Comments Add Comment

अन्ततः माधव नेपालतिर ढल्किए झलनाथ खनाल

jn-madhav

२२ असार, काठमाडौं । सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा रहेका एमाले अध्यक्ष झलनाथ खनालले अन्ततः माधव नेपाललाई समर्थन जनाएका छन् । नेपाल र खनालबीच आइतबार अपरान्ह भएको लामो छलफलपछि दुई नेताको एउटै प्यानल बन्ने भएको हो ।

‘झलनाथ खनाल र माधव नेपालको एउटै टिम बन्ने निश्चित भयो’ दुई नेताको वार्तामा सहभागी एमाले नेता रघुजी पन्तले अनलाइनखबरसँग भने ‘पदाधिकारीका उम्मेदवार छान्ने जिम्मा पनि दुई नेतालाई नै दिइएको छ’ ।

माधव नेपाल र केपी ओली दुबैले खनालको समर्थन आफूलाई रहने बताउँदै आएका थिए । तर, खनालनिकट अधिकांश नेताहरु यसअघि नै नेपालको पक्षमा खुलिसकेका थिए । सर्वसम्मति भएको खण्डमा खनाललाई नै अध्यक्ष बनाउने र सर्वसम्मतिका लागि आफू बाधक नबन्ने नेपालले बताएका थिए ।

झलनाथ खनाल र माधव नेपालवीच सहमति बन्नुअघि झलनाथ, माधव नेपाल र केपी ओली तीन नेतावीच सहमतिको प्रयास भएको थियो । केपीलाई सर्वमान्य नेता बनाउने, झलनाथ खनाललाई अध्यक्षमा निरन्तरता दिने र माधव नेपाललाई राष्ट्रपति वा त्यस्तै सरकारी पदमा व्यवस्थापन गर्ने प्रस्ताव तीन नेतावीच प्रस्तुत भए पनि केपी ओलीले अध्यक्षको दाबी नछाडेपछि तीन नेतावीच सहमति नभएको माधव नेपाल पक्षको आरोप छ ।

तीन नेतावीच सहमति नभएपछि आइतबार झलनाथ र माधववीच छुट्टै वार्ता भएको हो । आफ्नो नैतिक समर्थन नेपाललाई नै रहने भए पनि खुलेर नलाग्ने खनालले वचन दिएको बुझिएको छ ।

‘सर्वसम्मति भएको खण्डमाा अध्यक्ष खनाल नै हो, निर्वाचन हुँदा उहाँ नलड्ने भएकाले हाम्रो समर्थन नेपाललाई हो’ खनालनिकट युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अनलाइनखबरसँग भने ।

दुई नेताबीचको छलफलपछि नेपालको प्यानलका पदाधिकारी तथा टिमको नाम टुंगो लगाउने जिम्मा पनि खनाल र नेपाललाई नै दिइएको पन्तले बताए । ‘हाम्रो टिममा को-को रहने भन्ने उहाँहरुले नै तय गर्नुहुनेछ’ पन्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment