+
+
Shares

प्रचण्डलाई बाबुरामले भने- चोचोमोचो मिलाएर एकता हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते १९:५६

२३ असार, काठमाडौं । पार्टीभित्र आन्तरिक एकताको आधार खोजी गर्न बाबुराम निवास सानेपामा सोमबार आयोजित एमाओवादी शीर्षनेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ ।

prachanda-and-baburam-bhattआपसी चोचोमोचो मात्रै मिलाएर एकता नहुने भन्दै नयाँ युगको आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ शक्ति निर्माणको आधार प्रस्तुत गर्न डा. बाबुरामले प्रचण्डसँग आग्रह गरेपछि बैठक निश्कर्षविहीन बनेको हो । ‘अध्यक्ष प्रचण्डले मिलेर अघि बढ्न तयार रहेको बताए पनि डा. भट्टराईले सामान्य टालटुल गरेर र चोचोमोचो मिलाएरमात्रै एकता हुँदैन, नयाँ शक्ति बनाउने ठोस आधार चाहियो भन्नुभएको छ,’ सानेपा छलफलपछि भट्टराई पक्षका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘आइतबार लाजिम्पाटमा र सोमबार सानेपामा भएको छलफल आपसी दुरी कम गर्न सकारात्मक देखिए पनि ठोस निश्कर्ष अझै निस्कन सकेको छैन ।’

एमाओवादी स्रोतका अनुसार छलफलमा डा. भट्टराईले तीनवटा प्रस्ताव राखेका छन् । बदलिँदो विश्व परिस्थितिमा समाजवादको मोडेल कस्तो हुने भन्नेबारेमा टुंगो लगाइनुपर्ने भट्टराईले प्रस्ताव अघि सारेका छन् । त्यसैगरी नेपाल सामन्तवादको अन्त्य भई पुँजीवादमा प्रवेश गरेको भनिँदै आएको सन्दर्भमा समाजवादी क्रान्तिको मोडेलबारे पार्टी स्पष्ट हुनुपर्ने डा. भट्टराईको माग छ ।

डा. भट्टराईले पार्टीभित्र एकता हासिल गर्नका लागि पार्टीको पुरानो संरचना भत्काएर नयाँ बनाउनुपर्ने अडान राखेको स्रोतले अनलाइनखबरलाई बतायो । पुरानो तरिकाको संगठनात्मक ढाँचाले जनतामा कुनै आकर्षण पैदा गर्न नसकिने भन्दै डा. भट्टराईले नयाँ शक्ति निर्माणको खाकाबारे छलफल गर्नुपर्ने अडान राखेको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रचण्डले हुन्छ, हुन्छ त भन्छन्, तर डा. भट्टराईले मानेका छैनन्, स्रोतले भन्यो,’पार्टीलाई टालटुले तरिकाले होइन, नयाँ ढंगले अघि बढाउने ठोस आधार भट्टराईले मागेका छन् । क्रमभंग र छलाङ नभएसम्म हुँदैन भन्ने उनको माग छ ।

एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले स्थायी कमिटीको बैठक रोकेर बाबुराम भट्टराई पक्षसँग सहमतिका लागि छलफल अगाडि बढाइरहेको छ । आइतबार प्रचण्ड निवास लाजिम्पाटमा छलफल गरिएको थियो भने सोमबार भट्टराई निवासमा बिहानको खानासमेत खानेगरी दुईपक्षीय छलफल भएको थियो । छलफलका प्रचण्ड पक्षबाट अभ्यक्ष प्रचण्डसहित वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा र शक्ति बस्नेतलगायतको उपस्थिति थियो । भट्टराई पक्षबाट टोपबहादुृर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी र नवराज सुवेदी लगायतको सहभागिता थियो । बिहान ९ बजेदेखिको छलफल दिउँसोसम्म चलेको थियो ।

दुबैको आ-आफ्नै दाऊ

बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न इन्कार गर्दै आएको भट्टराई पक्षले स्थायी समितिको बैठकमा पनि सहभागिता जनाएको छैन । विवाद चर्किँदै जाँदा सिन्धुली, मकवानपुर लगायतका जिल्लामा समानान्तर कमिटी बन्न थालेपछि दुईपक्षीय विवादले सघन रुप लिएको छ । प्रचण्ड पक्षका नेताहरु स्थायी समितिमा डा. भट्टराई समूहलाई सहभागी गराउने पक्षमा छन् भने भट्टराई पक्षले ठोस योजनाविना सरक्कै नजाने अडान लिएको छ । ‘संगठन आफ्नो कब्जामा राख्ने अनि मिलौं भन्ने टालटुले प्रस्ताव हामीलाई मान्य छैन’ भट्टराई पक्षका एक नेताले अनलाइनखबरसँग भने ।

आइतबार लाजिम्पाटमा आयोजित छलफलमा फुट्ने भए सल्लाहमा फुटौं, होइन भने आपसमा मिलौं भनेका नेताहरु सोमबार सानेपासम्म पुग्दा मिल्ने आधार फेला नपारेर निरुद्देश्य उठेका छन् । यद्यपि आपसी गृहकार्य गरेर सहमतिको उपाय खोज्ने नेताहरुले बताएका छन् ।

प्रचण्डलाई प्रेसर

स्थायी कमिटीको बैठक थाती राखेर बाबुराम पक्षलाई फकाउन लागिपरेका अध्यक्ष प्रचण्डलाई आफ्नै निकटस्थहरुले दबाव दिइरहेको बुझिएको छ । पार्टीमा भट्टराई पक्षले हलो अड्काएको भन्दै प्रचण्ड पक्षका केही नेताहरुले छिटोभन्दा भट्टराईसँग वार कि पार गर्न प्रचण्डलाई दबाव दिइरहेको स्रोतले बतायो । पार्टीलाई लामो समय अन्योलमा राख्न नहुने प्रचण्ड पक्षको तर्क छ । भट्टरार्य पक्षकै कारण पार्टीले गति लिन नसकेको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

प्रचण्ड निकटका कतिपयले नेताले भने भट्टराई पक्षसँग नझुक्न प्रचण्डलाई प्रेसर गरेको स्रोतको दाबी छ । यो अन्योलको स्थितिलाई निकास दिनकै प्रचण्डले स्थायी समितिको बैठक थाती राखेर भट्टराई पक्षसँग निर्णायक बहस अघि बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?