Comments Add Comment

टेलिफोन त थिएन थिएन, हुलाकसमेत हरायो

९ असार, बाजुरा । आजको समयलाई सूचना प्रविधि र सञ्चारको जमाना भनिए पनि बाजुराका कतिपय गाविसका स्थानीयवासीले परम्परागत सञ्चारमाध्यम हुलाकसम्म प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

हातहातमा मोबाइल घरघरमा इन्टरनेट सेवाको पहुँच आफूहरुसम्म पनि पुग्ने आशा पालेका स्थानीयवासीले अहिले हुलाकसेवासम्म नियमित पाउन नसकेको गुनासो गरिरहेका हुन् । देशभर टेलिफोन सेवा पुगिसकेको सरकारी तथ्याङ्क भए पनि बाजुराका दुरदराजका बस्तीमा हुलाकसेवासम्म नियमित पुग्न नसक्दा झन् सास्ती बेहोरिरहनु परेको छ ।

विच्छयामा बस्दा त कुन संसारमा बसिरहेका छौँ भन्ने कुनै अत्तोपत्तो हुँदैन विच्छया गाविसको एक विद्यालयका शिक्षक लोकराज उपाध्यायले बताए । उनले भनेे-“विच्छया पुगेपछि सबैसँगको सम्र्पक टुट्छ, न त मरेको खबर हुन्छ न त जिउँदाको खबर हुन्छ ।”

जिल्लाका रुगिन, विच्छ्या, दहकोटलगायत दुर्गम गाविसमा हुलाकसेवासम्म नियमित नभएपछि कुनै सूचना नपाएको गुनासो स्थानीयले गरेका छन् । जिल्लाको रुगिन गाविसका छप्की बुढाले २१ औँँ शताब्दीसम्म आइपुग्दा पनि टेलिफोनभन्दा हुलाकसेवासम्म प्रयोग गर्न नपाएको भनी गुनासो गर्नुभयो ।

उनले हुलाकसेवासम्म नियमित नभएपछि जिल्लामा सञ्चालित पत्रपत्रिका पनि पढ्न नपाएको बताए । आफूहरुका लागि अहिलेको युगलाई सूचनाको युग भन्ने भनाइमा मात्र सीमित भएको बताउँदै विच्छ्या गाविसका जयभान रोकायाले जिल्लाको सामान्य खबर पाउन पनि सदरमुकाम गएका मानिसको बाटो कुर्नुपर्ने दुखेसो गरे ।

जिल्लामा दुईवटा एफएम रेडियो भएर पनि आफ्नो पहुँचमा नभएकाले रेडियो नेपालबाट बेलुकीपख मात्र केही सूचना र समाचार सुन्ने गरेको रुगिन फैतिका धनराज पाण्डेले बताए । व्यक्तिगत चिठ्ठी पत्र हुलाकमार्फत पठाउने दरमा कमी भएको भए पनि सरकारी चिठ्ठीपत्र भने हुलाकी नहुँदा महिनौँसम्म इलाका हुलाक कार्यालय कोल्टीमै थन्किने गरेको हल्कारा जयलाल गिरीले बताए ।

बर्खेयाम सुरु भएपछि त अझ महिनौँसम्म चिठ्ठीपत्र थन्किने उहाँको भनाइ छ । अहिले बाजुरामा तीनवटा हलकारा र १६ वटा हुलाकी दरबन्दी खाली रहेका छन् । जिल्लाका २७ वटै गाविसमा हुलाकसेवा पुर्‍याइएको भए पनि हुलाकी अभाव, भौगोलिक विकटताका कारण सबै ठाउँमा डाँक सेवा सञ्चालन गर्न नसकेको कार्यालय प्रमुख जङ्गवीर सुनारले बताए ।

जिल्लामा बजेटको अभाव भएपछि अहिले करारमा समेत कर्मचारी नियुक्त गर्न नसकिएको र हुलाकसेवालाई नियमित गर्न नसकिएको कार्यालय प्रमुख सुनारको भनाइ छ । बाजुराका २७ वटै गाविसमा हुलाकसेवा पुर्‍याउनका लागि आठवटा इलाका हुलाक कार्यालय र १८ वटा अत्तिरिक्त हुलाक कार्यालय स्थापना भएका छन् ।

टेलिफोन सेवाबाट वञ्चित भएका बाजुराका दुर्गम क्षेत्रका मानिसले हुलाकसेवाबाट समेत वञ्चित हुनु परेको छ । यसबारेमा राज्यले केही नसोचेको र बाजुरालाई थप विकट बनाउन खोजेको स्थानीयवासीको आरोप छ । बाजुराको साप्पाटा गाविसलाई देशकै सबैभन्दा अन्तिममा टेलिफोन सेवा पुगेको गाविस भनिए पनि बाजुराका दुर्गम गाविसका रुपमा रहेका रुगिन विच्छयामा हालसम्म कुनै सञ्चार सुविधा पुग्न सकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment