Comments Add Comment

वामदेव गौतम र भीम रावलमध्ये को बरिष्ठ ?

४ साउन, काठमाडौं । नेकपा एमालेले पहिलोपटक पार्टी केन्द्रीय कमिटी सदस्यदेखि पदाधिकारीसम्मको बरियता तोक्ने भएको छ । यसैक्रममा उपाध्यक्ष वामदेव गौतम र भीम रावलमध्ये को बरिष्ठ हुने भन्ने विवाद चर्किएको छ ।

पार्टीमा बरिष्ठलाई सम्मान र युवालाई प्रोत्साहन गर्नका लागि बरियता तोक्ने प्रणाली बसाउन लागिएको एमाले स्रोतले जनाएको छ । केन्द्रबाट शुरु भएको बरियताक्रम जिल्लासम्म पनि कायम गरिने एमालेले जनाएको छ ।

केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि एमालेमा केन्द्रीय सदस्यहरुको समेत बरियता तोक्नेबारे छलफल शुरु भएको हो । यसअघि बरियताकै कारण झलनाथ खनाल अध्यक्ष भएको तीन वर्षसम्म एमालेमा ओलीको बरियताबारे समस्या भएपछि उनलाई ढीलो गरी तेस्रो बरियता तोकिएको थियो । आगामी दोस्रो केन्द्रीय कमिटी बैठकले सबै नेताहरुको बरियता तोक्ने भएको छ ।

सबैभन्दा बरिष्ठ को ?

‘त्यतिबेलै अरु नेताहरुको पनि बरियता तोक्नुपर्छ भन्ने कुरा आएको थियो’केन्द्रीय सदस्य मुकुन्द न्यौपानेले भने ‘तर त्यसबेला अरुको बरियता तोकिएन’ । न्यौपाने अहिलेको केन्द्रीय कमिटीमा सबैभन्दा बरिष्ठ नेतामध्येमा पर्छन् । ०३२ सालका केन्द्रीय सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा र मुकुन्द न्यौपानेमात्र छन् । ओली त्यसबेला जेलमा थिए ।

 बरिष्ठ उपाध्यक्षमा रावल कि वामदेव ?

केही पदाधिकारीले हालै महाधिवेशनमा भएको निर्वाचनमा बढी मत पाएका आधारमा आफू पहिलो बरियतामा रहेको भन्दै प्रचार गरेपछि बरियता तोक्ने विषय पार्टी बैठकको एजेण्डा नै बन्न लागेको उच्च स्रोतले जनाएको छ ।

उपाध्यक्ष भीम रावललाई कार्यकर्ताले लोकप्रियताको जाँच गरिसकेकाले बढी मत पाउने नै पहिलो बरियतामा रहने बताए । उनले उपाध्यक्षमा ११४३ मत पाएका थिए भने गौतमले ११३८ मत पाएका थिए ।

‘यसमा कुनै विवाद गर्नुपरेन, निर्वाचन आयोग र पार्टी बैठकको माइन्युटमा पनि मतका आधारमा पदाधिकारीको बरियता कायम भएको छ’ रावलले भने ।

तर अर्का उपाध्यक्ष बामदेव गौतमले भने एमालेमा अध्यक्ष केपी ओली पछिको दोस्रो बरियतामा बरिष्ठ नेता झलनाथ खनाल रहे पनि कार्यकारी हिसाबले आफू दोस्रो भएको बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा गौतमले बिगतमा पनि आफूनै बरिष्ठ उपाध्यक्ष रहेको र यसपटक पनि सोही मर्यादा कायम हुने बताए । ‘एमालेमा म सेकेण्डम्यान हुँ अहिले, यसमा कुनै विवाद छैन’गौतमले भने ‘बढी मत पाएका आधारमा बरियता तोक्ने हो भने सबैभन्दा बढी मत गोकर्ण विष्टले पाएका छन् उनलाई अध्यक्षभन्दा माथिको बरियतामा राख्नुपर्ने हुन्छ’ ।

 ओलीको संकेत

बरियता विवादमा अध्यक्ष केपी ओलीले आफ्नो धारण प्रष्ट पारिसकेको एमाले स्रोतले जनाएको छ । केन्द्रीय सदस्यहरु सबैको बरियता तोकिने भन्दै उनले पार्टीमा बिगतदेखिको योगदान र निरन्तरताका आधारमा बरियता तोक्ने बताएका छन् । ‘को पहिले केन्द्रीय कमिटीमा पुग्यो, को पहिले पोलिटब्यूरो र स्थायी समितिमा पुग्यो त्यस आधारमा बरियता तोकिनेछ’ ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

ओलीको यो भनाइले उनी वामदेव गौतमलाई नै आफूपछिको बरियताको उपाध्यक्ष बनाउन चाहान्छन् भन्ने प्रष्ट हुन्छ । विगतमा बढी मत पाएका उपाध्यक्ष अशोक राई भए पनि गौतम नै बरियतामा माथि थिए । बरियताक्रमका आधारमा कार्यवाहक अध्यक्ष हुने भएकाले उपाध्यक्षको बरियता विवाद एमालेमा अझै चर्किने सम्भावना छ ।

एमाले केन्द्रीय कमिटीमा ०२८ सालको झापा बिद्रोहका कमाण्डर केपी ओलीदेखि ०६२/६३ को जनआन्दोलनपछिका रामकुमारी झाँक्री, रचना खड्का, माधव ढुंगेल जस्ता बिल्कुल नयाँ पुस्ताका नेताहरु निर्वाचित भएका छन् । कम्तिमा चार पुस्ताका नेताहरुको सम्मिश्रण रहेको केन्द्रीय कमिटीमा ठूलालाई आदर र सानालाई प्रोत्साहन गर्नका लागि पनि बरियता तोक्नुपर्ने अवस्था आएको ढुंगेल बताउँछन् । ‘मलाई लाग्छ नेताहरुको इतिहास, योगदान, निरन्तरता जस्ता कुरालाई आधार बनाएर बरियता तोक्दा कुनै विवाद हुँदैन’ उनले भने ।

कसरी तोकिन्छ बरियता ?

केन्द्रीय सदस्यहरुको बरियता तोक्दा पनि पार्टी तथा भातृ संगठनमा को पहिले नेतृत्वमा पुग्यो भन्ने कुरालाई मुख्य आधार बनाइनेछ । एउटा अञ्चलको इन्चार्ज अर्को अञ्चलमा गएको बेला समान पद छ भने सम्बन्धित अञ्चलको इन्चार्ज नै बरियतामा माथि हुनेछ । पहिलेनै स्थायी समितिमा पुगिसकेका प्रदीप नेपाल, मुकुन्द न्यौपाने, शंकर पोखरेल लगायतका नेताहरु बरियतामा माथि हुनेछन् ।

 माधवलाई तेस्रो बरियता

यसैबीच एमाले अध्यक्ष ओलीले आफूसँग अध्यक्षमा पराजित नेता माधवकुमार नेपाललाई स्थायी कमिटी सदस्य बनाएर तेस्रो बरियता दिने सोच बनाएका छन् । ओली निकट स्रोतका अनुसार नेपाललाई स्थायी कमिटीमा ल्याउने र अध्यक्ष तथा बरिष्ठ नेतापछिको बरियतामा नेपाललाई राखिनेछ । यसअघि त्यस बरियतामा ओली थिए ।

हारेकालाई स्थायी समिति

महासचिवमा पराजित सुरेन्द्र पाण्डे र उपमहासचिवमा पराजित शंकर पोखरेलका साथै एक मधेशी नेतालाई पनि स्थायी समितिमा लैजाने सम्भावना छ । साउन २५ गते दोस्रो केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यसले बढीमा ५५ सदस्यीय पोलिटब्यूरो र १८ सदस्यीय स्थायी कमिटीको निर्वाचन गर्नेछ ।

स्थायी कमिटीमा बरिष्ठ नेता सहित १५ जना पदाधिकारी स्वतः सदस्य हुने भएकाले तीन जनासम्म स्थायी समिति सदस्य थप गर्न सक्नेछ ।

यसैवीच शनिबार एमाले नेता प्रदीप ज्ञवाली, विष्णु पौडेल र शंकर पोखरेलले केन्द्रीय समितिमा जस्तै पोलिटब्यूरो र स्थायी समितिमा समेत ओलीपक्षको बहुमत बनाउने रणनीतिबारे आपसी गृहकार्य गरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment