+
+

चक्रपथ विस्तारमा फेरि तात्यो सरकार

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २८ गते १८:३७
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक

२८ पुस, काठमाडौं । राजधानीको चक्रपथ निर्माण तथा विस्तारमा क्रियाशील हुन प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले निर्माण पक्षलाई निर्देशन दिएका छन् । भित्री चक्रपथ विस्तार तथा बाहिरी चक्रपथ निर्माण गर्ने भनी वर्षौदेखि कुरा चल्दै आएको छ ।

दुबै चक्रपथ निर्माण तथा विस्तारबारे समीक्षा गर्न आइतबार आयोजित कार्यक्रममा उनले सबैलाई क्रियाशील भएर आ-आˆनो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

कलंकीदेखि कोटेश्वरसम्मको १०.३९ किलोमिटर चक्रपथ सन् २०१६ मे १५ मा साइकल लेन र फुटपाथ गरी १० लेनमा विस्तार गर्ने सरकारी योजना रहेको छ । चीन सरकारको सहयोगमा करिव ४ अर्ब रुपैयाँ लगानीमा चक्रपथ विस्तार गर्न लागिएको हो ।

उनका अनुसार चक्रपथमा संघाइ कन्स्ट्रक्सन ग्रुपले क्याम्प खडा गरिसकेको र चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । “आवश्यक उपकरणहरु ल्याइसकियो ” उनले भने “अतिक्रमण गरी बनाइएका टहरा भत्काउने र रुख कटान पनि सुरु भइसकेको छ ।”

यस क्रममा मनोहरा खोला र कोटेश्वरमा १०/१० मिटर चौडा दुइवटा पुल निर्माणको काम अगाडि बढिसकेको छ । बल्खुस्थित बाग्मति नदीमा पुलको जग हाल्ने काम भइरहेको छ । सडक विस्तार गर्दा खानेपानी र ढलका पाइप, विद्युत र टेलिफोनका तार तथा पोल व्यवस्थापन गर्न प्रत्येक साता प्राविधिक तहमा समन्वयात्मक बैठक गर्न पनि उनले निर्देशन दिए ।

यस्तो देखिने छ ८ लेनको चक्रपथ
यस्तो देखिने छ ८ लेनको चक्रपथ

चीन सरकारले २७ किलोमिटर चक्रपथमा थप सात किलोमिटर चौडा गर्ने गरी सर्वेक्षण गरेको भित्री चक्रपथ विस्तार आयोजना प्रमुख अशोक तिवारीले बताए । नवनिर्मित सडकका चार स्थानमा आकाशे पुल (फ्लाई ओभर ब्रीज) तयार हुने हुँदा ट्राफिक जामको समस्या न्यून हुने अपेक्षा गरिएको छ ।

करिब १४ वर्षअघि बाहिरी चक्रपथ विस्तारको सम्भाव्यता अध्ययन भएको थियो । आर्थिक वर्ष २०६१/०६२ को बजेट वक्तव्यमा बाहिरी चक्रपथ निर्माण गर्ने भनिएपनि हालसम्म निर्माण कार्य बढ्न सकेको थिएन ।

बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमा मानन्धरका अनुसार काठमाडौंको चोभार, गाम्चा, सतुंगल, नैकाप, सितापाइला, नागार्जुन, नेपालटार, गोंगबु, टोखा, चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछी प्रस्तावित चक्रपथका नोडल प्वाइन्ट हुन् ।

त्यसैगरी, भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङडोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोट नोडल प्वाइन्ट तोकिएका छन् । ललितपुरका लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्गमतीमा चक्रपथ निर्माणको योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?