Comments Add Comment

६ दलका शीर्ष नेताले राष्ट्रपतिलाई भने-मंसिर ४ जसरी पनि चुनाव हुन्छ

२५ भदौ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख ६ दलका शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेटेर मंसिर ४ को चुनाव हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् । साथै उनीहरुले नेकपा-माओवादीलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेकेा भन्दै आवश्यक परेमा राष्ट्रपतिले समेत कुराकानी गरिदिनु पर्ने बताएका छन् ।

उच्चस्तरीय राजनीतिक समितिमा रहेका एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चा, मधेसी जनअधिकार फोरम र संघीय सद्भावना पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतल निवास पुग्नु भएको थियो । भेटमा नेताहरुले अहिलेसम्म भएको सहमति र वार्ता प्रक्रियाबारे बि्रफिङ गरेका छन् । ‘चुनावकै सन्दर्भमा कुरा भएको हो । उहाँहरुले मंसिर ४ को चुनाव जसरी भएपनि सफल पर्ने हो त्यसमा कुनै संसय बाँकी छैन भन्नु भएको छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो-‘नेताहरुले नेकपा-माओवादीलाई पनि समेट्न आफू पनि कुरा गर्ने र आवश्यक पर्‍यो भने राष्ट्रपतिले कुरा गरिदिनुपर्छ भन्नु भएको छ ।’

जवाफमा राष्ट्रपतिले सवैलाई सहमतिमा लिएर निर्वाचनमा जान सुझाव दिनु भएको छ । दाहालका अनुसार दलहरुले आग्रह गरेमा सहमतिका लागि बैद्यसँग कुराकानी गर्न समेत राष्ट्रपति सकारात्मक हुनुहुन्छ ।

भेटपछि राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइरालाले भन्नुभयो-‘राष्ट्रपतिले निर्वाचनमा सवै दलको सहभागिता आवश्यक रहेकोले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो ।’ उहाँले वर्तमान सरकारको परिवर्तन र निर्वाचन मिति सार्नेबाहेक सवै विकल्पमा छलफल गर्न समिति तयार रहेको बताउनुभएको छ । कोइरालाले भन्नुभयो-‘निर्वाचनको मिति सार्ने रसरकार विघटन गर्नेबाहेकका नेकपा-माओवादीका माग पूरा गर्न तयार छ ।”

भेटमा कोइरालासँगै एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका भरतविमल यादव र संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतका नेता सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment