Comments Add Comment

वर्षौँदेखि चिकित्सक नहुँदा उपचारमा समस्या

३ साउन, जाजरकोट । जाजरकोटका स्वास्थ्य केन्द्रहरुमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या हुँदै आएको छ । करोडाैँको लगानीमा निर्माण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका भवन बनेको दुई दशक बितिसक्दा पनि चिकित्सक नहुँदा विरामीलाई उपचारमा समस्या भएको हो ।

तीन शैय्याको उक्त केन्द्र जाजरकोटको क्षेेत्र नम्बर २ का लागि स्थापना गरिएको हो । क्षेेत्र नम्बर १ को दुर्गम भेग बारेकोटका पाँच गाविसका लागि रु साढे दुई करोड लागतमा निर्मित लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि चिकित्सक नपुगेको धेरै भयो ।

दुवै स्थानका लागि चिकित्सकको सरुवा कागजमै सीमित भएको छ । चिकित्सहरु खटाएको दरबन्दीमा नगई सुविधा सम्पन्न अस्पतालमा काज मिलाउँछन् । त्यसबारे सर्वसाधारणलाई जानकारी हुँदैन, गाउँमा चिकित्सक पुगे पो थाहा पाउने । दल्लीस्थित प्रास्वाकेमा पनि चिकित्सकले पाइला टेकेका छैनन् ।

गाउँलेले चिकित्सक भनेर अहेबलाई चिन्छन् गर्खाकोट गाविस सचिव कृष्णबहादुर शाहले भने । करारका एक स्वास्थ्य सहायकबाहेक अन्य स्वास्थ्यकर्मी बस्दैनन् । मेडिकल अधिकृतसहित १२ स्वास्थ्यकर्मीको दरबन्दी रहेका जिल्लाका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि अहेबका भरमा छन् । सदरमुकामस्थित अस्पतालमा पनि तीन दरबन्दीमध्ये एक चिकित्सकमात्र छन् ।

दल्ली र लिम्साका प्रास्वाकेमा जिल्ला अस्पतालमा कार्यरत करारका चिकित्सक खटाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताए । प्रास्वाकेमा उपस्वास्थ्य चौकी जति पनि सेवा उपलब्ध नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

जब तीन शय्याका यस्ता केन्द्रमा ल्याब परीक्षणसहित चिकित्सकीय सेवा पुर्‍याउने सरकारी लक्ष्य छ । तर भनेबमोजिमको कार्य कसैले पनि नगर्दा ग्रामीण भेगका जनता स्वास्थ्य सुविधा लिनबाट वञ्चित हुँदै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment