Comments Add Comment

चुनावमा जनविरोधी शक्तिहरु पराजित हुन्छन् : प्रचण्ड

२९ भदौ, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी शक्तिहरु जनतालाई अधिकार सम्पन्न बनाउन तयार नभएका कारण मुलुकमा राजनीतिक सङ्क्रमण बढेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालको राष्ट्रिय भेलाको शनिवार उद्घाटन गर्दै उहाँले जनतालाई अधिकार सम्पन्न बनाउन पनि आगामी संविधानसभा निर्वाचन सफल बनाउनु अत्यावश्यक रहेको वताउनुभयो ।prachanda

पूर्ण बहुमत नहुँदा जनताको पक्षमा काम गर्न नसकिएको तर्क गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संविधानसभामा परिवर्तनकारी र क्रान्तिकारी शक्तिको पूर्ण बहुमत नहुँदा जनताको पक्षमा काम गर्न सकिएन, भने दुई तिहाइ मत नहुँदा जनताको पक्षमा संविधान निर्माण गर्न सकिएन ।”आगामी संविधानसभामा नेपाली जनताले एमाओवादीलाई पूर्ण बहुमत दिने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न पनि आंशिक होइन, पूर्ण बहुमतको जरुरत रहेकामा जोड दिनुभयो । संविधानसभा निर्वाचनलाई सफल बनाउन एमाओवादी प्रतिबद्ध भएर लागेको जानकारी दिँदै उहाँले जनविरोधी शक्तिहरु पराजित हुने छन् भन्नुभयो ।

संविधानसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा मानवअधिकारवादी सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष दाहालले जनताको अधिकारलाई सम्मान गर्नु नै उत्तम मानवअधिकार भएको बताउनुभयो । कार्यक्रममा एमाओवादीका अर्का नेता वर्षमान पुनले मानवअधिकारको विषय आम जनतासँग जोडिएकाले एकपक्षीय रुपमा गरिने सो अधिकारको व्याख्याले कुनै पनि पक्षको हित नगर्ने धारणा राख्नुभयो ।

एमाओवादी विधिको शासनलाई सम्बर्द्धन गर्ने पक्षमा रहेको भन्दै उहाँले मानवअधिकारलाई सापेक्ष ढङ्गले मात्र व्याख्या गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा मानवअधिकारवादी चरण प्रसाईं, शोभाकर पराजुली, विष्णुपुकार श्रेष्ठलगायतले मानवअधिकारको विषयलाई आम जनताको अधिकारसँग जोडेर हेर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष वोर्णबहादुर कार्कीले अवधारणापत्र पेस गर्नुभएको थियो । सो अवधारणापत्रमा द्वन्द्वकालीन मुद्दाहरुको निरोपणका लागि तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment