Comments Add Comment

माधव नेपालको शर्मनाक हार हुने अधिकारीको दावी

१७ असार, काठमाडौं । नेकपा एमालेका नेता एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीले पार्टीको अध्यक्षमा उम्मेदवारी दिए वरिष्ठ नेता माधवकुमार नेपालको शर्मनाक हार हुने बताएका छन् । नेता केपी शर्मा ओलीलाई अध्यक्ष बन्न कसैले रोक्न नसक्ने भन्दै उनले नेपाललाई उम्मेदवारी नदिन सुझाव दिए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले ७५ प्रतिसत मत पाएर ओली अध्यक्षमा विजयी बन्ने दावी गरे । वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने भन्दै उनले भने-‘माधवकुमार नेपाल विचारक होइन । छैठौ महाधिवेशनदेखि आठौ महाधिवेशनसम्म नेपालको कार्यनीतिक प्रस्ताव पेश भएको छैन । सबै विचार ओलीकै हो, त्यसैले नेतृत्व पनि उहाँले नै गर्नु पर्छ ।’

ओली पक्षका अर्का नेता एवं उपाध्यक्षका प्रत्यासी किरण गुरुङले झलनाथ खनाल र माधव नेपालले विदा लिएर अविभावकको भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा युवा नेता एवं नेपाल पक्षबाट सचिवका उमेदवार योगेश भट्टराईले जनताको बहुदलीय जनबादको ब्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दावी गरे । ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने भन्दै उनले भने-विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आएको हो ।’

सर्वसम्मतिमा झलनाथ खनालको सम्भावना कायमै रहेको भन्दै उनले सहमति नभएको अवस्थामा खनालले नेपाललाई नै समर्थन गर्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment