Comments Add Comment

पद्मरत्न तुलाधर जनजाति आन्दोलनको नेता बन्दै

राजकुमार श्रेष्ठ

३१ असार, काठमाडौं । संविधानसभाबाट आफ्नो हकअधिकार सुनिश्चित हुने संविधान नबन्ने निष्कर्ष निकाल्दै आदिवासी जनजातिहरुले नागरिक समाजका अगुवा पदमरत्न तुलाधरको नेतृत्वमा संयुक्त आन्दोलन थाल्ने तयारी गरेका छन् ।

जातीय मुद्दा उठाउन जनजाति आन्दोलनको कमाण्डर अधिकारकर्मी पद्मरत्न तुलाधरलाई बनाउने तयारी थालिएको छ । ‘जनजाति नेता, पार्टी र बुद्धिजीवीपिच्छे एनजीओमात्रै भयो’संयुक्त आन्दोलनका लागि सक्रिय एक नेताले भने-‘सबैलाई स्वीकार्य हुने र समेट्न सक्ने पद्मरत्न दाइ नै भएकाले उहाँकै नेतृत्वमा गोलबन्द हुन लागेका हौं ।’padhmaratna-tuladhar

पहिलो तयारी सकियो

आन्दोलनको तयारीस्वरुप पहिलो चरणको समूहगत छलफल सकिएको छ भने अब बृहत भेला गरेर मोर्चाबन्दीको घोषणा गर्ने तयारी थालिएको छ ।पहिलो चरणमा एमाओवादी, बैद्य माओवादी, नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीका जनजाति नेताहरुबाट छलफल थालिएको थियो । पार्टीको महाधिवेशनमा व्यस्त भएका कारण एमालेका जनजाति नेताहरु भने छुटेका थिए ।

लगत्तै साना जनजाति पार्टी, आदिवासी जनजाति महासंघ, प्रदेशको नाम बन्न सक्ने जातिहरु नेवार, तामाङ, थारुलगायतका संघ संस्था, स्वतन्त्र बुद्धिजिवी र पुराना जनजाति नेताहरुसँग छलफल भएको बुझिएको छ । सोमबार मात्रै सत्यमोहन जोशी, मञ्जुल याक्थुम्बा, खगेन्द्रजंग गुरुङ, माणिकलाल श्रेष्ठसहितका पुराना जनजाति अगुवाहरुसँग परामर्श भएको छ । ‘समूहगत छलफलपछि अब साझा आन्दोलनमा जानुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं’स्रोतले भन्यो ।

तिहारपछि आन्दोलन गर्ने

एक जनजाति नेताका अनुसार पहिलो चरणमा जनजागरण अभियान चलाइने र दशैं तिहार लगतै आन्दोलन थाल्ने तयारी छ । तर, तुलाधरको नेतृत्वमा बन्ने मोर्चाले यसलाई अन्तिम रुप दिनेछ । ‘संविधानसभाको गतिविधिमा पनि हाम्रो कार्यक्रमको समयभर पर्छ’ एक जनजाति नेताले भनेका छन् ।

ब्यानर बोक्न मात्र अगुवाइ गर्दिँन

परामर्शको अगुवाइ गरेका तुलाधरले पनि निर्णायक आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताएका छन् । ‘५/१० मिटरको ब्यानर बोक्ने, धर्ना दिने र फेरि सम्झौता गर्ने हो भने म अगुवाइ गदिर्ँन’ तुलाधरको भनाइ उदृत गर्दै एक नेताले अनलाइनखबरसँग भने-‘निर्णायक आन्दोलन गर्ने हो भने म पनि तयार छु ।’

बरिष्ठ नेता तुलाधर आन्दोलनको अगुवाइका लागि तयार भएपछि आदिवासी जनजाति आन्दोलन उठानमा सक्रिय पासाङ शेर्पा, खगेन्द्र माखिम, सुरेश आलेमगर, मल्लके सुन्दरसहितका नेताहरु भने हौसिएका छन् ।

आन्दोलनको गृहकार्यमा को-को ?

जनजाति महासंघका पूर्वअध्यक्ष  एवं सामाजिक लोकतान्त्रिक पार्टीका नेता शेर्पाले जनजाति आन्दोलनबारे छलफल सुरु भएको स्वीकार गरे । एमाओवादीका वर्षमान पुन, गोपाल किराती, कांग्रेसका इन्द्रमान गुरुङ नविन चित्रकार, वैद्य माओवादीका देव गुरुङ, सुरेश आलेमगर, पवनमान श्रेष्ठ, संघीय समाजवादीका अशोक राई र राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिको आन्दोलनका लागि गृहकार्य थालेका हुन् ।

तुलाधरको नेतृत्वमा मोर्चाबन्दी गर्न लागेका जनजाति नेताहरुले एमाओवादी र मधेसवादीसहितका पहिचानसहितको संघीयता पक्षधरहरुसँग सहकार्य गरेर संयुक्त आन्दोलन चर्काउने रणनीति बनाएको छ । ‘प्रचण्डको शब्दमा भन्ने हो भने यो विभिन्न बटालिनयहरुको एउटा बटालियन हो’ एक नेताले भने ।

तुलाधर मोर्चाले जातीय मुद्दाहरु उठाउनेछ भने प्रचण्ड नेतृत्वको मोर्चा, साना सात जनजाति पार्टीको मोर्चा लगायतले पनि आ-आफ्नो वर्गीय एजेण्डा पनि साथमा लैजाने छन् । नेताहरुका अनुसार आन्दोलनका क्रममा बृहत संयुक्त मोर्चा समेत बन्नसक्नेछ ।

प्रचण्डलार्इ एम्बुसमा पर्ने चेतावनी

जनजाति नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई संविधानसभामा धेर नअल्मलिन दबाव दिन थालेका छन् । पाँच माओवादीको मोर्चाबन्दी सुरु हुनासाथ विदेशी शक्ति केन्द्रहरु त्यसलाई रोक्न लाजिम्पाट धाउन थालेको भन्दै स्रोतले भन्यो-‘प्रचण्डलाई धेरैतिरबाट दबाव आउँछ । अब उहाँले हाम्रो दबाव थेग्नु हुन्छ कि अरुको, हेर्न बाँकी छ ।’

जनजाति नेताहरुले दोस्रो संविधानसभामा सहभागी भएर प्रचण्ड पहिलो एम्बुसमा परेको तर्क गर्छन् । ‘अब संविधानसभामा बसिरहने र कांग्रेस एमालेले भनेअनुसार गर्ने हो भने अर्का धरापमा पर्ने खतरा छ’ एक नेताले भने- ‘यो जनजाति आन्दोलनका लागि त घातक हुन्छ नै स्वयंम तपाईकै लागि पनि हानीकारक हुन्छ भनेर हामीले भन्दै आएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment