Comments Add Comment

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको न्यूयोर्क भ्रमण छोट्टियो

२५ भदौ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अमेरिका भ्रमण छोट्याउनु भएको छ । संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन रेग्मी असोज १० गते न्यूयोर्क जानुहुने भएको छ ।

यसअघि असोज ४ गते नै जाने कार्यक्रम थियो । संविधानसभा निर्वाचनको तयारीमा मुलुक जुटेका बेला लामो समय सरकार प्रमुख विदेश यात्रामा निस्कनु उपयुक्त नहुने ठहर गर्दै अध्यक्षले भ्रमण छोट्याउनु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताउनुभयो ।

परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरेले भने भ्रमण स्थगित गर्नु भएको छ । सुरक्षा व्यवस्थापनलगायत अन्य दैनिक कार्य सञ्चालन सहजरुपमा सम्पादन गर्न घिमिरेले भ्रमण स्थगित गर्नु भएको हो । ‘अध्यक्ष रेग्मी र गृहमन्त्रीबीच महासभामा भाग लिने नलिने सम्बन्धमा आपसी विचार विमर्श भयो । उहाँहरु चुनावप्रति अर्जुनदृष्टि लगाएको सरकारले त्यसलाई सफल पार्नुपर्ने महसुस गरी मन्त्री घिमिरे न्यूयोर्क नजाने निर्णयमा पुग्नुभयो, र अध्यक्ष रेग्मीको टोली पनि सानो हुनेछ’-उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले महासभालाई असोज १२ गते सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष रेग्मी असोज १४ गते स्वदेश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment