Comments Add Comment

जलसम्पदा भारतलाई जिम्मा लगाउन खोजेको एमाओवादीको आरोप

३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले मुलुकको जलसम्पदा भारतलाई दिने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता दिनानाथ शर्माले लगानीका विभिन्न स्रोत खोजी राष्ट्रिय हितको जर्गेनामा लाग्नुपर्नेमा अपार जलस्रोत एउटै मुलुकलाई मात्र जिम्मा दिने विषय आपत्तिजनक भएको बताए । ‘प्रधानमन्त्री पनि स्वास्थ्योपचारको क्रममा अमेरिका रहनुभएको बेला प्रतिपक्षी दलसँग कुनै छलफल नै नगरी एकलौटीरुपमा अपार जलस्रोत विदेशीलाई दिने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन’ प्रवक्ता शर्माले भने ।

वर्तमान सरकारले ल्याएको बजेटले नेपाली जनताको हित गर्न नसक्ने भन्दै उनले विगतमा पनि उदारवादका नाममा सरकारी उद्योगको निजीकरण गरेर मुलुकको अर्थतन्त्र धरासायी बनाएका अर्थमन्त्रीको यसपटकको बजेट पनि आम जनताको हितमा नरहेको आरोप लगाए ।

उनले पार्टी संघीयतासहितको संविधानको पुरानो अडानमा नै रहेको बताउँदै संविधान निर्माणका लागि नै विभिन्न दलहरुसँग सहकार्य गरेको बताए । आफूहरुसहितको मोर्चाको उद्देश्य संविधानसभाबाट पहिचानसहितको संविधान निर्माण गर्नु नै रहेको उनको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment