Comments Add Comment

जम्बो केन्द्रीय कमिटी बनाउने एमालेको विधान पारित

२५ असार, काठमाडौं । नेकपा एमालेले १५ पदाधिकारीसहितको १ सय ५९ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनाउने भएको छ । केन्द्रीय कमिटीको निर्वाचन विहीबार साँझमा गर्ने गरी अघि बढ्ने प्रचार विभाग प्रमुख प्रदीय ज्ञवालीले बताएका छ्न् ।

नवौं महाधिवेशनले बुधबार पारित गरेको विधानअनुसार एमालेको केन्द्रीय समितिमा अब ४ बैकल्पिकसहित १ सय ५९ सदस्य रहनेछन् । यसमा निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता बन्नेछन् भने अन्य विहीबार हुने निर्वाचनबाट चुनिनेछन् ।

केन्द्रीय कमिटीमा महिला, जनजाति, मधेसी, मुस्लिम, दलित लगायतलाई आरक्षण कोटा छुट्टयाएको एमालेले पदाधिकारीमा भने खुला प्रतिस्पर्धा गराउने भएको छ । एमालेमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् ।

यस्तो छ आरक्षण

कुल १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा महिलालाई २२ केन्द्रीय सदस्य आरक्षण गरिएको छ । जसमा १५ पूर्ण र एक दलितसहित ७ बैकल्पिक हुनेछन् ।

त्यस्तै आदिवासी जनजातितर्फ १२ पूर्ण र ६ बैकल्पिक गरी १४ जनालाई आरक्षण गरिएको छ । मधेसीलाई ९ पूर्ण र ४ बैकल्पिकको आरक्षण गरिएको छ भने दलितलाई ५ पूर्ण र ३ बैकल्पिक केन्द्रीय सदस्यको आरक्षण गरिएको छ ।

मुस्लिम र पिछडिएको क्षेत्रलाई समान दुई पूर्ण र एक बैकल्पिक, केन्द्रीय सदस्यमा आरक्षण गरिएको छ । एमालेको संशोधित विधानअनुसार पदाधिकारीसहित ४९ जना केन्द्रीय सदस्य खुल्लातर्फबाट निर्वाचित हुनेछन् ७ जना बैकिल्पक हुनेछन् ।

त्यस्तै उपत्यकासहित १५ अञ्चलबाट खुल्ला १५ र बैकल्पिक १५ गरी ३० सदस्य निर्वाचित हुनेछन् । श्रमिक तथा पेशागत क्षेत्रबाट चार पूर्ण र चार वैकल्पिक केन्द्रीय सदस्यका लागि आरक्षण गरिएको छ भने समन्वय कमिटीबाट एक केन्द्रीय सदस्य रहनेछन् ।

एमालेले विहीबार साँझसम्म मतदानमा जाने भने पनि मतपत्र छपाई, मतदाता नामावली, मनोनयन दर्ता लगायतका चुनावी तयारी बाँकी रहेकाले विहीबार नै मतदान हुने सम्भावना कम रहेको स्रोत बताउँछ ।

असार १९ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एमालेको नवौं महाधिवशेन २५ गते सक्ने पुरानो कार्यसूची रहे पनि केही दिन अरु लम्बिने संकेत देखिएको छ । भोटिङ मेसिन प्रयोग नगर्ने निर्णयपछि मतगणनामा समेत थप केही दिन लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment