Comments Add Comment

एघार दिनको सुत्केरी छोरासहित बेवारिसे

१४ असार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा एक सुत्केरी महिला बेवारिसे बनेकी छिन् । झन्डै तीन महिना अघिदेखि बसपार्कको प्रतीक्षालयमा बस्दै आएकी अन्दाजी २७ वर्षीया सरिता केसी नाम बताउने सोभा क्षेत्रीलेे छोरा जन्माएको ११ दिन भएको छ ।

सुत्केरी भएको यतिका दिनसम्म न त बच्चाको बाबुको ठेगान लागेको छ, न त उनको हेरचाह गर्ने परिवार तथा माइती फेला परेका छन् । आमाछोरा दुवैलाई अहिले सन्धिखर्कमा रहेको सन्देश सहयोग समूहको सामुदायिक हेरचाह केन्द्रमा राखिएको छ भने केन्द्रमा रहेका कर्मचारीले उनको स्याहारसुसार गरिरहेका छन् ।

अरू कुरा सोध्दा बताए पनि घरपरिवार र बच्चाको बाबुको बारेमा सोध्दा बोल्दै नबोल्ने गरेका कारण उनी कहाँबाट कसरी सन्धिखर्कमा आएर यसरी अलपत्र परिन् भन्ने पत्ता लगाउन नसकिएको सन्देश सहयोग समूहकी पार्वता बन्जाडेले बताउनुभयो ।

तीन महिना पहिलेदेखि सन्धिखर्कमा रहेको बसपार्कमा अलपत्र अवस्थामा बिरामी परेको देखेपछि पत्रकार सहयोगी विसी र स्थानीय बासिन्दाले जिल्ला अस्पतालमा लगेका थिए । उनलाई एक हप्ता जिल्ला अस्पतालमै राखिएको थियो । पछि सामुदायिक हेरचाह केन्द्रमा लगिएको हो । सरिताले जिल्ला अस्पतालमा छोरा जन्माएकी थिइन् । छोराको अवस्था स्वस्थ रहेको छ ।

एकातिर सुत्केरी, अर्कोतिर बेवारिसे उनलाई अब कहाँ पठाउने भन्ने समस्या उत्पन्न भएको छ । ‘हामी १५ दिनभन्दा बढी राख्नसक्दैनौं, त्यसपछि कहाँ पठाउने चिन्ता बढेको छ, सामुदायिक हेरचाह केन्द्रका कर्मचारीहरू बताउँछन् ।

समाचार सङ्कलनका लागि जाँदा पनि उनी केही बोलिनन् । उनको बारेमा बुझ्दा र सोधीखोजी गर्दा अर्घाखाँचीकै खिल्जी गाविसमा उनको विवाह भएको र त्यहाँबाट एक वर्षअघि छोडपत्र लिएको बुझिएको छ । उनको माइती सीतापुर-४ मा भएको जानकारीमा आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment