Comments Add Comment

बजेटमा मैले फजुल कुरा लेखेछु : सचिव बास्कोटा

Krishna-hari-baskota

६ साउन, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले ०३७ जेठदेखि नायब सुब्बाबाट जागिर सुरु गरेका हुन् । चर्चाको शिखरका पुगेका सचिव बास्कोटाले यही साउनको पहिलो साता सचिव पदबाट स्वेच्छिक अवकाश लिएका छन् । तीन दशक लामो आफ्नो जागिरे जीवनबारे बास्कोटाको स्मरण यस्तो छ-

दुई अविश्मरणीय क्षण
म अछाममा प्रमुख जिल्ला अधिकारी थिएँ । एक दिन बिहान फलैँचामा बसेर चिया खाइरहेको थिएँ । एउटा मान्छेले पुलुक्क हेर्‍यो । मैले ए को हँ भनेँ । त्यो मान्छे बुर्कुुसी कसेर भाग्यो । म सीडीओ मान्छे, जोस चलेछ । मैले तुरुन्तै त्यो मान्छेलाई पक्राउ गरेर ल्याउ भनेर आदेश दिएछु । दुई पुलिस दौडिएर लखेटे । आधा घन्टामा समातेर ल्याए । त्यो मान्छे डरायो ।
पछि मलाई थोरै पछुतो पनि भयो । मलाई किन हेरेको ? को हो, भन्दा किन भागेको भन्दा उसले के भन्यो भने नागरिकता लिन आएको । १० बजे मात्र अड्डा खुल्छ तैपनि कर्मचारी आए कि भनेर चिहाएर हेरेको, हजुरले को हो भनेपछि डर लाग्यो र भागेँ । उनले यसो भनेपछि मेरो मन करुणामय भयो । तुरुन्तै अछाम दरबारको कोठामा रहेका मुखिया, खरदारलाई बोलाएँ । बिहान ८ बजेको थियो । मैले यो मान्छेलाई नागरिकता दिए हुन्न भने । उनीहरुले हजुर १० बजेपछि दिने भने । आ, दिने तपाईहरु हो, लिने मान्छे पनि छँदैछन् । म सीडीओ, मेरो पनि काम छैन । म सही गर्छु दिनुस् भनेपछि उनीहरु डराए । निवेदन दिनुपर्छ हजुर भने । सबै मिलाएर साढे ८ बजे अछामीको नागरिता बन्यो । सीडीओको जस होस् भनेर उनी हिँडे ।
अर्को घटना सिंहदरबारभित्रैको हो । अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख भएर काम गर्दा एक दिन ९/१० बजे नै बाहिर निस्किएको थिएँ । ढोकाछेउको सोफामा दुईजना बुढाबुढी बसिरहेका थिए । पछि म ५० औं पटक तलमाथि गरिरहें । डा. रामशरण महत अर्थमन्त्री र विद्याधर मल्लिक सचिव हुनुहुन्थ्यो । उहाँहरुले बोलाइरहने, म फुर्तिलो मान्छे, दौडिरहने ।
पछि चार बजेतिर हेर्दा पनि तिनै बुढाबुढी मान्छे सोफामा बसिरहेका छन् । म कोठाभित्र गइसकेको मान्छे, अचानक फर्किएर आएँ र ए बा किन यहाँ बसेको भनेर सोधेँ । ती बुढाबुढीले जाराक जुरुक उठेर हात जोडेर छोराको पैसा लिन आएको भने । के भयो र छोरालाई भनेपछि पुलिसमा थियो, मर्‍यो भने । मैले तरुन्तै भित्र लगेर बुझ्दा माओवादी द्वन्द्वको बेलामा एक्लो छोरा इन्काउन्टरमा मरेका रहेछन् । त्यसको साढे सात लाख पाइने रहेछ । गृह मन्त्रालयले अर्थमा लेखेको रहेछ । उनीहरुले एउटालाई चिठी दिएछन् । पखर्नुस् भन्नेले बिर्सिएछन् । मैले बजेटका साथीलाई बोलाएर मारसँग उफि्रएँ, तपाईहरुलाई अफ्यारो लागेन । म रिसाएपछि त्यहाँ भवसागर भो । दौडादौड सुरु भो । १० मिनेटभित्र निकासा बनाइगए । तर, सचिव र मन्त्रीले स्वीकृत गर्नु पर्ने थियो । बजेट महाशाखामा अतिरिक्त २००/३०० खर्च आउँथ्यो । मैले क्यान्टिनबालालाई बोलाएर जे छ खान देउ भने । बुढाबुढीले अप्ठ्यारो मान्दै खाए । त्यही बीचमा टिप्पणी आयो । म सचिवकहाँ गएर मै हुँ बजेट महाशाखाको प्रमुख गल्ती भएछ, क्षमापाउँ भन्दै सबै कुरा भनेपछि तुरुन्तै सही गर्दिनु भो । मन्त्रीलाई पनि सदर गराएँ ।
बाबा, आमा मेरा कर्मचारीले ढिला गरे, मै हुँ हाकिम । क्षमा दिनुस् भनेपछि दुबै बुढाबुढी पिलिक्क रोए । बुढा मान्छेले च्याप्पै मेरो हात समाते । छोड्दै छोडेनन्, कस्तो भने म नै छोरोजस्तो अनुभूति गरे ।
त्यसैले कर्मचारी साथीहरुलाई मैले भन्ने गरेको छु । जनताले कर्मचारीबाट धेरै अपेक्षा गरेका हुन् । त्यो अछामी र बुढाबुढीले दिएको आर्शिवादले म सचिव भएँ । नाम चलेकै सचिव भएँ ।
मलाई मन नपर्ने कर्मचारीहरु
मलाई तीन/चार किसिमका कर्मचारीहरु मन पर्दैनन् । एक, ठूलो पदमा पुगेपछि अरुका कुरा सुन्दै नसुन्ने, आफ्ना कुरा मात्र भन्ने । जनताले केही भन्न खोजे आफैं मात्र जान्नेजस्तो भटाभट बोल्ने । त्यो मलाई पटकै मन पर्दैन । थोरै कमजोरी ममा पनि होला ।
दोस्रो, जनताले नमस्कार गरे पनि नफर्काउने र म चाहिँ शासक हुँ, यो रैती आयो जस्तो गर्ने । अभिवादन चाहिँ दश आंैला नै जोडेर गर्नुपर्छ ।
अर्को, आपसमा गफ गरेर बसेको, आफ्ना मान्छेको काम गरिदिएको तर, सार्वसाधारणको काम नगरिदिएको दृश्यलाई मलाई बहुतै नराम्रो लाग्छ । कर्मचारीले अर्काको काम गरिदिनुपर्‍यो भने लुकेर गर्नुपर्छ । हाकाहाकी उसैका अगाडि आफन्तको काम गर्दिने, गफ गरेर बस्ने त्यो कर्मचारीतन्त्रले गरेको मलाई एकदमै चित्त बुझ्दैन ।
Krishna-hari-baskota--1निजामति कर्मचारीका दुःख
कर्मचारी स्वभिमानपूर्ण ढंगले काम गर्न खोज्छ । तर, तल्लो तहको कर्मचारीको कुरा माथिल्लोले नसुनिदिँदा सबैभन्दा दुःख मान्छ । जस्तो मेरो कुरा मुख्य सचिवले नखाइदिँदा दुख हुन्छ । मुख्य सचिवलाई पनि त्यही हो, उहाँले मन्त्रिपरिषद्लाई सल्लाह दिनुहुन्छ । त्यसलाई नसुन्दा दुःखी भएको देख्छु ।
अर्को, कर्मचारीले आफ्नो मन पर्ने प्लान बनाएको हुन्छ । मैले काम यसरी गर्छु, सरुवा यो ठाउँमा हुन्छु र मेरो जीन्दगी यसरी लैजान्छु भन्ने हुन्छ । त्यो प्लान उसले काँही पनि भन्नै पाउँदैन । हाकिमहरुले जहाँ-जहाँ सरुवा गराउन मन लाग्छ, गराउँछन् । जे-जे काम दिन मन लाग्छ, फ्याट फ्याटी दिन्छन् । उसको नियन्त्रणमा केही रहँदैन ।
तेस्रो, कर्मचारीले काम गरिरहन्छ तर, कहिल्यै जस पाउँदैन । जहाँ होचो, त्यहीँ घोचो भनेजस्तो । कर्मचारीले गरिरहन्छ, तर बाहिर जाँदा नराम्रो टिप्पणी आउँछ । नेताहरुले पनि कर्मचारी बदमास भन्दिने । पत्रकारले भन्ने । जनताले बदमास भन्ने । उसको मनमा लाग्छ, मैले बदमासी गरेको छैन तर, आमरुपमा बदमास भनियो ।
निजामती सेवामा करिव ८० हजार कर्मचारी छौं । ४ हजार जस्तो कर्मचारीहरु जनतालाई सेवा दिने फ्रन्ट लाइनमा छन् । मालपोतमा जग्गा पास गर्ने, जिल्ला प्रशासनमा नागरिकता दिने । यातायातमा मोटर पास गर्ने जस्ता । मैले देखेको जनतासँग प्रत्यक्ष सम्वन्धित कर्मचारीले नै हो कहिलेकाँही बदमासी गर्ने । तर, बाँकी रहेको ७६ हजार कर्मचारीले बेमतलबमा अवगालको भारी बोकेका छन् ।

कर्मचारी हुनुका सुख
एक प्रकारले भन्दा महिना मरेपछि तलव पाइयो, काम होस् या नहोस् । लगाउनेले काम लगायो भने गरियो, लगाएन भने गर्न परेन ।
राष्ट्रसेवक भनेपछि परिचय पत्र पाइन्छ । यो झुण्ड्याएपछि अन्य ठाउँमा पनि सुविधा पाइयो । जनता लाइनमा बसेका छन् भने कर्मचारीले त भित्रबाट गएर भए पनि आफ्नो काम गराउने भयो ।
अर्को, जस्तै भए पनि सरकारको साधन स्रोत र विकास निर्माणमा केही न केही पहुँच रहने भयो । आफू बसेको ठाउँमा केही कुरा ल्याउन सक्ने भयो । भलै सबैले नल्याउला ।
चौथो र सबैभन्दा महत्वपूर्ण के भने त्यो पदीय तेजले आफ्नो व्यक्तिगत छवि बन्ने भो । एकछिनलाई मान्नुस्, अहिलेको मुख्यसचिव हर कुराले योग्य हुनुहुन्छ । उहाँले बाग्मती सफाइ गरिरहनुभएको छ । मुख्यसचिव भन्ने पदका कारण सारा सेना, प्रहरी दौडिरहेको हो नि त । मैले काठमाडौं उपत्यकाको सडकको अनुगमन गरेँ, प्रधानमन्त्री कार्यालयको सचिव भएर । सारा संयन्त्र मेरो पछि दौडियो र मेरो तेज बढ्यो । यो भनेको पदीयरुपमा काम गर्न पाइने तर, त्यसको श्रेय चाहिँ आफूले व्यक्तिगत रुपमा पाइने राम्रो कुरा भयो । गरिएको सरकारी काम तर सामाजिक प्रतिष्ठा बढ्ने भयो ।
बजेटमा गलत कुरो लेखिएछ
हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । बजेटमा पुर्‍याउने भनिएको छ । प्रधानमन्त्री कार्यालयबाट योजना छान्दा अरु सचिवले छान्नुभएन । मेरै योजना थियो, सबै सचिवहरुलाई जिल्ला भ्रमणमा लैजाने । त्यसअन्तरगत डोल्पा पछिल्लो चरणमा साथीहरुले छानेनन् । म गएँ । अघिल्लो वर्ष मैले हुम्ला छानेर गएको थिएँ । हुम्लाको सिमीकोट र डोल्पाको दुनैसम्म पुगेँ ।
मैले डोल्पा र हुम्लाको सदरमुकाममा पुगेर मोटरबाटो नपुगेको र अझै पनि नपुग्ने देखेपछि यसलाई अंग्रेजीमा ‘फल्स होप’ भन्छ । म नै अर्थ मन्त्रालयमा बजेट महाशाखाको प्रमुख थिएँ । पछि राजश्व सचिव भएँ, अर्थ सचिव भएँ, पटक-पटक मैले नै नेपालभरिका सदरमुकाममा मोटरबाटो दुई वर्षमा पुग्छ, तीन वर्षमा पुग्छ भनेर कहिले डा. महतका पालामा, कहिले सुरेन्द्र पाण्डेका पालामा लेखेँ । मैले फजुल कुरा लेखेंछु । गल्ती गरेंछु भन्ने ऐहसास भएको छ । कारण के हो भने सिमीकोटमा पुगेपछि मात्र मलाई थाहा भो कि तिब्बतको यारी नाकाबाट पो सिमिकोटसम्म ४५ किलोमिटर बाटो जोड्न सकिँदो रहेछ । यता नेपालको राष्ट्रिय सञ्जालबाट जोड्न खोजेको होइन रहेछ । उताबाट जोडेपछि मोटर पुग्यो भन्ने तर, नेपालको मोटर चढेर गएर सिमिकोट नपुगिने रहेछ । मैले फर्किएर आएपछि भौतिक योजना मन्त्रालयका सचिवहरुसँग प्रतिवाद नै गरेँ । तपाईले गलत कुरो भन्दिनु भएको रहेछ, म लोकेसनमा गएपछि मात्रै थाहा भो ।
सुर्खेतबाट जुम्लासम्म गएको कर्णाली राजमार्गबाट सिमिकोट बाटो पुर्‍याउन त खन्न नै सुरु गरिएको रहेनछ । अहिले पनि बजेट भाषणमा अर्थमन्त्रीले दुई वर्षमा पुग्छ भन्नुभो । मैले आदर गर्छु अर्थमन्त्रीलाई । तर, खन्न नै सुरु नगरेपछि दुई वर्षमा पुग्ने भन्नेमा म तर्सिएको छु । यसमा आक्रोस नै भन्नुस्, फेरि अर्थमन्त्री महतलाई गलत कुरा लेखाए । अर्का सचिव, अर्का उपसचिवले गलत कुरा अर्थमन्त्रीबाट बकाए । काम सुरु गरे सिमिकोट नपुग्ने होइन पुग्छ ।
जहाँसम्म दुनैको कुरा फरक छ । खन्न सुरु भइसकेको छ, नेपाली सेनालाई दिइएको छ । तर, मलाई के प्रष्ट भयो भने नेपाली सेनालाई ५० करोड नदिई केही हुनेवाला छैन ।
म पनि अर्थ सचिव भइसकेको हुँ । एउटा बाटोलाई १० करोड १५ करोड, सारै ज्यानै जाने गरी दिएको खण्डमा अर्थमन्त्री, अर्थसचिवले २० करोडभन्दा बढी रकम हालेको मेरो जानकारीमा छैन । ५० करोड नहाली त त्यो बाटो छिचोलिँदैन । वास्तवमा दुर दराजमा नगई थाहा नहुँदो रहेछ ।
विना सर्बे बजेटमा नाम पार्ने, विभिन्न सोर्स फोर्सबाट वा सरकार पपुलर हुन बजेटमा लेखिदिने गरेकाले बजेट कार्यन्वयनमा समस्या हुने गरेको छ ।
स्वेच्छिक अवकाश बारे स्पष्टीकरण
वि.सं.०५९ कार्तिक २१ मा नयाँ निजामति ऐन बन्यो । एकपटक सेवामा जुन शर्तले प्रवेश गर्‍यो, त्यो कर्मचारीको सहमति विना परिर्वतन गर्न पाइँदैन । अरु कर्मचारीले स्वत ६० वर्षसम्म सेवा अवधि पाए । सचिव र मुख्यसचिवको ३ र ५ वर्षे सेवा अवधि तोकियो । त्यसैले ३० वर्ष सेवा अवधि पुगेको र ५० वर्ष उमेर कटेकाहरुले स्वच्छिक अवकास लिएमा ६० वर्षकै गणना गरि पेन्सनको सुविधा दिने कानुनी व्यवस्था भयो । त्यसकारण जसको ३० वर्ष नै पुगेको छैन ।
सुविधा पाउने भएर पनि ५ वर्षमा अवकास लिएर सुविधा नलिएको कुनै मुख्य सचिव सचिव छैन । मैले दाबीका साथ भन्छु हात उठाइदिए हुन्छ । यसलाई कानुनले दिएको सुविधा हो ।
मैले लिएको ठीक हो । सुविधा लिने मनसायलै नै स्वेच्छिक अवकास लिएको हुँ । तर, करिव म ५५ सालमा सहसचिव भएँ । अहिले ७१ सालसम्म म बिहान सात साढे ७ बजे अड्डा आउने र बेलुका ९, साढे ९ वजे जाने । यत्रो १५ वर्षको ओभरटाइम त दावी गरिँन । प्रधानमन्त्री कार्यालयमा मैले प्रत्येक हप्ता जिल्ला भ्रमण गरेँ । मैले डीए लिइन । कारण के भने सरकारी गाडी चढेर गएँ । सीडीओको भान्सामा साधारण एकछाक खाएँ । १५ वर्षको अवधीमा मैले कुनै पनि विदा लिइन । पर्व विदा घर विदा प्लास्प भएर गएँ । त्यो त मैले त्यागेँ । विदेश भ्रमणमा मैले कहिल्यै पाकेट खर्च लिइँन । सरकारले पठाएकै छ । बाडिङ पास पाएकै छु । प्लेनवालाले ख्वाएकै छ । आयोजकले बसाएको छ, खुवाएको छ कापी कलम झोला दिएको छ । त्यसकारण सरकारसँग थप लिनुहुन्न भनेर मैले लिइँन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment