+
+
Shares

अटो लोनमा ग्राहक ठगिने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २९ गते २१:३२

२९ भदौ, काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो सोमा विभिन्न बैंकहरुले सस्तो ब्याज दरमा अटो लोनको स्किम प्रस्तुत गरेका छन् । तर, ती स्किमको गहिराइमा विश्लेषण नगरी कर्जा लिने निर्णयमा पुग्नु हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु हुन सक्ने देखिएको छ ।

au

बैंकहरुमा अधिक तरलता र व्यावसायिक कर्जा मागको न्यूनताको कारण बैंकहरु सस्तो ब्याजमा अटो लोनतर्फ आकषिर्त हुनु स्वाभाविक हो । दसैं र तिहारको मुखमा कार बिक्रेता कम्पनीहरुले विभिन्न स्किम ल्याएर बिक्री प्रवर्द्धन गरेका छन् । त्यसैले यही बेला कर्जाका स्किम जारी गर्नु बैंकहरुको पनि बिजनेश बढाउने मौका हो ।

बैंकहरुले ९.५ प्रतिशतसम्म ब्याजदरमा अटो लोन दिने स्किम सार्वजनिक गरेका छन् । ग्राहकलाई फसाएर एक वर्षभित्रै ब्याज बढाउने नियत बैंकहरुको हुन सक्ने आशंका विश्लेषकहरुको छ । केही बैंकले मेला अवधिभरको लागि तथा अरु केहीले चाड पर्वको लागि मात्र सस्तो ब्याज भनेर स्किम ल्याएका छन् ।

सात/आठ वर्षको भुक्तानी अवधि हुने ऋण सुरुको सस्तो ब्याज हेरेर लिंदा ग्राहक पछि पछुताउनुपर्ने हुन सक्छ । सामान्यतयाः बैंकहरुले बेस रेटमा तीन प्रतिशत बिन्दु थपेर कर्जा प्रवाह गर्दछन् । अहिले अटो सोमा बैंकहरुले प्रचारमा ल्याएका योजनाअनुसार, बेस रेटमा ०.५ प्रतिशत बिन्दु थपेर ब्याज दर निर्धारण गरेका छन् । यदि बैंकको बेस रेट आगामी वित्तीय विवरणमा कम नहुने हो भने यही ब्याज दरमा बैंकहरुले कर्जालाई निरन्तरता दिन सक्दैनन् ।

अधिकांश बैंकले यही साउन र भदौमा ब्याज दर परिमार्जन गरेका छन् । उक्त सूचीमा अटो कर्जाको ब्याज दर प्रायः १२ प्रतिशतभन्दा माथि देखिन्छ । अटो मेलामा बैंकहरुले एक्कासी ब्याज दर घटाएका छन् । जसले गर्दा यो ब्याज दिगो हो या चलाखी हो भनेर विश्लेषण गर्नुपर्ने भार ग्राहकमा थपिएको छ ।

बैंकहरुले कमर्सियल अटो लोनभन्दा व्यक्तिगत अटो लोन तुलनात्मक सस्तो ब्याज तथा नयाँ ग्राहकभन्दा ठूलो कारोबार गर्दै आएका ग्राहकलाई न्यून ब्याजमा ऋण दिने गर्दछन् । तर, सबै ग्राहकलाई सस्तो दरमा ऋण दिन बैंकहरुको लागि सम्भाव्य बिजनेश हुन सक्ने देखिंदैन ।

ऋण लिएपछि ग्राहकले व्यहोर्नुपर्ने दायित्व पूर्ण पारदर्शी गरेर बैंकहरुले कारोबार गनुपर्ने राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताउनुभयो । ग्राहकसँग लिइने शुल्क र ब्याज अखबारमा सार्वजनिक गनुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

ऋणीहरु गुमराहमा परेको भन्ने गुनासो बढेको हुनाले केन्द्रीय बैंकले कर्जा प्रवाहलाई व्यवस्थित गर्न निर्देशिका जारी गर्ने तयारी गरिरहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । ‘बैंकले जहिले ब्याज बढाए पनि स्वीकार गर्छु भनेर सम्झौता गरी ऋण लिने र पछि बैंकले ठग्यो भनेर गुनासो गर्नु उचित होइन’, उहाँले भन्नुभयो, ‘पहिले नै कति प्रतिशतसम्म ब्याज बढाउन सक्ने, अवधि नपुग्दै कर्जा भुक्तानी गर्दा कति हर्जना तिर्नुपर्ने जस्ता विषयमा स्पष्ट भएर मात्र ऋण सम्झौता गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?