Comments Add Comment

पाठयपुस्तक नदेखिकनै परीक्षा दिन बाध्य

१० असार, जाजरकोट । पहिलो त्रैमासिक परीक्षा दिने समयसम्म पाठयपुस्तक नआएपछि जाजरकोटका विद्यार्थी पुस्तकनै नहेरी परीक्षा दिन बाध्य भएका छन् ।कक्षामा सबै विषयका पाठयपुस्तक नभएपछि पढाउन पनि समस्या भएको शिक्षकहरुले बताएका छन् । अरु कक्षामा पुराना किताबबाट भए पनि काम चलेको छ भने कक्षा ७ मा नयाँ कोर्स भएकाले के पढाउने भन्ने समस्या परेको शिव व्यावसायिक मावि कालेगाउँका शिक्षक उत्तर बटालाले बताए ।

पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पुस्तक नछाप्दा समस्या आएको हो । त्रिभुवन उच्च मावि खलङ्गामा ७ कक्षामा अध्ययनरत कल्पना रावलले आइतबारदेखि सुरु भएको परीक्षा किताब नदेख्दै दिनुपरेको बताइन् ।

“अङ्ग्रेजीबाहेक कुनै पनि किताब पाइएको छैन, परीक्षामा कस्तो प्रश्न आउने हो” ? उनले भनिन् । यस विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ । नेपाली माध्यमका किताब फाटफुट रुपमा पाइए पनि अङ्ग्रेजी माध्यमका पुस्तक पाउन गाह्रो छ । परीक्षा आउने समयसम्म पनि विद्यार्थीका हातमा पुस्तक पुग्न नसक्नु सरकारको चरम लापर्बाही भएको अभिभावक भद्रबहादुर वलीले बताए ।

जिल्लाका करिब १० हजार विद्यार्थीले अहिलेसम्म किताब पाउन नसकेको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताउनुभयो । पुस्तक छपाइको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा पुस्तक नछापेका कारण आउन नसकेको थापाको भनाइ छ । जिल्लामा पुस्तक पुर्‍याउन सम्बन्धित निकायमा पहल भइरहेको उहाँले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment