Comments Add Comment

एमालेमा झलनाथ र माधवभन्दा ओली गुट ‘पावरफूल’

१२ मंसिर, काठमाडौं । सबैलाई थाहा भएकै कुरो हो, नेकपा एमालेभित्र झलनाथ खनाल, केपी ओली र माधव नेपालका तीनवटा अलग गुट छन् । चुनावमा उम्मेद्वार छनौट गर्दा आफ्ना गुटका मान्छेलाई टिकट दिन ३ नेतावीच ठूलै हानाथाप भएको थियो ।

तर, प्रत्यक्षतर्फको निर्वाचन परिणाम आउँदा भने ओली पक्ष आफ्नो गुटको बहुमत आएको भन्दै खुशी देखिएको छ । संस्थापन अर्थात् खनाल पक्ष भने संसदीय समितिमा अल्पमतमा परिने डरले निराश देखिएको छ । यद्यपि समानुपातिक सभासद छान्ने बेलामा एमालेभित्र ओली र खनालपक्षवीच थप मारामार पर्न बाँकी नै छ ।

Jn-kp-madhavप्रत्यक्षतर्फ नेकपा एमालेले ९१ सीट जितेको छ । एमाले स्रोतले गरेको प्रारम्भिक गणितीय आँकलनअनुसार ९१ सीटमध्ये पार्टी अध्यक्ष खनाल पक्षका सभासद्हरु २५ जना छन् भने ओलीपक्षका ३९ जनाले जीतेका छन् । यस्तै माधव नेपाल पक्षका १० जनाले जितेका छन् । तीनवटै गुटमा स्पष्टसँग कित्ता नखुलेका या खुलेर पनि कहिले यो गुट र कहिले ऊ गुट गर्ने सभासदको संख्या १७ रहेको छ । यीमध्ये वामदेव गौतम र माधव नेपालले जितेका थप दुई सीटलाई खनाल गुट र नेपाल गुटभित्रै गणना गरिएको छ ।

केपी ओली पक्षका एक नेताले आफ्नो गुटमा ३९ जनामात्रै नभएर ५१/५२ सम्म पुग्ने दाबी गरेका छन् । यद्यपि एमालेमा तटस्थ जस्तो देखिने १७ सभासदलाई खनाल वा ओलीमध्ये जसले आफ्नो पक्षमा पार्न सक्छन्, संसदीय दलमा उसैको बहुमत पुग्ने देखिन्छ । यसमा माधव नेपाल गुटले ओली र खनालमध्ये कुन पक्षलाई साथ दिन्छ, त्यसमा पनि भर पर्छ ।

संविधानसभाको चुनाव लगत्तै पार्टी महाधिवेशनमा जाने बेला भएकाले एमालेभित्र अहिलेको चुनावी परिणामसँगै गुटगत प्रतिस्पर्धाले पनि तिब्रता पाउने देखन्छि । साथै समानुपातिकको परिणाम आइसकेपछि संसदीय दलको प्रमुख को बन्ने भन्नेमा एमालेका तीन नेतावीच अरु गुटबन्दी बढ्ने छ । त्यो बेला अध्यक्ष खनालको संस्थापन पक्षलाई जितेको खण्डमा ओलीपक्ष हावी हुने देखिन्छ । खनाल पक्ष पनि चुनाव अघि माधव नेपालतर्प ढल्किएको देखिएकाले ओअी पक्षको बलियो उपस्थितिलाई खनाल र नेपालले मिलेर प्रतिवाद गर्न सम्भावना पनि उत्तिकै छ ।

उपनिर्वाचनबाट आउने महासचिवको दाऊ

चुनावअघि समानुपातिकतर्फको नावाली हेरफेर गर्न माधव नेपालसँग मिलेर काम गरेको आरोप लागेका महासचिव ईश्वर पोखरेलको राजनीतक ‘करिअर’मा चुनावी पराजयपछि धक्का लागेको छ । कांग्रेससँग मिलेर सरकार बनाउने अवस्थामा राम्रो मन्त्रालय र उपप्रधानमन्त्री पाउने सम्भावना रहे पनि उहाँले चुनाव जित्न सक्नुभएन ।

चुनावी पराजयसँगै आगामी महाधिवेशनमा पोखरेल महासचिव वा पार्टी उपाध्यक्ष दुबै पदबाट बाहिरिने सम्भावना बढेको एमाले वृत्तमा विश्लेषण हुन थालेको छ । यसबाट जोगिन पोखरेलले काठमाडौं २ बाट उपनिर्वाचन जितेर संविधानसभामा आउने योजना बनाएको र यसका लागि माधव नेपाललाई रिझाउन थाल्नुभएको स्रोतको विश्लेषण छ ।

ओलीका हस्ती र खनालका दार्शनिक हारे

केपी ओलीका हस्ती मानिने पार्टी सचिव शंकर पोखरेल पनि निर्वाचनमा पराजीत हुनुभएको छ । त्यसैगरी अर्का ‘थिंक ट्याङ्क’ प्रदीप ज्ञवाली पनि पराजीत हुनुभएको छ । ज्ञवाली र पोखरेलको पराजयले ओली पक्षलाई घाटा लागेको छ । त्यसो त झलनाथ खनालका दार्शनिक सहयोद्धा घनश्याम भुसालको पराजयले संस्थापन पक्षलाई घाटा लागेको छ । ओली पक्षधर उपाध्यक्ष विद्या भण्डारी भने समानुपातिकमा रहनुभएकाले सुरक्षित हुनुहुन्छ ।

नेकपा एमालेभित्रको गुटगत समीकरणले केवल एमाले पार्टीलाई मात्रै नभएर मुलुककै राजनीतिमा प्रभाव पार्न सक्ने देखिन्छ । अब समानुपातिकतर्फको सीटमा कुन गुटको बाहुल्य रहन्छ भन्ने कुराले एमालेको भविश्य निर्धारण गर्छ । विगतमा एमालेको एउटा गुट अर्को गुटको सरकारलाई ढाल्नसम्म तयार भएको दृष्टान्तलाई हेर्दा सरकारलाई असहयोग गर्ने र ढाल्नेसम्मको तहमा गुटबन्दी हुने खतरा एमालेभित्र चुनावअघिदेखि नै सुरु भैसकेको छ । एमालेलाई यो गुटबन्दीले कहाँसम्म पुर्‍याउने हो, त्यो भने हेर्न आगामी महाधिवेशनसम्म कुर्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment