Comments Add Comment

परिषद् गठन हुन नसक्दा दुई करोड घाटा

२४ असार, दार्चुला । समयमै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको परिषद् गठन नहुँदा जिल्लालाई झन्डै रु दुई करोड घाटा भएको छ । विसं २०६७ मा संरक्षण क्षेत्र लागू भए पनि राजनीतिक दलहरूबीचको विवादका कारण समयमै परिषद् नबन्दा सो रकम घाटा भएको हो ।

लामो समयको प्रतीक्षापछि गत जेठमा अन्तरिम परिषद् गठन भएपछि केही आशा भने पलाएको छ । यद्यपि दलहरूबीच अझै तीव्र मतभेद भएकाले चुनौतीहरू पनि धेरै छन् । संरक्षण क्षेत्र लागू भएदेखि अहिलेसम्म चार करोडभन्दा बढी राजस्व सङ्कलन भएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

सङ्कलित रकममध्ये ५० प्रतिशत रकम जिल्लाले खर्च गर्न पाउने भए पनि समयमै परिषद् नबन्दा जिल्लाले सो घाटा व्यहोर्दै आएको हो । संरक्षण क्षेत्रभित्र जिल्लाका २१ वटा गाविस समेटिएका छन् । ग्ात वर्षको भन्दा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

गत वर्ष रु ७७ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा यो वर्ष रु ९५ लाख २३ हजार १४ राजस्व सङ्कलन भएको छ । जुन गत वर्षको भन्दा झन्डै रु १८ लाखले बढी हो । गत वर्ष महाकाली नदीमा आएको विनाशकारी बाढीका कारण राजस्व सङ्कलनमा कमी आएको संरक्षण क्षेत्र कार्यालयका सुब्बा दिलीप आवाजले बताउनुभयो ।

यस्तै गत वर्षको भन्दा यस वर्ष यार्साको राजस्वमा वृद्धि भएको छ । अहिलेसम्म जिल्लाबाट ८६२.५८ किलोग्राम यार्सा निकासा भएको छ । यार्साबाट प्रतिकिलोग्राम १० हजारका दरले रु ८६ लाख २० हजार राजस्व सङ्कलन भएको छ । जडीबुटीबाट नै सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । यस वर्ष यार्सा सङ्कलनका लागि ३७ जनाले सङ्कलन पुर्जी लिएका संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment