Comments Add Comment

वीपी बाँचेका भए गणतन्त्रवादी हुन्थे कि राजावादी ?

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरु मंगलबारदेखि वीपी स्मृति दिवस एवं वीपी कोइराला जन्म शताब्दी दिवस मनाउन व्यस्त हुनेछन् । यसैसन्दर्भमा कतिपय राजतन्त्रका पक्षधर विश्लेषकहरुले वीपी कोइरालालाई राजावादीका रुपमा वकालत गर्न थालेका छन् । पञ्चायतकालभरि वीपीलाई ‘अराष्ट्रिय तत्व’ देख्नेहरु पनि यतिबेला वीपीका अनन्य भक्त बन्न थालेका छन् ।

Bp koiralaवीपी कोइराला अहिलेसम्म जीवित रहेका भए उनी गणतन्त्रवादी बन्ने थिए या संवैधानिक राजतन्त्रकै पक्षमा वकालत गरिरहन्थे ? यो कुराको अनुमान लगाउनु सहज छैन । तर, वीपीको मुल्यांकनका सन्दर्भमा यो विषय प्रश्न अहिले पेचिलो बनेर अगाडि आएको छ ।

तीसको दशकमा वीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलापको नीति’ लाई लिएर कतिपय राजतन्त्रका पक्षपातीहरु उनको प्रशंसा गर्दैछन् । उनीहरु वीपीको प्रशंसा गर्छन् तर नेपाली कांग्रेस एवं गिरिजाप्रसाद कोइरालालाई तीखो आलोचना गर्छन् । वीपीले ‘राजाको मेरो घाँटी जोडिएको छ’ भनेर राष्ट्रिय मेलमिलापको नीति लिएका बेला बोलेको विषयलाई राजावादीहरुले सापटी लिने गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस गणतान्त्रिक भएको छ । तर, पुरानो कानून खारेज भएर नयाँ कानून आइसक्दा पनि पुरानै कानूनको दफा टेकेजस्तो गरी राजतन्त्रको वकालत गर्नेहरुले यतिबेला वीपी कोइरालालाई आदर्श बताउँदै कांग्रेसलाई सराप्ने नीति लिएको देखिन्छ ।

राजालाई बम हान्ने को थिए ?

वीपी कोइरालाको बहुआयामिक नीति र विचारको मूल्यांकन गर्दा उनले राजासँग घाँटी जोडेको कुरालाई मात्रै समात्नु एकांगी दृष्टिकोण हुने कतिपयको विश्लेषण छ ।

तत्कालीन राजा महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि ०१८/०१९ सालमा नेपाली कांग्रेसले हतियारवद्ध सशस्त्र संघर्ष थाल्यो । त्यसको एकदशक पछिसम्म अझ भनौं, ०३३ सालको मेलमिलापको नीति लिनुभन्दा अघिसम्म विपीको लाइन भनेको राजतन्त्रविरुद्ध सशस्त्र संघर्षको लाइन थियो । पछि पक्राउ परेर मृत्युदण्डको सजायँ सुनाउने तयारी हुँदा वीपीले सशस्त्र संघर्षको नैतिक जिम्मेवारीसमेत आफैंले लिएका थिए ।

वीपी कोइरालाकै नेतृत्वका रहेको नेपाली कांग्रेसका कार्यकर्ताले बिराटनगर, जनकपुरलगायतका शहरमा तत्कालीन राजामाथि बम प्रहार गरेर मार्ने प्रयास पनि गरेकै हुन् । यसक्रममा भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, सरोज कोइरालालगायतका सहिदहरुको बलिदानी यसको अचूक प्रमाण हो ।

वीपी कोइरालाले राजासँग घाँटी जोडेको मात्रै देख्नु तर, राजाविरुद्ध बमको तार जोडेको चाँहि नदेख्नु राजतन्त्र पक्षधरहरुको दृष्टिदोष होइन र ? जसले पञ्चायती व्यवस्थाका विरुद्ध जीवनभर लड्यो, जसले राजशाहीबाट जीवनभर दुःख पायो, यसैलाई यतिबेला राजावादी भन्दै गणतन्त्रविरुद्ध उभ्याउन खोज्दा वीपीमाथि कत्तिको न्याय होला ? वीपीबारे चिन्तन गर्नेहरुले जान्ने कुरा हो यो ।

वीपी कोइराला बाँचेका भए…….

वीपी कोइराला बाँचेका भए उनी अहिले गणतन्त्रवादी हुन्थे या राजासँग घाँटी जोडेरै बस्ने थिए ? राष्ट्रिय मेलमिलापको सन्दर्भमा उनले त्यतिबेला बोलेको विषय र राजाविरुद्ध बम पड्काउनसम्म तयार रहने उनको चलायमान व्यक्तित्व दुबैलाई विश्लेषण गरेपछि मात्रै अनुमान लगाउन सकिनेछ कि उनले बाँचेको भए के गर्ने थिए । जीवनभर उनको लगाव र निष्ठा कतातिर थियो, पूर्ण लोकतन्त्रतर्फ थियो या राजासँगको सौदाबाजीतर्फ केन्दि्रत थियो ? यसको विश्लेषण जरुरी छ ।

आफ्नै छोरामा समेत विभाजन

वीपी कोइरालाको मूल्यांकन गर्न गाह्रो पर्दै गएको छ । वीपीका नाममा विचारहरु विभाजित बन्दै गएका छन् । टाढा किन जाने ? वीपीका दुईभाइ छोरासमेत वैचारिकरुपले विभाजित भएका छन् । एकभाइ छोरा प्रकाश कोइराला संवैधानिक राजतन्त्रका पक्षपाती हुन् भने अर्का छोरा शशांक कोइराला गणतन्त्रवादी हुन् ।

वीपी कोइराला विभाजित बनेको यो भन्दा अर्को दृष्टान्त खोज्न जरुरी छैन । आखिर वीपी कोइराला कसका आदर्श हुन् ? संवैधानिक राजतन्त्रवादीका या गणतन्त्रवादीका ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment