Comments Add Comment

पश्चिमको मतगणनामा बहुमत आउने ओली पक्षको दाबी

३१ असार, काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अब पश्चिम नेपालतिर पुगेको छ । पूर्वको मत गन्दा माधव नेपाल पक्ष अगाडि देखिए पनि पश्चिमको मत गणनामा ओलीपक्ष हावी हुने भन्दै दुबै समूह चुनाव जित्ने आशामा छन् ।kp oli and Madhav nepal

सोमवार मध्यरातसम्म मेचीदेखि नारायणीसम्मका सबै जिल्ला र भातृ संगठन तथा केन्द्रीय निकायको मतगणना सकिँदा एक पदाधिकारी र केही केन्द्रीय सदस्यमा बाहेक सबै पदमा नेपाल पक्षले कम्तिमा ४० देखि बढीमा २ सय मतसम्मले अग्रता लिएको छ । मंगलबार बिहान दश बजेबाट चार नम्बर बुथको गणना शुरु भएको छ ।

केन्द्रीय सदस्य तथा आयोगहरुको मतगणना पनि पदाधिकारीसँगै सक्ने गरी रातभरि गणना भएकाले पदाधिकारीको गणना स्थगित भएको थियो । मंगलबार गणना हुने चार र ५ नम्बर बुथबाट दुबै पक्षले आ-आफ्नो अनुकूल हुने अपेक्षा राखेका छन् । त्रिशुली र नारायणी पूर्वको गणनामा अध्यक्षमा माधव नेपालले ४७ मतले मात्रै अग्रता लिएकाले ओली पक्ष अझै पनि उत्साहित नै देखिएको छ । तर, नेपाल पक्षले भने अझै पनि १२/१५ मतले भए पनि जित्न सक्ने आशा कायमै राखेको छ ।

पश्चिमको अनुमान

मंगलबार गणना हुने बुथहरुमध्ये गण्डकी, लुम्बिनी, राप्ती र भेरीमा ओली पक्षले अग्रता लिने अनुमान गरिएको छ भने सेती, महाकाली, कर्णाली  र प्रवासमा नेपाल पक्षले अग्रताको अपेक्षा गरेको छ । तर गण्डकी र राप्तीमा ओली पक्षको अग्रता फराकिलो रहेकाले अध्यक्षमा ओलीलाई फाइदा हुन सक्छ । १४ जना पदाधिकारीमा नेपाल पक्षका कम्तिमा ५ जनाले जित्ने सम्भावना देखिएको छ भने गणना सक्दासम्म यो संख्या ७ पुग्न सक्ने अनुमान गरिएको छ ।

माधव नेपाललाई धोका

सोमवार बेलुकासम्म गनिएका मतहरुमध्ये ४४ मतपत्रमा अध्यक्ष पदमा दुबै उम्मेदवारलाई खाली राखिएको गणनामा सहभागी नेपाल पक्षका लेखा आयोगका उम्मेदवार होम बूढाथोकीले जानकारी दिए । उनका अनुसार ३७ मतपत्रमा नेपालका पक्षको पूरै प्यानलमा मत दिएर अध्यक्षमा मात्र खाली राखिएको छ भने ७ मतपत्रमा ओली बाहेक उनको प्यानलका सबैलाई मत दिइएको छ । ‘आफ्नै प्यानलबाट ३७ मत नेपाललाई नआउनुले गम्भीर धोकाको संकेत गरेको छ’ नेपाल निकट एक नेताले भने ।

केही मतपत्रमा दायाँतर्फका नेपाल पक्षका उम्मेदवारहरुलाई भोट नदिई बायाँतर्फका उम्मेदवारले मात्र मत पाएकाले नेपाल पक्षलाई घाटा भएको छ । सोमवार बेलुकासम्मको मतगणनामा अध्यक्षमा नेपालको ६ सय ४१ र ओलीको ५ सय ९३ मत छ । सबैभन्दा बढी मत गोकर्ण विष्टले सचिवमा पाएका छन् ।
बैकल्पिक केन्द्रीय सदस्यहरुमा ओली पक्षका माधव ढुंगेलको सबैभन्दा बढी मत आएको छ भने सोमबार मध्यरातसम्मको गणनामा नेपाल पक्षका केन्द्रीय सदस्यहरु धेरैको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment