Comments Add Comment

पचास रुपैयाँ तिरौं, पेटभर खाऔं

२४ भदौ, इटहरी । दाल, तरकारी, अचार, मिनिरल वाटरसहित भरपेट खाना मात्र ५० रुपैयाँमा त्यो पनि वातानुकुलित कोठामा बसेर । महंगी आकासिएर तपाई हाम्रै भान्छामा ५० रुपैयाँमा एक छाक खाना बनाउन मुस्किल पर्ने भइसकेको बेलामा यो खबरले अचम्मित बनाउन सक्छ । तर अचम्म नमान्नोस्, पूर्वको इटहरी पुग्नुभयो भने तपाईले पनि यो सुविधा लिन पाउनुहुन्छ । त्यहाँको गोरखा डिपार्टमेन्ट स्टोरस्थित गोरखा किचनले आफ्ना ग्राहकलाई ५० रुपैयाँमा गुणस्तरीय खाना खुवाइरहेको छ ।

होटलले गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी गर्दै डिपार्टमेन्टका प्रबन्ध निर्देशक बलराम आचार्यले दाबि गर्नुभयो । ‘म जुनसुकै खाना ढुक्क भएर खान सक्छु’ उहाँले भन्नुभयो- ‘डिपार्टमेन्ट स्टोर भनेको धनीहरुका लागि मात्र होइन भन्ने सन्देश दिन र आर्थिक अवस्था न्यून भएका रिक्सावाला, मजदुरहरुलाई समेत आकषिर्त गर्न कम नाफा भएपनि यो सुविधा प्रदान गरेको हुँ ।’

नुनदेखि सुनसम्मका हरेक सामाग्री र खाद्यपदार्थ सुलभ मूल्यमा उपलब्ध गराइरहेको यो डिपार्टमेन्ट स्टोरले विहान मर्निङ वाकमा निस्कनेहरुलाई प्रति कप २५ रुपैयाँमा कफी उपलब्ध गराउँछ । स्टोरले आफ्नै फार्मबाट उत्पादित गाईको दूध प्रति लिटर ५० रुपैयाँ र भैंसीको दुध प्रति लिटर ६० रुपैयाँमा बेच्ने गरेको छ । दुध सस्तोमा उपलब्ध गराएपनि पानी भने एक थोपा पनि नमिसाएको आचार्यले दाबि गर्नुभयो । बन्दका दिनमा पनि बिहान-बेलुका दूध, फलफूल र तरकारीका लागि खुल्ने यो डिपार्टमेन्टमा ग्राहकको सधै भिड हुने गर्छ ।

डिपार्टमेन्टले भान्सामा प्रयोग गरिने र आफूकहाँ बेचिने तरकारी, कुखुरा र खसीको मासुसमेत आफ्नै फार्ममा आफै उत्पादन गर्दै आएको छ । त्यसका लागि सुनसरीकै एकम्बा गाविसमा ११ विगाहामा जग्गामा तरकारी खेती गरिरहेको छ । डिपार्टमेन्ट स्टोरको छतमा समेत माछाका कार्टुन राखेर गरिरहेको तरकारी खेती गरिरहेको हेर्दा साँच्चिकै अचम्म लाग्छ ।

डिपार्टमेन्टमा अहिले ४ सय भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । त्यसमध्ये ८० प्रतिशत महिलाहरु रहेको आचार्यले बताउनुभयो । ‘हरेक कर्मचारीलाई आफूले गरेको काम हेरिदेओस् भन्ने लाग्दो रहेछ’ उहाँले भन्नुभयो- ‘कुनै दिन भेट्न गइन भने मलाई बिरामी भयो कि भनेर सोध-खोज गर्न आउँछन् ।’

२०४० साल असार ६ गते कानेपोखरी दक्षिणको सानो बजारमा किराना र काँट व्यवसाय सुरु गरेका आचार्य पहिलो दिन २१ रुपैयाँको बिक्री हुँदा साह्रै खुसी हुनुभएको थियो रे । त्यसको ६ महिनापछि साइकल किन्न सक्ने हुँदा संसारकै ठूलोमान्छे भएजस्तो लागेको थियो, उहाँले सुनाउनुभयोे ।

अचम्म लाग्न सक्छ, ०५६ असारबाट डिपार्टमेन्ट व्यवसायमा हात हालेका उहाँले अहिले धरान र दमकमा पनि व्यवसाय विस्तार गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment