Comments Add Comment

सडक मर्मतका नाममा अलकत्र पचाउनेहरुको नामावली

२५ भदौ, काठमाडौं । असार लाग्दा नलाग्दै राजधानीका सडकमा धमाधम कालोपत्रे बिछ्यान्छ । साउन नलाग्दै सो कालोपत्रे उक्किएर खाल्डो पर्न थाल्छ । अर्को वर्षको असारमा फेरि यस्तै दृश्य दोहोरिन्छ । बाटो हिँड्नेहरु प्रतिक्रिया दिन्छन्,- ‘ठेकेदारले रकम पचाउन जनताका आँखामा छारो हालेको मात्रै हो, एक किलोमिटर कालोपत्र गर्दा ठेकदारमा आफ्नो घरको एउटा तलो थप्छ ।’

ठेकेदारहरुले सडक मर्मत एवं कालोपत्रेका लागि महानगरपालिका लगायत सरकारी स्रोतबाट लिने रकमबाट कमसल काम त गर्छन्, नै तर सोको हिसाब-कितावसमेत पाँच सात वर्ष वितिसक्दा पनि सरकालाई फछ्र्याैट गर्दैन रहेछन् भन्ने तथ्यचाँहि मंगलबार काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तरगत राजमार्गमा कालोपत्रे, ग्राभेल, ढुंगा छाप्नेलगायतका संरचना निर्माणका लागि प्रदान गरेको पेश्की रकम सम्म फछ्र्यौट नगर्नेहरुको नामावली सार्वजनिक भएको छ ।

त्यसरी सार्वजनिक गरिएका पेश्की फछ्र्यौट नगर्नेहरुको नामावलीमा ८ वटा ठेकेदार कम्पनी र ६३ वटा संघसंस्था एवं उपभोक्ता समितिहरु रहेका छन् । मीनभवनदेखि बालकुमारी पुलसम्म ग्राभेल गर्ने ठेक्का लिएको रोशन दाहालले ०६३ सालमा लिएको पेश्की अहिलेसम्म फछ्र्यौट भएको छैन । त्यसैगरी अस्कल क्याम्पस पछाडि कालोपत्रे गर्ने भनेर महर्जन निर्माण सेवाका वीरेन्द्र महर्जनले ०६५ सालमा लिएको पेश्की हालसम्म फछ्र्यौट नभएको महानगरपालिकाले जनाएको छ । त्यस्तै उनै महर्जनले वीर अस्पताल प्युखामा सडक कालोपत्रे गर्ने भन्दै लिएको पेश्की समेत अहिलेसम्म फर्छ्यौट गरेका छैनन् ।

बीएल निर्माण सेवाका भूवनलाल महर्जनले काठमाडौं २२ को धरहरा टेबहाल मार्गमा कालोपत्रे गर्न भन्दै लिएको पेश्की समेत फछ्र्यौट भएको छैन । सुमित्रा निर्माण सेवाका रामबहादुर थापाले महानगरपालिकाको मेट्रो एफएम निर्माण कार्यका लागि ५ वर्ष पहिले लिएको पेश्की अझैसम्म फर्छ्यौट गरेका छैनन् ।

बाटो निर्माणका लागि लाखौं रकम लिएर पेश्की फछ्र्यौट नगर्नेहरुमा चक्रपथ कान्ति बाल अस्पताल बाटो निर्माण उपभोक्ता समिति, हाँडीगाउँ ढल्कु ढल निर्माण समिति, गणबहाल पक्की बाटो निर्माण समिति, क्षेत्रपाटी ढल्को इन्द्रायणी समिति, महानगरीय प्रहरी महाशाखा, चत्रक्रपथ सीतापाइला राजकुलो निर्माण समिति, वौद्ध स्तुपा मर्मत तथा ढल निर्माण समिति लगायत रहेका छन् ।

त्यसैगरी डल्लु आवास युवा समिति, बल्खु ढल उपभोक्ता समिति रामथापा मगर (संसद कोष) तथा शारदा महर्जन अध्यक्ष रहेको गोदार गाउँ ढल निर्माण समितिले पनि पेश्की फर्छ्यौट नगरेको वर्षौ बितिसकेको छ । ज्ञानेश्वर मार्गमा सडक पीच गर्न भन्दै पाँचवर्षअघि पिपलबोट माग टोल सुधार समितिले लिएको पश्कीसमेत अहिलेसम्म फर्छ्यौट भएको छैन । काति संगम मार्गमा ढुंगा छाप्न निकासा भएको रकमको समेत हिसाव किताव पाँच वर्षसम्म गोलमाल छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलको निवास जाने बाटोमा पर्ने बालाजु-बोहोराटार मार्गको ढल निर्माणका लागि सामुदायिक विकास तथाच सहकारी मञ्चले ४ वर्ष पहिले लिएको पेश्की अहिलेसम्म फर्छ्यौट गरेको छैन । काठमाडौं ३३, धोबीघोलाको पुल निर्माणका लागि रुद्रमति टोल सुधार समितिले लिएको पेश्की ३ वर्षसम्म फर्छ्यौट गरेको छैन ।

यसैबीच मंगलबार काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी ३५ दिनभित्र पेश्की फर्छ्यौट गर्न नआए कानूनबमोजिम कारवाही गर्ने उर्दी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment