मात्रिका पौडेल
ठिक एक वर्षअघि जुमान क्युनिजसँग अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भेट भएको थियो । उनी र म एउटै मिसनमा थियौं । अमेरिकी विदेश मन्त्रालयले उपलव्ध गराएको टिभी ब्रोडकास्ट जर्नलिजमको अध्ययन भ्रमण थियो हाम्रो । जुमान र म जस्तै बिभिन्न १९ देशका २२ जना टिभी पत्रकारहरु थियौं हामी ।
दुई साताको सहयात्रामा जुमान निकै नजिकिएकी थिइन् । अरु जस्तो उनीमा उन्मुक्त हाँसो थिएन । भन्ने गर्थिन् ‘आफू त देश नभएको मान्छे’ । उनले अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीसँगको हाम्रो सामुहिक भेटमा पनि परिचय दिने क्रममा ‘देश नभएको मान्छे’ भन्दै परिचय दिएकी थिइन् । अमेरिकाले प्यालेस्टाइनप्रति गरेको व्यवहारको उनले वासिङटन डिसीमै अशन्तुष्टि जनाएकी थिइन् ।
संयोगनै मान्नुपर्छ त्यसको ठिक एक वर्षपछि उनले मलाई फोन गरिन् । ‘तिमीलाई थाहा छ ? इजरायलले हाम्रो भूमीमा लासहरुको रास बनाइसकेको छ, थाहा छैन, मेरो फेरि तिमीसँग कुरा हुन पाउछ कि पाउदैन’ उनले यति भन्दै गाजामा भइरहेको युद्दको त्रासदी सुनाइन् । उनी देशविहीनहरुको आवाज विश्वका हरेक कुनामा पुगोस् भन्ने चाहान्छिन् ।
जुमान पेशाले पत्रकार हुन् । उनी प्यालेस्टाइनको बिर्जित विश्वविद्यालयमा मिडिया डिपार्टमेन्टमा लेक्चर पनि हुन् । आइतवार उनले फोन गर्दा भन्दै थिइन् ‘मलाई थाहा छ, इजरायलमा धेरै नेपालीहरु काम गर्छन् तर उनीहरुलाई आफ्नै माटोमा शरणार्थी हुनुको पिडा के थाहा ? हामी त ६५ वर्षदेखि आफ्नो माटोमा देश खोजिरहेका विश्वकै सबैभन्दा अभागी मान्छे हौं’ ।
उनी प्यालेस्टाइनहरु किन युद्ध लडिरहेका छन् भन्ने वास्तविकता विश्व समुदायले जस्तै नेपालीहरुले पनि थाहा पाउन् भनेर मलाई फोन गरिरहेकी थिइन् । ‘हामी देश नभएका अभागी मान्छे, हामी आवाजविहीन मान्छे’ अवाजविहीनको आवाज भनिने एक पत्रकार जुमान भन्दै थिइन् ‘हाम्रो कुरा पनि बाहिर जावस, वास्तवमा हामीले आफ्नो भूमी पाउन कति लाख मान्छेको रगत बगाउनुपर्ने हो ?’ । थाहा छैन, जुमानका अनुसार उनी कुनै पनि बेला पछिल्लो युद्धको शिकार बन्न सक्छिन् ।
इजरायली सेना र हमास लडाकुबीच अहिले गाजा क्षेत्रमा भिषण युद्ध भइरहेको समाचार विश्वभर छाएको छ । तर एउटी प्यालेस्टाइनी पत्रकार तथा प्राध्यापकले कतिसम्म निरीहता पोख्नुपरेको छ भन्ने सायद दुनियालाई थाहा नहुन सक्छ । देश भएर युद्ध लड्नेहरुको कथा भन्दा देशै नभई युद्ध लड्ने र लडिरहनेको कथा निकै दर्दनाक हुदो रहेछ । अमेरिका बसाइमा जुमानले देश नहुनुको पीडा जसरी सुनाउथिन्, आज हतास र त्रसित स्वरमा उनले फोनमा सुनाएको पीडाले वास्तवमा देश नहुने अभागीहरुको लागि अन्तर्राष्ट्रिय समुदाय पनि वैरी भएको हो कि जस्तो लाग्दो रहेछ ।
हुन त युद्ध इजरायलले चाहेर होइन हमासहरुले निहुँ खोजेर शुरु भएको रिपोर्ट आइरहेका छन् । यसबीचमा प्यालेस्टिीनी पत्रकार जुमानका अनुसार प्यालेस्टाइन बालवालिका, बृद्धबृद्धा र सर्वसाधारण समेत करीव चार सयको ज्यान इजरायली सेनाबाट गइसकेको छ । इजरायली सेनातर्फ पनि केहीको हताहती भएको छ । ‘यिनीहरुले हामीलाई कुनै पनि बेला मार्छन्, यहाँ मानवीयता भन्ने सिद्धिसकेको छ’ जुमानले भनिन् ‘इजरायलसँग अमेरिका छ, उनीहरुसँग लगभग सम्पूर्ण विश्व छ तर हामीसँग हाम्रो भूमी पनि छैन’ ।
प्यालेस्टाइन महिलाहरु संसारका सुन्दर महिलाहरुमा गनिन्छन् । उनीहरु युद्ध रत्तिभर चाहदैनन् । यो भूमध्यसागरको तटमा सधैं शान्ति छावस भन्ने पुकार आफूहरुले गरिरहेको जुमान सुनाउछिन् । एकातिर इजरायली सेनाले गाजा किनाराका बासिन्दालाई भाग भनेर माइकिङ गर्छ । अर्कोतर्फ हमास लडाकुहरुले घर नछाड भनेर उर्दी जारी गर्छ ।
‘अनि यसको शिकार बन्छन् यहाँका महिला र बालवालिका’ जुमानले भनिन् ‘हाम्रो कष्ट पनि सुनिदेउ न ओबामा, के हामी मर्न र मात्र मर्न अनि दुःख पाउनका लागि जन्मिएका हौं त ?’ । अन्तर्राष्ट्रिय मिडियाले युद्ध, मृत्यु र शान्तिको मात्र समाचार बनाइरहदा प्यालेस्टिनी पत्रकार जुमानलाई भने अहिलेको समाचार पोलिसीनै मन परेको छैन ।
‘युद्धमा मान्छे मर्छन् त्यो समाचार हुन सक्छ तर यो युद्धको मूल्य चुकाउनेहरुको बारेमा किन उनीहरुको ध्यान जादैन ? के प्यालेस्टाइनीहरुको भाग्यमा अरु केही लेखिएको छैन ?’ जुमानको प्रश्न अन्तर्राष्ट्रिय समुदायलाई छ । जुमान र उनी जस्ताका कथा अन्तर्राष्ट्रिय सन्चारमाध्यममा नआउदा उनीहरु धेरै पीडित भएका छन् । सायद त्यहि कथा सुनाउन उनले नेपाल सम्झेर मलाई फोन गरेकी होलिन् ।
जुमानले फोन राखेपछि फेसबुकमा सन्देश पठाउदै देश नहुनुको पीडा यसरी व्यक्त गरिरहेकी थिइन्-यहाँका बालबालिकालाई जन्मिने अधिकार छैन । जन्मिएपछि हुर्किने हक हुदैन । लुकिछिपी हुर्किनेहरु बम र गोलाको शिकार बन्नुपर्छ । उनीहरुले आफू जन्मिएको माटोमा देशको नाम लेख्न पाउदैनन् । हाम्रो लागि मात्र किन यस्तो हुन्छ यो निर्दयी संसारमा ? उनले अमेरिकी विदेश मन्त्रालयमा उपस्थित भएर सोध्दा समेत नपाएको प्रश्नको जवाफ मैले कसरी दिउँ ?
जुमान नेपालीहरुले प्यालेस्टाइनी ‘अभागीहरुको वास्तविक कथा थाहा पाउन् भन्ने चाहान्छिन् । प्यालेस्टाइनीहरु हिश्रक लडाकु हुन् कि देशविहीन निरीह अभागीहरु हुन् ? यसको बारेमा नेपालीहरुले राम्रोसंग थाहा पाउन् भन्ने उनको आग्रह छ । इजरायलमा कार्यरत धेरै नेपाली दिदी बहिनीहरु उनले भेटेकी छन् रे । ‘उनीहरु जसको सेवा गरिरहेका छन्, ती इजरायली बा आमाहरुप्रति हाम्रो कुनै दुश्मनी छैन जुमान भन्छिन् ‘तपाइ नेपाली दिदी बहिनीहरु त भोलि जागिर अवधी सकिएपछि आफ्नो घर, प्यारो देशमा फर्किनुहुन्छ तर हामी प्यालेस्टिनीहरु कहा जाउँ ? हाम्रो त देशनै लुटिएको छ ।
जुमानको पुस्तामा प्यालेस्टिनी महिलाहरुले धेरै उन्नति गरेका छन् । उनीहरु बुर्का लगाएर विश्वविद्यालय पुगेका छन् । संसारका धेरै देशमा जुमानका साथीहरु काम गरिरहेका छन् । तर राष्ट्रसंघले दिएको औपचारिक नागरिकताको अधिकार बाहेक उनीरुसंग केही छैन । त्यसैले जुमानहरु अहिले पनि आफ् जन्मिएको भूमीमा पवित्र प्यालेस्टाइन देश खोजिरहेकिा छन् । तर सन् १९४८ देखि शुरु भएको यो देश खोज्ने अभियान अझै अपूरै छ ।
सन् १९३० ताका जर्मनीका तानाशाह हिटलरले यहुदीहरुको सामुहिक चिहान बनाएपछि विश्वभरका यहुदीहरु आफ्नो अस्थित्व खोज्ने क्रममा मृतसागरको यो किनारामा पुगेका थिए, जसलाई उनीहरुले आफ्नो उद्गमस्थल भन्दै इजरायल नामाकरण गरे । यसअघिनै यो भूमीमा अरवीहरु बस्थे । तर सन् १९४७ मा संयुक्त राष्ट्रसंघले यो भूमीलाई प्यालेस्टाइन राज्य र यहुदी राज्य भनेर घोषणा गरिदिएपछि यहा निरन्तर लडाइ जारी छ ।
यहुदीहरुले राष्ट्रसंघको घोषणा स्वीकार गरेर इजरायल मुलुक निर्माण गरे । तर प्यालेस्टाइनहरुले आफ्नो पवित्र भूमी खोसिएको भन्दै त्यसलाई अस्वीकार गरे । यसरी दुई धार्मिक समूहबीच निरन्तर ६७ वर्षदेखि हिंसात्मक युद्ध हुदै आएको छ । यसबीचमा हजारौं लाखौं प्यालेष्टाईनीहर आफ्नो भुमीवाट पलायन भै अन्य देशमा शरण्ँार्थी हुन पुगे । तर पनि उनीहरुकै भाषामा ‘आफ्नो देश फिर्ता गर्ने मुक्ति युद्ध भने जारी छ ।
प्रतिक्रिया 4