Comments Add Comment

झलनाथलाई फेरि अध्यक्ष बनाउने एमालेमा लविङ

११ असार, काठमाडौं । एमालेमा माधव नेपाल र केपी ओली गुटवीच तीव्र विभाजन भइरहेका बेला वर्तमान झलनाथ खनाललाई नै पुनः अध्यक्ष बनाउने लविङ सुरु भएको छ । यस क्रममा खनाल पक्षले आफ्नो पक्षमा ६ सयजना निर्णायक प्रतिनिधि चुनिएको दाबी प्रस्तुत गरेको छ ।

jhalanath-Khanalअध्यक्ष खनाल निकटस्थ अधिकांश नेताहरु माधव नेपालतिर लागे पनि पर्यटनमन्त्री भीम आचार्य, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरु अझै झलनाथ खनालकै पक्षमा छन् । युवा नेता गोकर्ण बिष्ट, शत्रुघ्न महतो लगायतले पनि खनाललाई नै अध्यक्ष बनाउन जोड गर्ने स्रोतले जनाएको छ ।

‘झलनाथ खनाललाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउँदा पार्टीको हित हुन्छ’ पर्यटनमन्त्री समेत रहेका एमाले नेता भीम आचार्यले भने ‘जसको नेतृत्वमा पार्टीले सफलता पायो, जसको नीति पारित भयो उसैले नेतृत्व गर्दा पार्टी थप बलियो हुन्छ’ ।

खनाललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा निर्णायक प्रतिनिधिहरु रहेको अर्का मन्त्री पुरुषोत्तम पौडेलले दाबी गरे । उनका अनुसार करीव ६ प्रतिनिधि झलनाथ खनालको पक्षका जितेर आएका छन् । ‘अहिले माधव वा केपी गुटमा खुलेका दुबै गुटमा करीव एक हजार प्रतिनिधि छन्, अरु ६ सय प्रतिनिधि सहमतिको नेतृत्वकै पक्षमा छन्’ पौडेलले अनलाइनखबरसँग भने ‘ती प्रतिनिधि भनेका झलनाथ खनालकै हुन् र महाधिवशेनमा उनीहरु नै निर्णायक हुन्छन्’ ।

‘माधव र केपी दुबैले पार्टी कमजोर पार्छन्’

खनाल पक्षका नेताहरुले माधव वा केपी जसले जिते पनि पार्टीमा स्थायी बिभाजन आउने र त्यसले पार्टी कमजोर हुने कुरालाई जोडतोडका साथ उठाउने भएका छन् । महाधिवेशन हलसम्म यो विषयलाई प्रभावकारी रुपमा लैजाने र प्रतिनिधिहरुलाई सहमतिको नेतृत्वका लागि दबाब दिन लगाउने रणनीति खनाल पक्षको छ ।

‘अहिले जे देखिएको छ, त्यसले पार्टी फुट्न सक्ने खतरा देखिन्छ, इतिहासले पनि त्यही भन्छ’ मन्त्री पौडेलले भने ‘पार्टीलाई एकतावद्ध गर्न खनाल नै चाहिन्छ’ ।

जसको नीति, उसको नेतृत्व

खनाल पक्षले जसको नीति, उसको नेतृत्व भन्ने नारालाई पनि महत्वका साथ उठाएको छ । महाधिवेशनबाट खनालको नीति पारित भए पछि नेतृत्वमा अरुले दाबी गर्न नसुहाउने खनाल पक्षधर नेताहरुको भनाइ छ ।

अहिले जिल्ला जिल्लाबाट निर्वाचित भएका झलनाथ खनाल पक्षधर प्रतिनिधिलाई माधव नेपाल पक्षले आफ्नोमा गने पनि उनीहरुको भूमिका स्पष्ट भइनसकेको पौडेलले बताए । ‘महाधिवेशन हलमा गइसकेपछि मात्र हाम्रो भूमिका निर्णायक हुन्छ’ उनले भने ।

झलनाथ खनाल अध्यक्ष नबन्ने र चुनाव हुने अवस्थामा मात्र माधव नेपाल वा ओलीतिर बाँडिने एक नेताले बताए । खनाल भने महाधिवेशन हलमा पनि माधव वा ओली कतै स्पष्ट नखुल्ने भएका छन् ।

मन्त्री पौडेलका अनुसार झलनाथ खनालका मान्छे माधव नेपालतिर गए भन्ने कुरा सही होइन । केही मान्छे केपीतिर पनि गएको उनले बताए । साथै खेलकुद संघमा जितेका प्रतिनिधि माधवका नभई झलनाथका भएको पौडेलले दाबी गरे ।

मन्त्री पौडेलको अन्तरवार्ता पढ्नुहोस्

माधव र ओलीले झलनाथलाई छाड्नुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment