Comments Add Comment

कहीँ नभएको जात्रा एमाले महाधिवेशनमा देखियो

ज्ञानेन्द्र खड्का

२० असार, काठमाडौं । बिहीबार दिउँसो भृकुटीमण्डप अगाडिको सडक कुनै रणमैदान भन्दा कम थिएन । अढाइ लाख बढी सदस्य रहेको पार्टीले हाइटेक प्रविधिमा गर्ने भनेको महाधिवेशनको उदघाटन समारोह हेर्न उत्सुक कार्यकर्ता र शुभेच्छुकमाथि प्रहरीको लाठी बर्सियो । एमालेप्रति आस्था र शुभेच्छा राख्ने जो कोहीले पनि पार्टीको महाधिवेशन समारोह प्रत्यक्ष हेर्न खोज्नुलाई अपराध ठहर्‍याइयो ।

cpn uml   (17)

भृकुटीमण्डपभित्र महाधिवेशनको उदघान समारोहमा चर्का भाषण चलिरहँदा सडकमा रहेका एमाले कार्यकर्ता प्रहरीको लाठी खाइरहेका थिए । पार्टी नेताका विपक्षमा मूर्दावाद र विरोधका नारा घन्काएका कार्यकर्तामाथि एकपटक होइन, पटक-पटक निर्मम ढंगले लाठी बर्साइयो । मूलगेट अगाडि छरिएका चप्पल, जुत्ता, रड, च्यातिएका ब्यानर र पम्प्लेट हेर्दा लाग्थ्यो, एमालेले बिचारको बहस होइन, तोडफोड र ढुंगामुढा गर्न आफ्ना कार्यकर्तालाई सिकाएको रहेछ ।

महाधिवेशनस्थल प्रवेश गर्न नपाएको झोंकमा एमाले कार्यकर्ता भनिनेहरुले आफ्नै पार्टीको झण्डा जलाए, ब्यानर र स्वागतद्वार टुक्रा-टुक्रा बनाए । एमालेमा अनुशासन विभाग पनि छ क्यारे, तर, अनुशासन कमिटीले आफ्ना कार्यकर्तालाई खै त त्यो शिक्षा दिएको ? के कम्युनिष्ट भएपछि उनीहरुले विरोधमात्रै गर्नुपर्छ ? तोडफोड गर्नुपर्छ भन्ने छ ? विरोधको सिर्जनशील शैली रोज्नुको साटो अराजक गतिविधिले देश कहाँ पुर्याउला ?

भोलिका मन्त्री र नेता भनिएकाहरुको अहिलेको यो गतिविधिले उनीहरुको हातमा देश पुग्यो भने कस्तो बनाउलान् ? कार्यकर्ताहरु प्रहरीसँग भिडिरहँदा गृहमन्त्री वामदेव गौतम महाधिवेशनस्थलमा मुस्काउँदै अन्य नेताहरुसँग कानेखुसी गर्दै मुस्काइरहेका थिए ।

मन्त्रीलाई समेत छेकियो

महाधिवेशन शुरु हुने निर्धारित समय दिउँसो १ बजे महाधिवेशनस्थल पुग्दा अधिकांश प्रतिनिधिहरुका हातमा प्रवेश पुगेकै थिएन । मूलगेटमा रातो पोशाकमा बसेका स्वयम्सेवीले प्रतिनिधिदेखि मन्त्रीसम्मलाई रोकिरहेको देखिन्थ्यो । बारकोडयुक्त कार्ड मेसिनमा रिड गराएर मात्र महाधिवेशनस्थलमा प्रवेश दिने भनिएको एमालेको हाइटेक योजनाले शुरुमै हावा खाइसकेको थियो ।

केपी आउँदा प्रहरीको मुक्का

महाधिवेशनस्थलमा प्रवेश गर्ने बेलामा एमालेका मूख्य नेताहरुले आफ्नै कार्यकर्तासँग रस्साकस्सी गर्नुपर्‍यो । बिरामी भनिएका नेता केपीलाई महाधिवेशनस्थलमा पुर्‍याउने क्रममा सुरक्षाकर्मीले एमाले कार्यकर्तासँग मुक्कामुक्की नै गर्नुपर्‍यो ।कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सबैभन्दा अनुशासित हुन्छ भनिन्थ्यो तर, एमाले कार्यकर्ताहरुको अराजक गतिविधिले ती सबै कुरा मिथ्या बनाइदिएको छ ।

नेता पनि उस्तै

कार्यकर्ताहरुले सडकमा आगो झोसिरहँदा त्यसको समाधानको उपायबारे नेताहरुले सामूहिक पहल नै गरेनन् । बरु उल्टै ओली र नेपाल गुटबीच कार्यकर्ता उक्साएको आरोप प्रत्यारोपमा उत्रे । यो संस्कारले भोलिको एक नम्बर भनिएको पार्टी कता जाला, कहाँ पुग्ला ? एमाले कार्यकर्ताहरुले महाधिवेशनको उद्घाटनमा जाँदै गरेका कांंग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलदेखि भारतीय नेताहरुमाथि पनि आक्रमण गर्न भ्याए ।

के यही हो त एमालेले आफ्ना कार्यकर्तालाई सिकाएको कम्युनिष्ट पार्टीको संस्कार ? कार्ल माक्र्सले लेखेका माक्र्सवादका ठूला किताब पढेका भन्नेहरुको व्यवहारचाँहि तालिवानी र अलकायदाका सदस्यको जस्तो थियो, जसले विध्वंश र तोडफोडबाटै आफ्नो सफलताको सपना बुनेका छन् । हुन त नेताहरु नै एउटै पार्टीमा बसेर पनि एक अर्काको खेदो खनिरहेका बेला कार्यकर्तार्ले त्यसको अभ्यास गर्नुलाई कसरी अन्याथा मान्नु ?

महाधिवेशनको पहिलो दिन नै गुट विभाजनको गम्भीर असर भोगेको एमालेले यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सक्यो भने त्यही हो सफलता । महाधिवेशनको पहिलो दिन पानी पर्ने अनुमानका साथ हलभित्र उद्घाटन कार्यक्रम गर्नुपरेको तर्क एमाले नेताहरुले गरे पनि कार्यकर्ताको माग पनि नाजायज भने थिएन । एमालेले राष्ट्रिय सभागृहमा राख्ने भनिएको डिस्प्लेले काम नगरेकाले पनि कार्यकर्तामा आक्रोश बढेको थियो ।

कार्ड रिड गर्ने ढोका छलेर प्रतिनिधिहरु महाधिवेशनस्थलमा पसिरहँदा स्वयम्सेवीहरुले रोक्नेतर्फ कुनै पहल गरेनन् । बारकोड रिड गर्ने ढोका हात्तीको देखाउने दाँतमात्र थियो । कार्ड नपाएका प्रतिनिधिहरु हातमा रसिद बोक्दै कार्ड बनाउने ठाउँ धुइँधुइती खोज्दा पनि भेटिरहेका थिएनन् । कार्ड नछापिएपछि एमालेले प्रतिनिधिहरुलाई कागजकै अस्थायी कार्ड भिराएको थियो । प्रविधिको साजसज्जायुक्त महाधिवेशन भनिएकोमा महाधिवेशनको अध्यक्ष झलनाथ खनालले उद्घाटन गरिसक्दा पनि प्राविधिकहरुले इन्टरनेटको व्यवस्थापन गर्न सकेका थिएनन् । मिडिया सेन्टरको हालत उस्तै थियो । न त कुर्सी टेबलको व्यवस्थापन, न त विद्युत्तीय सुविधा नै ।

महाधिवेशन उद्घाटनको लाइभ गर्न पुगेका धेरै अनलाइनका पत्रकारहरु ढाँटेको भन्दै एमालेलाई गाली गरिरहेका थिए । ढिलो गरी वाईफाईको पासवर्ड पनि एमालेकै एउटा गुटको अनलाइन र एमालेकै आधिकारिक अनलाइनमा लाइभ गर्ने नाममा सञ्चारकर्मीबाट खोसियो ।भिडियो पठाउने तीव्रताको इन्टरनेट सुविधा गुटको अनलाइनमा लाइभका लागि खोसिएपछि सञ्चारकर्मीले प्राविधिकहरुसँग रस्साकस्सी गरेर पासवर्ड लिनुपर्‍यो । दुई सय जना स्वयम्सेवी खटाइएको ठाउँमा प्रतिनिधि र सञ्चारकर्मीहरुले पानी समेत खान पाएनन् ।

सडक रणमैदान बनिरहँदा मूलगेट थुनिएपछि पानीसमेत खाने व्यवस्था एमालेले गर्न सकेको  थिएन । जता जाँदा बारकोड प्रयोग गर्न अनिवार्य भनिएको महाधिवेशनस्थलमा सँगै जोडेर बनाइएको शौचालय जान समेत प्रतिनिधिलाई समस्या भएको थियो । पुरुष प्रतिनिधिहरु महिला शौचालयमा पसिरहेका थिए भने महिलाहरुलाई शौचालय जानै समस्या भएको थियो ।बारकोडयुक्त भनिएको अस्थायी शौचालयमा पानीको सुविधा नहुँदा महाधिवेशन प्रतिनिधिहरु पेट समाउँदै यताउता कुदिरहेको दृश्यले एमालेको व्यवस्थापन शक्ति झल्काउँथ्यो ।

नेताहरुको भाषणले कार्यक्रम लमतन्न भएपछि प्रतिनिधि भोकले छट्पटाएका थिए । शुभकामना दिन आएका स्वदेशी तथा विदेशी दलको शुभकामना मन्तव्यले साँझको ६ बजाएपछि प्रतिनिधिलाई भोकले सताउने नै भयो । राति आठ बजे अध्यक्ष झलनाथ खनालको भाषण सुन्ने बेलामा मूख्य हल आधा भन्दा बढी रित्तिइसकेको थियो । हल छोडेका धेरै कार्यकर्ताको भिँड क्यान्टिनमा खाना खान जम्मा भएको थियो ।

एउटा पार्टी, जसले देशको नेतृत्व पनि गर्छ । त्यो पार्टीकै महाधिवेशनजस्तो महामेलामा गाईजात्रा देखिनु उसको लाजमर्दो बिषय होइन र ? हुन त एमाले नेताहरुले पार्टीको झण्डा जलाउने, तोडफोड गर्ने एमाले कार्यकर्ता हुनै सक्दैनन् भनेका छन् । यदि त्यसो होइन भने यो घटनाको उचित छानविन गर्न एमाले तयार हुनुपर्छ ।

आफ्नै पार्टीका नेता गृहमन्त्री भएकाले एमालेले घुसपैठ भएको भनेरमात्र पुग्दैन त्यस्ता घुसपैठियालाई ठेगान लगाउन सक्यो भने त्यो कुरा मान्न सकिएला । अनुसन्धानले पनि तोडफोडमा उत्रेर रड हान्ने कार्यकर्ता एमालेकै भएको पुष्टि गर्यो भने एमाले पार्टी अराजकहरुको झुण्डको समूह बनेको निष्कर्श निकाल्दा हतार नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment