Comments Add Comment

मुगु गमगढीवासीलाई पानीजन्य रोगको खतरा

२५ असार, मुगु । मुगुको गमगढीमा बसोबास गर्ने नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने पानीजन्य रोगको खतरा बढ्दै गएको देखिएको छ । सदरमुकाम गमगढीदेखि ११ किलोमिटर टाढा रहेको पिना गाविसको झ्यारीखोलाबाट ल्याइएको खानेपानीको शुद्धता परीक्षण गर्दा तीनवटा इकोलिक भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय प्रमुख इन्जिनियर दिनेश अधिकारीले जानकारी दिए ।

खानेपानीको मुहानमा रहेको टयाङ्की असुरक्षित रहेको तथा मुहानमा नै पानीको शुद्धता परीक्षण गर्दा हैजाको जीवाणु इकोलिक दुईवटा भेटिएको र त्यहाँबाट गमगढी पुगेको पानी पुनः परीक्षण गर्दा इकोलिकको मात्रा तीन भेटिएको उहाँले बताए । गमगढीमा बालबालिकादेखि वृद्धवृद्धासम्म अहिले पखाला, आउँमासीले प्रभावित छन् भने गमगढीका ५०० घरधुरीका नागरिकले अहिलेसम्म पखालाको जीवाणु मिसिएको पानी पिउँदै आएका भए पनि नागरिकको स्वास्थ्यप्रति सरोकारवाला निकाय मौन छन् ।

इकोलिक रहेको पानी पिउँदा पखाला, आउँमासीको प्रकोप फैलिने स्वास्थ्यकर्मीले बताएका छन् । मान्छेको दिसा र पिसाब पानीमा मिसिएपछि पानीमा हैजाको जीवाणुको जन्म हुने र जुन जीवाणु मान्छेको मुखबाट पेटमा पुग्दा पखाला, आउँमासी हुने स्वास्थ्यकर्मी बताउँछन् । मान्छेको दिसापिसाब पानीमा मिसिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दुई प्रकारको जीवाणुको जन्म हुने गर्दछ । स्वास्थ्यकर्मीका अनुसार यसरी जन्मिने जीवाणु कोलिर्फम र इकोलिक हो ।

कोलिर्फमभन्दा इकोलिकको जीवाणु मानव स्वास्थ्यका लागि निकै खतरा हुने गर्दछ । यस्तो जीवाणु मिसिएको पानीलाई उमालेर पिउनुबाहेक अन्य कुनै उपाय नभएको बताइएको छ । गमगढीमा बसोबास गर्ने झन्डै ५०० घरधुरीका नागरिकलाई स्वच्छ पानी आपूर्ति गर्न मुहानमा सुरक्षित टयाङ्की, गमगढीमा फिल्टरयुक्त टयाङ्की निर्माण गर्ने कार्य योजना बनिसकेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले बताएको छ ।

खानेपानीमा कडाखालको पखालाको इकोनिक नामक जीवाणु देखिएपछि कार्यालयले यो पानी उमालेर मात्र पिउन सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment