Comments Add Comment

कार्यालयमै बसेर ग्राहकको घरको मिटर चढाइदिन्छन् प्राधिकरणका कर्मचारी

२ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चाबहिल उपकेन्द्रका मिटर रिडरहरुले समयमा नै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाइदिँदा अनावश्यकरुपमा बढी पैसा तिर्नुपरेको ग्राहकले गुनासो गरेका छन् ।

“तीन महिनादेखि घरमा रहेको बत्तीको मिटर रिडिङ गर्न प्राधिकरणका कर्मचारी आएका थिएनन्, फागुन र चैतको मिटरको नम्बर आफैँले टिपेर लगि पैसा तिरेकी थिएँ, वैशाखको पैसा तिर्न मिटरमा चढेको अङ्क लिएर जाँदा त मिटर रिडरले कार्यालयमै बसेर ५७ युनिट चढाइदिएछन्”- नयाँपाटीकी पीडित ग्राहक शान्ति भण्डारीले भने ।

जम्मा १८ युनिटमात्र चढेको मिटरमा मिटर रिडर सूर्यबहादुर खत्रीले कार्यालयमै बसेर तेब्बरभन्दा बढी युनिट चढाइदिएर ठगी गरेको उनले गुनासो गरे । “पछि मैले अहिल्यै मेरो घरको मिटरमा गएर हेर्नुस् त्यहाँ २१६७ युनिट मात्र पुगेको छ भनेपछि कर्मचारीले न्यूनतम शुल्क मात्र लिए” उनले भने । यो समस्या जेठ र असारको पैसा तिर्दासमेत आएको पनि उहाँले गुनासो गर्नुभयो । पटकपटक यस्तो समस्या आउँदा ग्राहकहरु प्राधिकरणप्रति क्रुद्ध बन्न थालेका छन् ।

अर्की जोरपाटीकी पीडित ग्राहक शान्ता सुवेदीले त सधैँ २० युनिटभन्दा बढी नचढ्ने बत्तीको पैसा एकै महिनामा ७०० तिर्नुपरेको गुनासो गरिन् । मिटर रिडिड. गर्न प्राधिकरणका कर्मचारी नआइदिँदा आफूहरु बत्तीनै नबाली बढी पैसा तिर्न बाध्य हुनुपरेको उनले बताइन् । विद्युत् भार कटौतीका कारण ऊर्जाको वैकल्पिक साधन पनि प्रयोग गर्नुपर्ने र मिटरमै नचढेको सात गुणाभन्दा बढी पैसा असुली प्राधिकरणले पीडामाथि पीडा दिएको गुनासो सुवेदीले गरे ।

यस्तै हो भने प्राधिकरणले ग्राहकलाई टाट पल्टाउने छ- उनले भने । काठमाडौँको पूर्वोत्तर क्षेत्रका जोरपाटी, गोकर्णेश्वर, बालुवा, नयाँपाटी, सुन्दरीजल, गागलफेदी, आलापोट, भद्रवास र डाँछीलगायतका गाविसमा मिटर रिडिङ गर्ने कर्मचारीले पहिल्यैदेखि ग्राहकको घरमा नगई कार्यालयमै बसेर अन्दाजका भरमा बिलमा युनिट चढाइदिने गरेको स्थानीयवासी मत्स्येन्द्र सापकोटा बताउँछन् । चाबहिल प्राधिकरणका प्रमुख हरिवीर सिलवाल पनि त्यस क्षेत्रमा मिटर रिडिङ गर्ने कर्मचारीहरु सज्जन कुइँकेल र सूर्यबहादुर खत्रीका बारेमा धेरै गुनासा आएको बताउँछन् ।

कुइँकेल राजनीति गर्दै हिँडेर काम गर्दैनन् भने खत्री कहिल्यै समयमा कार्यस्थलमा पुग्दैनन्, मैले पटकपटक चेतावनी दिइसकेँ तै पनि मान्दैनन् अब सरुवा गरिदिनमात्र बाँकी छ”- कार्यालय प्रमुख सिलवालले भने । प्राधिकरण चाबहिलका मिटर शाखा प्रमुख सुमनराज पाण्डे भने मिटर रिडरहरुको सङ्ख्या कम भएकाले पनि मिटर रिडिङ हुन नसकेको र कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले समस्या आइरहेको स्वीकार गरे ।

तीस हजार ७१३ ग्राहकका लागि १६ जना मिटर रिडरमात्र कार्यरत रहेकाले पनि सबैतिर मिटर रिडिङ गर्न नसकेको पाण्डेको भनाइ छ । मिटर रिडिङ शाखामा २१ जनाको दरबन्दी भए पनि १६ जनामात्र कार्यरत रहेका र कार्यरत मिटर रिडरमा अधिकांश महिला मिटर रिडरहरु कार्य क्षेत्रमा नजाने गरेकाले ग्राहकका घरमा गएर मिटर रिडिङ गर्ने काम गर्न नसकिएको उनले स्वीकार गरे ।

यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक रामचन्द्र पाण्डे यो समस्याको जानकारी आफूलाई नआएको र प्राधिकरणमा आवश्यक पदको पूर्तिसमेत हुने क्रममा रहेकाले पदपूर्तिपछि यो समस्या समाधान हुने बताउँछन् । तर के पदपूर्ति नहुन्जेल ग्राहकले प्राधिकरणको मनपरि सहेरै बस्नुपर्ने हो त ? पीडित कर्मचारीहरु आक्रोशपूर्ण रुपमा प्रश्न गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment