Comments Add Comment

पत्नीमाथि कुटपिट गर्ने अधिकांश पुरुषहरु जँड्याहा

प्रतिमा परियार

तातोपानी-२ सुर्खेतकी रिमा विकका हररात डर, त्रास र रोदनमै बित्छन् । कारण, उनलाई श्रीमान्ले सधैँजसो मदिरा सेवन गरेर कुटपिट गर्छन् । उनी भन्छिन्, ‘दिनभरि काम गर्छु । साँझ ओछ्यानमा पल्टिने बेला उनी परैदेखि डाको हाल्दै आउँछन् । नकुटेको दिनै हुन्न । कुटाइ खाँदाखाँदा शरीर नै आधा बनिसक्यो ।’

pratima-1-jpgबिहे गरेको आठ वर्षदेखि आफूलाई श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्न थालेको उनी बताउँछिन् । ‘पहिला त केही खाँदैनथे । जब रक्सी खान थाले, तब मेरा दुःखका दिन सुरु भए । तीन छोराछोरी छन्, जाउँ भने कहाँ जाउँ । जसोतसो सहेर बसेकी छु,’ उनले भनिन्, ‘रक्सी नखाएको बेला मलाई किन पिट्नुहुन्छ, मेरो के दोष छ भनेर सोध्छु । त्यति बेला तेरो केही गल्ती छैन् भन्छन् । तर, साँझमा सधैँ उस्तै ।’

लेखगाउँ-५ की २३ वषर्ीया हिमकला बुढा अर्की पीडित हुन् । २८ माघ ०७० मा उनका लोग्ने देवेन्द्र बुढाले मदिरा पिएर उधुम मच्चाए । लात्ती, मुक्का र दाउराले मरणासन्न हुने गरी कुटपिट गरे । माइतीको सहयोगमा उनी उपचार गरेर घर फर्किइन् । अहिले उनलाई लोग्ने देख्नासाथ मनमा डर र त्रासले घेरा हाल्छ । उनी भन्छिन्, ‘सधैँ साँझमा रक्सी खाएर खुट्टा बटार्दै आउँछन् । दिनभरिको काम साँझको कुटाइ । मनमा सधैँ डर मात्र लागिरहन्छ ।’ बिहे भएको दुई वर्षसम्म राम्रै गर्ने हिमकलाका श्रीमान् विगत एक वर्षदेखि मदिरा पिउन लागेका हुन् । हिमकला भन्छिन्, ‘पहिलेपहिले दाइजो थोरै ल्याइस् भनेर निहुँ खोजिरहन्थे । आजभोलि त कुनै निहुँ नपाए खाना मीठो भएन भनेर आइलाग्छन् ।’

लेखपराजुल-१ मनमकाँडाकी ३० वषर्ीया इन्द्रा गुरुङको पीडा पनि हिमकलाको जस्तै छ । मदिराले लट्ठ भएका पति रेशम गुरुङले १९ माघमा घरमै दाउराले हाने । टाउकोमा चोट लागेकी पीडितको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भयो । घरायसी विवादको घटना कतै पनि सुनुवाइ नहुने भनेर उनी कतै उजुरी गर्न गइनन् ।

यी घटनाबाट स्पष्ट हुन्छ, महिलाहरू आफ्नो परिवारभित्रै असुरक्षित छन् । अधिकांश ग्रामीण महिला मदिराका कारण घरेलु हिंसाबाट पीडित छन् । गाउँघरमा मदिराका कारण घरेलु हिंसाका घटना बढिरहेका छन् । मदिरा सेवन गरी श्रीमान्ले श्रीमतीलाई यातना दिने गरेको उनीहरूको भनाइ छ । यसबारे राष्ट्रिय महिला अधिकार सरोकार मञ्चले विभिन्न १२ जिल्लामा सर्वेक्षण गरेको थियो । मञ्चले १२ फागुन ०७० मा सुर्खेतमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सयमा ५८ जना महिला दैनिक रूपमा घर-परिवारबाट हिंसा भोग्न बाध्य छन् । मञ्चले सुर्खेत, कैलाली, डडेल्धुरा, हुम्ला, गोरखा, मकवानपुर, धनुषा, महोत्तरी, मोरङ, खोटाङ, काभ्रे र दोलखामा सर्वेक्षण गरेको थियो । लोग्नेले कुटपिट गर्ने कारणमा उनीहरूले मदिरा सेवनलाई मुख्य कारण भनेका थिए ।

सुर्खेतमा पनि विभिन्न सरकारी एवं गैरसरकारी निकायमा दर्ता भएका महिला हिंसाका घटनामध्ये ९५ प्रतिशत घरेलु हिंसाकै घटना छन् । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो एक वर्षमा तीन सय ५७ वटा उजुरी घरेलु हिंसासँग सम्बन्धित थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले ‘मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसाका घटनामा कमी आउने’ दाबी गरे ।

उनी भन्छन्, ‘छलफल एवं सोधपुछ गर्दा मदिरा सेवन गरेर नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खुल्न आउँछ ।’ उनी सहरमा मात्रै होइन, ग्रामीण क्षेत्रमा पनि मदिरा नियन्त्रण अभियान थाल्न जरुरी रहेको बताउँछन् ।

अधिकारकर्मी पनि घरेलु हिंसाको प्रमुख कारण नै मदिरा रहेको बताउँछन् । मदिरा सेवन गरी एक न एक बहानामा श्रीमतीलाई यातना दिने काम भइरहेको छ । आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाहीले भनिन्, ‘अब सबै सरोकारवाला मदिरामुक्त समाज निर्माणको अभियानमा लाग्याँै भने महिलाले सुरक्षित महसुस गर्नेछन् ।’ श्रीमान्बाटै श्रीमतीको ज्यान जोखिममा छ भने, हामी कसरी महिला हिंसामा कमी ल्याउन सक्छौँ ?’ उनले भनिन् । सबैभन्दा पहिले महिलालाई परिवारमा सुरक्षित रहने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ ।

मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न सकियो भने मात्रै यस्तो हिंसामा कमी आउने जिल्ला अदालत सुर्खेतका न्यायाधीश लीलाराज अधिकारी बताउँछन् । ‘मदिरा सेवन गरी श्रीमती कुटपिट गर्ने श्रीमान्लाई प्रहरीमा उजुरी गरी अदालती प्रक्रियासम्म ल्याएर कारबाहीको दायरामा ल्याउन सकियो भने, अन्य पुरुषलाई पनि डरको भवना जाग्न सक्छ,’ उनले भने, ‘घटना कानुनी प्रक्रियामा नआउँदा पीडकलाई प्रोत्साहन भएको देखिन्छ ।’

न्यायाधीश अधिकारीका अनुसार, कानुनी प्रक्रियामा महिलाको पहुँच न्यून भएकै कारण पीडित हुनुपरेको छ । महिलाको पहुँच अभिवृद्धि गर्न जनचेतना प्रवाहलाई व्यापकता दिनुपर्छ । उनी भन्छन्, ‘महिलाकै हितमा बनेका अधिकांश कानुनी प्रक्रियाबारे महिला नै अनभिज्ञ छन् ।’

नेपाली समाजमा शक्तिको आडमा हिंसा भइरहेकाले हिंसामुक्त समाज निर्माणका लागि महिलालाई क्षमता अभिवृद्धिसँगै आयआर्जनको पाटोमा दरिलो बनाउनुपर्ने कानुन व्यवसायीको भनाइ छ । ‘हिंसा शक्तिको आडमै भइरहेको छ,’ अधिवक्ता कृष्ण हमालले भने, ‘जबसम्म महिलालाई आर्थिक, सामाजिक, राजनीतिक हिसाबमा सबल बनाइँदैन, तबसम्म महिलामाथि गरिने हिंसा न्यूनीकरण गर्न सम्भव छैन ।’

अखिल नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालका विचारमा हिंसा हुन नदिन हरेक क्षेत्रमा महिलालाई सबल र सक्षम बनाउनु जरुरी छ ।

 उनको बुझाइमा हरेक क्षेत्रमा महिलाको सहभागिता र अवसर दिई उनीहरूको नेतृत्व विकाससँगै आर्थिक समृद्धितर्फ लैजान सकियो भने हिंसा आफैँ न्यूनीकरण हुन्छ । परिवारको एउटा सदस्यले अर्को सदस्यमाथि गर्ने दुव्र्यवहार, गालीगलौज, शारीरिक तथा मानसिक यातना, घोचपेच वा उसको इच्छाविपरीतका क्रियाकलाप नै घरेलु हिंसा भएको घरेलु हिंसा नियन्त्रण गर्न बनेको ऐनमा उल्लेख छ । तसर्थ, मदिरा सेवन गरेर श्रीमती र परिवारका सदस्यमाथि गरिने ज्यादती नियन्त्रण गर्न पनि यो ऐनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।

(सञ्चारिका फिचर सेवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment