Comments Add Comment

बाढीपहिरोले तीन महिनामा ४० को ज्यान लियो

Lanslide

ज्ञानेन्द्र खड्का

१ साउन, काठमाडौं । बैसाख महिनायता देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ४० जनाको ज्यान गएको छ । सुदूरपश्चिमको बाजुराबाट सुुरु भएको बाढीपहिरोको श्रृंखला मध्यवर्षात् लागेसँगै देशका अन्य स्थानमा पनि पुगेको छ ।

देशमा मनसुन नलाग्दै सुरु भएको बाढी पहिरोको विपत्तिले हालसम्म करोडौंको क्षति गरिसकेको छ । गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालीन उद्दार सञ्चालन केन्द्रका अनुसार बैसाख यता ५ वटा ठूलासहित ३४ वटा बाढीपहिरो गएका छन् ।

सरकारी तथ्यांकअनुसार हालसम्म देशका विभिन्न १२ वटा खोलामा आएको बाढीमा परेर ११ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता र एक जना घाइते भएको अवस्था छ । बाढीबाट ३० घर प्रभावित भएका छन् भने ५ घर पुरिएका छन् । त्यसैगरी २२ वटा स्थानमा झरेको पहिरोमा परेर २९ जनाको ज्यान गएको छ । पहिरोले पुरेर ११ जना घाइते भएका छन् ।

बाजुरामा वर्षको पहिलो विपत्ति

मनसुनको सुरसार नहुँदै सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको कोल्टीमा मध्यरातमा पहिरो झर्दा तीनजना स्थानीयको घटनास्थलमै ज्यान गयो । जेठ २४ गते शनिबार बाढीसँगै आएको पहिरोले ५८ वर्षीय गोरे रोकाया, ४५ वर्षीय कर बुढा र ७ वर्षीय दिनेश बुढाको ज्यान लियो । घटनामा दुईजना घाइते भए ।

पहिरोले स्थानीय स्वास्थ्य चौकीसमेत पुर्दा स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित भए । पहिरोले माध्यमिक विद्यालयसहित कोल्टीका ५२ घरमा क्षति पुग्यो । बाढीपहिरोले खानेपानीको मुहान पुरेपछि स्थानीयले खोलाको पानी खाइरहेका छन् । गाउँको विद्युत्त समेत पहिरोले पुरेको थियो ।

गुल्मीमा वर्षकै ठूलो पहिरो

मध्य नेपालको गुल्मीमा असार ५ गते राति ठूलो प्राकृतिक विपत्ति आईलाग्यो । असारको दर्के झरीसँगै मध्यरातमा झरेको पहिरोले गुल्मी सदरमुकाम तम्घासबाट ४५ किलोमिटर दूरीको अग्लुङ-८ निपानेका भविलाल कुवँरको घर पुर्दा एकै घरका ७ सहित ९ जनाको ज्यान गयो ।

घरमा सुतेकै अवस्थामा पहिरोले पुरेर ज्यान गुमाउनेमा ५ जना बालबालिका पनि थिए । पहिरोले घरमालिक भविलाल कुँवर, पत्नी चेती कुँवर, बुहारी सीता कुँवर, नाति चेतमान कुँवर, नातिनीहरु विन्दु कुँवर, भिमा कुँवर, हरिकला कुँवर, विपना कुँवर र झुठी विष्टको मृत्यु भयो । सिंगो गाउँमा झरेको पहिरोले अन्य ५ घरमा पनि क्षति पुर्‍याएको थियो ।

प्यूठानमा ठूलो विपत्ति

मध्यपश्चिमको पहाडी जिल्ला प्युठानमा असार पहिलो साता नै झरेको बाढीसहितको पहिरोले ३ जनाको ज्यान लियो । सदरमुकामबाट तीन घण्टा पैदलको खुङ गाविस-८ मा असार ५ गते मध्यराति झरेको पहिरोले स्थानीय प्रेमलाल गिरीका २ वषर्ीया छोरी आयुसा, १० महिने नाबालक छोरा आशिषसँगै ५४ वषर्ीया देवा भण्डारीको ज्यान लियो । पहिरोले पुरेर ६० वर्षीय डुमबहादुर गिरी बेपत्ता भए ।

असार अन्तिममा सिन्धुपाल्चोकमा पहिरो

असार २८ गते शनिबार राति सिन्धुपाल्चोकका फरक फरक स्थानमा झरेको पहिरोले ६ जनाको ज्यान लियो । अविरल वर्षातसँगै झरेको पहिरोले विपन्न परिवारका सदस्यको ज्यान लियो । पहिरोले सदरमुकाम चौतारा-१ पिपलडाँडामा झरेको पहिरोले ५० वषर्ीय नन्दलाल अधिकारी, ४० वर्षीया सावित्री अधिकारी र अधिकारीको घरमा बस्दै आएका ४० वर्षीय रामबहादुर थिङको मृत्यु भएको प्रहरीको भनाइ छ ।

सोही राति जिल्लाकै धुस्कुन-२ साउनेपानीमा झरेको पहिरोले ४० वर्षीय ४० वर्षीया सुन्तली विक र उनका पति सोमबहादुर विकको ज्यान लियो । त्यसैगरी सोही राति भोटासिया-४ गाईखर्कमा घर भत्कँदा ३० वर्षीया सानुमाया तामाङले ज्यान गुमाइन् । उनका तीन बालबच्चा भने भागेर बाँच्न सफल भए ।

ललितपुरको ढुंगाखानीमा पहिरो

ललितपुरको लेलेमा सञ्चालित ढुंगाखानीमा असार २९ गते झरेको पहिरोले पुरेर चार जनाको मृत्यु भयो । एक्जाभेटरबाट ढुंगा निकाल्ने क्रममा झरेको पहिरोले पुरेर लेलेका ४८ वर्षीय लक्ष्मण सिलवाल, ४६ वर्षीय, श्याम तामाङ, सिन्धुपाल्चोकका ३६ वषर्ीय भुपेन्द्र चालिसे र एक्जाभेटर चालक लेलेकै सुनिल नगरकोटी रहेका छन् । पहिरोमा परी घाइते भएका तीनजना भने उपचार पछि जोगिन सफल भएको महानगरीय वृत्त चापागाउँले जनाएको छ ।

बाढी पहिरो पीडितलाई करिब २ करोड राहत

राष्ट्रिय आपतकालीन उद्दार सञ्चालन केन्द्रका अनुसार गृहमन्त्रालयले यो वर्षको बाढी पहिरो पीडितका लागि हालसम्म २ कराड ९८ लाख ६७ हजार ९ सय रुपैयाँ राहत रकम बाँडिसकेको छ ।

बाढी पहिरोबाट प्रत्यक्ष प्रभावित ३३ परिवार र सामन्य क्षति भएका अन्य परिवारका लागि सरकारले यो राहत रकम वितरण गरेको हो । देशभर हालसम्म १२ वटा बाढीबाट क्षति भएको रेकर्ड सरकारसँग छ । त्यसैगरी २२ स्थानमा पहिरो झरेको गृहमन्त्रालयले जनाएको छ । त्यसैगरी अत्याधिक वषर्ातका कारण तीन घर भत्केका छन् ।

बाढी पहिरोबाट भएको क्षतिपछि घटनास्थलमा तत्काल राहत पुर्‍याउन गत जेठ २५ गते नै विपत्त पूर्व तयारी प्रतिकार्यसम्बन्धी बैठक बसेको राष्ट्रिय आपतकालीन उद्दार सञ्चालन केन्द्रका प्रमुख झंकनाथ ढकालले बताए ।

‘गरीबलाई दैवको हेला’

‘अहिलेसम्म बाढी पहिरोबाट पीडित भएकामा धेरैजसो गरिब र आर्थिकरुपमा विपन्न वर्गका छन्’, ढकालले भने, ‘जग्गाको अभावमा भिरालो र बढी जोखिमयुक्त ठाउँमा बसेकाहरु बाढी पहिरोमा परेका छन्, यसको क्षति कम गर्न नागरिकको आर्थिक अवस्था उकास्नु जरुरी छ ।’

उपसचिव ढकालले बाढी पहिरोका कारण मानिसको मृत्यु हुने क्रम बढेपछि देशभरका संयन्त्रलाई उच्च सर्तक अवस्थामा रहन निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment