Comments Add Comment

अष्ट्रेलियाली धनाढ्यको सूचीमा घले दम्पत्ति ३० स्थान माथि उक्लिए

shesh-ghale-and-jamuna-guru

१२ असार, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाली धनाढ्यको सूचीमा ३० स्थान माथि उक्लिएका छन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने पत्रिका ‘बीआरडब्लु’ले बिहीबार साँझ सार्वजनिक गरेको तथ्याङकअनुसार २ सय धनाढ्यको सूचीमा घले १५० औं स्थानमा र उनकी पत्नी जमुना १५१ स्थानमा रहेका छन् ।

अघिल्लो बर्ष घले १८० औं र गुरुङ १८१ औं स्थानमा थिए । यो बर्ष उनीहरुको सम्पत्ति ७ करोड अष्ट्रेलियन डलर थपिएपछि उनीहरुको सूचीमा समेत सुधार भएको हो । अघिल्लो बर्ष उनीहरुको सम्पत्ति २६ करोड ५० लाख डलर रहेकोमा यस बर्ष झण्डै ७ करोड डलर थपिएर ३३ करोड ५० लाख पुगेको छ ।

अष्ट्रेलियाको मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी) संचालन गरिरहेको यो जोडीले मुलतः शिक्षा र रियलस्टेटमार्फत् यो सम्पत्ति जोड्न सफल भएको हो । सन् १९९० मा बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका उनीहरुले त्यहाँ आफ्नो भाग्य चम्काउँदै सम्बृद्धि हाँसिल गरेका हुन् । एमआईटीमा अहिले झण्डै ३ हजार बिद्यार्थी अध्ययनरत छन् । एमआईटीमा घले प्रमुख कार्यकारी अधिकृत छन भने गुरुङ प्रबन्ध निर्देशक छिन् ।

उनीहरुले यसै बर्षमात्र मेलवर्नमा ४५ करोड डलर लगानीमा ८० तले अपार्टमेन्ट, सपिङ सेन्टर र पाँच तारे होटल संचालन गर्ने घोषणा गरेका छन् । एमआईटीकै लगानीमा काठमाण्डौमा झण्डै आठ अर्ब रुपैयाँको लागतमा पाँच तारे होटल ‘काठमाण्डौ शेराटन’ निर्माण हुँदै छ ।

नेपालको लमजुङमा जन्मिएका उनीहरु उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलिया जानुअघि घले रसियामा छात्रबृत्तिमा इन्जिनियरिङ अध्ययन गरि केही समय नेपालको सरकारी निकायमा काम गरेका थिए । एमबीए अध्ययनका लागि अष्ट्रेलिया पुगेका घलेले अध्ययनपश्चात कलेज स्थापना गरेका थिए ।

बीआरडब्लुको सूचीको एक नम्बरमा २० अर्ब डलर सहित पुनः जिना रिनहर्ट सूचीकृत भएकी छिन् । तर, उनको सम्पत्ति यो बर्ष झण्डै २ अर्ब डलरले घटेको छ । दोस्रो नम्बरमा रहेका एन्थोनी पाटले झण्डै ७ अर्ब डलर रहेको छ । नम्बर एकमा रहेकी जिनाबाहेक सवैको सम्पत्ति थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment