+
+

केपी ओली : गरीब किसानदेखि एमाले अध्यक्षसम्म

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १४:०५

३१ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली आफ्नो ४० वर्षे संघर्षशील राजनीतिको प्रतिफलस्परुप नेकपा एमालेको सर्वोच्च पदमा पुगेका छन् ।

KP-Oliसंसदीय दलको चुनावमा अध्यक्ष झलनाथ खनाललाई हराएर विजयी सुरुवात गरेका ओलीले आफ्ना बलिया प्रतिद्वन्दी माधव नेपाललाई जिते पनि उनका सामु खडा भएका र हुने चुनौतीका पहाडलाई भने जित्न बाँकी छ ।

गरिब पारिवारिक पृष्ठभूमि

तेह्रथुममा जन्मिएका नेता केपी ओली वाल्यकाल झापाको सुरुङ्गा गाविसस्थित कन्काइ नदीको किनारमा गरिब किसान परिवारमा बितेकाे थियाे । उनले डेढ वर्षको उमेरमै आमाको माया गुमाउनुपरेको थियो । उनी ४/५ वर्षको हुँदा कन्काइमा आएको बाढीले घर र जमीन सबै बगाएपछि उनीहरुको परिवार सुकुम्वासीमा परिणत भएको थियो ।

टुहरो एवं सुकुम्वासी परिवारमा जन्मिएका कारण केपी ओलीको वाल्यकाल पीडादायी रह्यो । कन्काइले घर बगाएपछि उनलाई बडाबा र हजुरआमाले पाले । त्यसपछि उनी रामनाथ दाहाल (झापा आन्दोलनका सहिद) का घरमा काम गर्दै विद्यालय जान थाले ।

झापा आन्दोलनका बेला ०२९ सालमा रामनाथ दाहाल अन्य तीनजना योद्धासँगै सुखानीको जंगलमा मारिए । दाहालकै माध्यमबाट कम्युनिष्ट बनेका केपीचाँहि यतिबेला देशको दोस्रो ठूलो पार्टीको अध्यक्ष बनेका छन् ।

पाटनकी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । झापाको ७ नम्बर क्षेत्रबाट सभासद बनेका ओली भक्तपुरको बालकोटमा बस्छन् ।

राजनीतिक जीवन

झापा आन्दोलनका बेला लक्का जवान रहेका ओलीको डेढ दशक विभिन्न जेलमा बितेको छ । ०४६ सालको जनआन्दोलनको सफलतापछि जेलमुक्त बनेका उनी त्यसबेलादेखि लगातार एमालेको केन्द्रीय राजनीतिमा हावी छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसम्म बनेका ओलीले अहिलेसम्म प्रधानमन्त्री बन्ने अवसर भने पाएका छैनन् ।

पााचौं महाधिवशेनमा मदन भण्डारीलाई साथ दिएका ओलीले छैठौं महाधिवेनपछि पार्टी विभाजित हुँदा एमालेलाई बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए । गत आठौं महाधिवेशनमा बुटवलमा झलनाथ खनालसँग पराजित भएका उनी दोस्रोपटक अध्यक्षमा चुनाव लडेका थिए ।

विपक्षीप्रति कडा र छुच्चो अभिव्यक्ति दिने ओली विशेषगरी एमाओवादीप्रति बढी आक्रमक देखिन्छन् । साथै उनी आदिजासी जनजाति र संघीयताका विषयमा पनि नकारात्मक रहेको गुनासो जनजाति कित्ताबाट आउने गरेको छ । पछिल्लो समय डनवादलाई प्रश्रय दिएको आरोप पनि उनले खेप्दै आएका छन् । शाफ्नो शारीरिक अवस्थाले पनि ओलीलाई साथ दिएको छैन ।

तर, केपी ओलीलाई आफ्नो लाइनमा स्पष्ट, वैचारिक अडान भएका र प्रष्ट नेताका रुपमा विपक्षीले समेत स्वीकार गर्ने गरेका छन् । अब नेकपा एमालेभित्र सबै पक्षलाई मिलाउनुपर्ने र देशको राजनीतिलाई पनि सही दिशा दिनुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।

एमालेकाे चुनावी परिणाम सम्बन्धी समाचार यहाँ पढ्नुहाेस्

अध्यक्षमा ओली निर्वाचित, महासचिव पोखरेल, पदाधिकारीमा बराबरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?