+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेरो लेखन ओरालो लाग्न पनि सक्छ- राजन मुकारुङ

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ६ गते ९:१६

२०६९ सालको मदन पुरस्कार राजन मुकारुङको ‘दमिनी भीर’लाई प्रदान गरिएको छ । नेपाली साहित्य क्षेत्रमा ‘सिर्जनशील अराजकता’ अभियान चलाएर चर्चामा आएका राजन मुकारुङले यसअघि नै ‘हेत्छाकुप्पा’बाट चर्चा बटुलिसकेका थिए । सिमान्तकृत नेपाली जनजीवनको जिवन्त चित्रण गरी नेपाली आख्यान क्षेत्रलाई बिशिष्ट योगदान पुर्‍याएवापत मुकारुङको दमिनी भीरलाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार पाएलगत्तै अनलाइनखबरले मुकारुङसंग कुराकानी गरेको थियो । प्रस्तुत छ- कुराकानीको मुख्य अंश

दमिनी भीरले मदन पुरस्कार पायो । कस्तो लागिरा’छ ?

rajan--mukarung-एउटा लेखकले आफ्नो कृतिले पुरस्कार पाउँदाखेरि खुसी नलाग्ने कुरा त हुँदैन । तर के भने दमिनी भीरले जे जस्ता मुद्दाहरु उठान गर्यो । म आफूले व्यक्तिले पाएको भन्दा पनि त्यसले उठाएका मुद्दाहरुले पाएको रुपमा लिएको छु । त्यसले गर्दा हाम्रो नेपाली समाजमा विगतदेखि वर्तमानसम्म सोच्ने क्रम जे थियो त्यो चै भत्केजस्तो लागेको छ ।

सत्यमोहन जोशीलाई अपवाद राखौं पारिजातपछि जनजाति समुदायबाट मदन पुरस्कार पाउने तपाईं । के ब्रेक भएकै हो ?

-एउटा सत्य के भने जातका रुपले, समुदायका रुपले जहाँ जन्मे पनि नेपाली साहित्यकै श्रीबृद्धिका लागि लेखन गर्ने हो । तर मैलेचाहिँ विगत १५ वर्षदेखि जे लेखनको आग्रह निरन्तर रुपमा गरिरहेको छ, त्यो मेरो निरन्तरको आग्रहमा प्रतिबद्ध रहँदा यो मदन पुरस्कार प्राप्त गर्दा मलाई के लाग्छ भने केही परिवर्तन चै भएकै हो ।

दमिनी भीरमा तपाईंले संघीयताको मुद्दा उठाउनु भा छ । उपन्यासको अन्त्य संघीयता जिन्दावादमा गएर टुंगिएको छ । के संघीयतालाई समर्थन गरेको हो मदन पुरस्कार गुठीले ?

-त्यसो पनि नभनौं । सघीयतालाई समर्थन गर्नु नगर्नु गुठीको आफ्नो कुरा हो । संघीयताको मुद्दा पनि नेपाली जनताकै आवाज हो । त्यही आवाजलाई मुखरित गरिएको उपन्यास हो । त्यो जनताकै मुद्दा भएको हुनाले नेपाली जनताहरुकै आवाज भएको हुनाले त्यसलाई त्यही रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंले उपेन्द्र सुब्बाहरुसंग मिलेर जुन ‘सिर्जनशील अराजकता’को आन्दोलन चलाइरहनु भएको छ । त्यसलाई पनि समर्थन मिलेको ठान्नु हुन्छ ?

-हामीले चलाएको आन्दोलन वाहिरबाट ल्याएको अभियान होइन । त्यसमा पनि सीमान्तकृत समुदायबाट, तिनको आवाजबाट ल्याइएको आन्दोलन हो । त्यसकारणले त्यसलाई पनि स्वीकारिएको हो भन्न मिल्छ ।

बेला बेलामा चाकडी गर्नेहरुले पनि पुरस्कार पाएको आरोप लाग्ने गरेको छ । तपाईंले पनि लाइन मिलाउनु भा त थिएन होला ?

-मिलाउने कुरा रहेन । यो किताब म आफूले बुझाएको होइन, प्रकाशकले बुझाएको हो । मलाई पुरस्कारको त्यत्रो लोभ र महत्वाकांक्षा पनि हुँदैन । हाम्रो काम लेख्दै जाने हो । लेखेको कुरालाई कसैले सहज रुपमा दिन्छ भने त्यसलाई अस्वीकार गर्नु पनि हुँदैन ।

मदन समशेरको रक्सी बेचेको पैसाबाट जम्मा गरिएको पुरस्कार । त्यो पुरस्कार पाएपछि सत्यमोहन जोशी र शंकर लामिछाने बाहेक अरु सबैको लेखन ओरालो लागेको भन्ने छ । तपाईंको ओरालो लाग्दैन भन्ने के ग्यारेन्टी छ ?

-तपाईंहरुले यसरी धेरै पिछा गर्दिनु भो भने ओरालो लाग्न पनि सक्छ । निस्फिक्री छोड्दिनु भो भने चैं ओरालो नलाग्न सक्छ । उकालै लाग्न सक्छ तर मदन पुरस्कार पाको भनेर रातारात हौस्याउन थाल्नु भो भने चैं ओरालो लाग्छ ।

आफ्नो समुदायका बाहेक अरुलाई स्रष्टा नै नगन्ने मान्छे, अरुका कृतिको चर्चा नै नगर्ने मान्छे । अब त त्यस्तो हुँदैन होला नि ?

-चर्चा नगर्ने होइन हामी गर्छौं । तर, हामी विशेष गरेर कन्टेन्टमा केन्द्रित हुन्छौं । हाम्रो आन्दोलन र अभियान त्यो पनि हो । कन्टेन्ट विहीन राइटिङ गर्नेहरुलाई कमै उच्चारण गर्ने गर्या छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?