Comments Add Comment

कमल थापालाई साउनभरि कुर्छौं : रामु राई

Ramu-Rai५ साउन, काठमाडौं । राप्रपा नेपालका नेता रामु राईले साउन महिनाभित्र अध्यक्ष कमल थापाले आफ्ना मागहरु सम्बोधन नगरे भदौमा नयाँ पार्टी खोल्ने बताएका छन् । ‘अब हामी कमल थापालाई साउनभरि कुर्छौं । हाम्रा केही शर्त छन्, ती पूरा भएनन् भने अर्को विकल्प खोजिनेछ ।’ राप्रपा नेपालका नेता राईले अनलाइनखबरसँग भने- ‘हामी पनि राजनीतिक प्राणी हौं, यत्तिकै बसिरहने कुरा पनि त भएन ।’

भिन्न विचारलाई पाखा लगाएको आरोप

कमल थापाले पार्टीभित्र राई लिम्बुलगायतका जात जातिलाई पाखा लगाएको र पार्टीलाई भजन मण्डली एवं निजी क्लबजसरी चलाउन खोजेको राईले आरोप लगाए । राईले अध्यक्ष थापालाई अल्टिमेटम दिँदै भने- ‘फरक विचार भएका हामीलाई पनि पार्टीमा समेटेर लानुपर्‍यो र पार्टीले लिएका मुद्दाहरुमा सम्झौता गर्दिँन भनेर प्रतिवद्धता जनाउनुपर्‍यो ।’

राप्रपा नेपालले लिएको नीति सही भए पनि कमल थापाको व्यवहारले पार्टीको विकास हुन नसकेको राईको मूल्यांकन छ । ‘पार्टीले लिएको विचारसँग तलमाथि हुनु हुँदैन । अहिले त कस्तो हास्यास्पद छ भने बैठक बस्छ, थापाले रेडिमेड एजेन्डा बनाएर ल्याउँछन् । माइन्युटमा लेखिएको हुन्छ, सही गर्‍यो, सकियो । थापाको एजेन्डामाथि टिप्पणी गर्ने कसैको हिम्मतै छैन । सबै भजनमण्डली समूहमात्रै राखिएको छ । पदमसुन्दर लावतीलगायत हामी भिन्न विचारका नेताहरुलाई पाखा लगाइएको छ ।’

असन्तुष्ट पक्षका नेता राईले कमल थापासँग राखिएको एक महिने अल्टिमेटमका विाष्यवस्तुबारे जानकारी दिँदै भने- ‘हामीले भनेको राजतन्त्रसहितको प्रजातन्त्र, अखण्ड राष्ट्र र सनातन धर्मसापेक्ष छाड्न भएन ।’आफूहरुको असन्तुष्टि राप्रपा नेपालको राजनीतिक लाइनमा नभएर थापाको नेतृत्वमाथि रहेको उनले बताए । ‘पार्टीको लाइन स्पष्टै छ तर कमलजीको व्यवहारले यो गर्ने/गराउनेमा हामीलाई शंका छ । उनले कुनै पनि ठाउँमा लगेर छाडिदिने सम्भावना छ ।’
तर, लावतीलगायत आफूहरुको माग पनि सक्रिय राजतन्त्र नभईर् संवैधानिक राजतन्त्र नै रहेको उनले प्रष्ट पारे- ‘सक्रिय राजतन्त्रमा त हामी कुनै पनि हालतमा सहमतै छैनौं । त्यो भनेको पनि छैन, भन्नुपनि हुँदैन । एउटा आलंकारिक राजा, जसलाई केही अधिकार नभएको होस् ।’

पार्टीको विकासमा अवरोध

‘पार्टीमा अरु मान्छेहरु पनि आउन भयंकर इच्छुक छ्न । कमलजीले नै एकपटक भन्नुभएको थियो, यो राप्रपा नेपालको नामै परिवर्तन गर्नुपर्‍यो, यसमा राम्रा मान्छेहरु पनि आउन लागे ।’ राईले भने- ‘तर, यो पार्टीमा कमल थापाकै कारणले अरु मानिसहरु आउन नसकेका हुन् । लोकेन्द्रबहादुर चन्दहरु पोहोरै आउने थिए । रोई रोईकन गणतन्त्र च्यापेको पार्टीमा बसिराखेका छन् । आत्मा रुवाएर बसेका छन् । डा. लोहनीहरु, राजेश्वरहरु छन् । तर, थापाको पोलिटिकल हाइट नपुगेको कारणले यस्तो भएको छ ।’

कमल थापालाई आफैंले अध्यक्ष हुनुपरेको र उनले कसैलाई मान सम्मान नगर्दा पार्टी कमजोर बनेको राईले बताए । ‘न भाइलाई माया छ, न ठूलालाई सम्मान छ । त्यसैले कमल थापाको नेतृत्व स्वीकार गर्न एकदमै गाह्रो छ ।’ उनले भने ।

पैसा लिएर सभासद चुनेको आरोप

असन्तुष्ट नेता राईले सभासदको छनोटमा पैसाको चलखेल गरिएको आरोपसमेत लगाएका छन् । ‘हाम्रा सभासदहरु पैसाका भरमा बनाइएका छन् । पैसा दिएर साधारण सदस्य पनि नभएकालाई सभासद बनाइएको छ’ राईले भने- ‘राजकुमार अग्रवाल, टिबडेवालहरु कहाँबाट आए ? कान्ता भट्टराई कहाँबाट आइन् ?
समानुपातिक सभासदको छनोट गर्दा केन्द्रीय समितिबाट निर्णय नगराई अध्यक्ष थापाले आफैं निर्णय गरेको कारण अहिले अदालतमा मुद्दा परेको बताउँदै उनले भने- ‘अदालतले यो निर्णय बदर गर्‍यो भने सबैको सभासद पद जान्छ र नयाँ टिमलाई पठाउनुपर्ने हुन्छ , कमल थापाकै पनि सभासद पद जान सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment