर्वाचन अधिकृतलाई अभिमुखीकरण, मतदाता शिक्षा स्वयम्सेवकको परिचालन, पर्यवेक्षकका लागि आहृवान, समानुपातिक निर्वाचनबारे दलहरूलाई प्रशिक्षण लगायतका तयारीका कार्य धमाधम गरिरहेको छ ।

आगामी मङ्सिर ४ गते हुने अर्काे संविधानसभाको निर्वाचनका लागि आयोगले नमुना मतपत्र तयार गरी मतदाता शिक्षा सुरु गर्दैछ । नमुना मतपत्र आयोगका मतदाता शिक्षा स्वयम्सेवकले मतदाता कहाँ लिएर जाने कार्यक्रम तय गरिएको छ । आयोगले जनक शिक्षा सामग्री कम्पनी लिमिटेडलाई मतपत्र छपाइको जिम्मा पनि दिइसकेको छ । आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले दिनुभएको जानकारीअनुसार मतपत्र छपाइका लागि एक नयाँ मेसिन र आवश्यक कागजको व्यवस्था गरी सो संस्थालाई दिइसकेको छ । छपाइका लागि भक्तपुरस्थित जनक शिक्षाको हाताभित्र सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाई नमुना मतपत्र छपाइको काम सुरु गरेको हो ।

पहिलो चरणमा नमुना मतपत्र छपाइको काम सुरु भइसकेको छ र मुख्य निर्वाचन अधिकृतलाई आयोगद्वारा दिन लागिएको क्षेत्रीयस्तरको अभिमुखीकरण प्रशिक्षणमा नमुना मतपत्रबारे जानकारी दिइने कार्यक्रम पनि सुरु भएको छ ।

आयुक्त यादवका अनुसार निर्वाचनका लागि करिब दुई करोड ७५ लाख मतपत्र आवश्यक हुनेछ । तस्बिरसहितको मतदाता नामावली अन्तिम नामावली तयार भएपछि आवश्यक मतपत्रको सङ्ख्या निर्धारण हुनेछ । हाल आयोगले अन्तिम नामावलीको प्रमाणीकरण गरिराखेको छ । आगामी असोज १ गते निर्वाचन कार्यालय स्थापना हुनुअगाडि नै नामावली पठाउने तयारी आयोगले गरिराखेको छ । हाल आयोगमा एक करोड २४ लाख ७७ हजार २८१ तस्बिरसहितको मतदाता नामावली सूचीकृत भएको छ । कतिपय मतदाताले दोहोर्‍याएरसमेत फोटो खिचाएकाले त्यसमाथि ‘भेरिफिकेसन’को कार्य अन्तिम चरणमा पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा वेभ टेक कम्पनीको दुई रङ्को नयाँ मेसिन केही दिनमा आउँदैछ । यस्तै एक नयाँ कटिङ् मेसिन पनि जनक शिक्षाले अनुदानमा पाउनेछ । जनक शिक्षाका निर्देशक कपिल पोखरेलले आयोगले खरिद गरिदिएको ४८५ मेटि्रक टन (म्याप लिथो) कागज आफूहरूले पाइसकेको र थप आदेशपछि मतपत्र छपाइ सुरु हुने बताउनुभयो ।

उहाँले मतपत्र छपाइ कार्य केन्द्रको नियमित कर्मचारीबाट गराउँदा एक महिनाभित्रमा सम्पन्न हुने जानकारी दिनुभयो । हाल केन्द्रमा मतपत्र छपाइको सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको छ । आयोगले मतदाता परिचयपत्र छपाइका लागि पनि टेन्डर प्रक्रिया सुरु गरेको छ । तस्बिरसहितको मतदाता नामावलीका आधारमा गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तयार गर्ने नीति लिएको छ । तर निर्वाचनअघि राष्ट्रिय परिचयपत्र तयार नहुने देखिएकाले आयोगले मतदाता परिचयपत्र लिएर मतदाताको घर आँगनमा जाने तयारी गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment