Comments Add Comment

आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो

७ साउन, झापा । जलथल-३ की गीता मेेचे ग्यास्टिकले च्यापेपछि मेची अस्पताल धाउनुभन्दा विकल्प थिएन, पटकपटक जाँदा दिक्क भएकी उनलाई छिमेकी छमसरी मेचेले आयुर्वेदिक औषधालय चन्द्रगढी जान सुझाव दिइन्, त्यहाँ निःशुल्क वितरण पाइने औषधि र उपचारले उनलाई निको भयो ।
त्यस्तै पृथ्वीनगरका जय गौतम हर्षा (पाइल्स)ले पीडित एलोपेथिक उपचारमा रोकथाम मात्रै र शल्यक्रिया गर्नुपर्छ भनेपछि उनले आयुर्वेदिक उपचारबाट मुख बारेर रोग निको बनाए ।
झापामा सरकारीस्तरमा आयुर्वेद अस्पताल भएको धेरैलाई थाहा छैन, १६ वर्षअघि नेपाल सरकारले आयुर्वेद औषधालय स्थापना गरेपछि झापाका बासिन्दालाई राहत भयो तर प्रचारप्रसारको अभावमा यस क्षेत्रको विकासमा चासो भएन । अहिले समय परिवर्तन भएसँगै आयुर्वेदप्रति आकर्षण बढेको छ ।
दीर्घकालीन रोग र साइड इफेक्टरहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढदै गएको जिल्ला आयुर्वेदले जनाएको छ । झापामा छवटा आयुर्वेद औषधालय चन्द्रगढी, बुधबारे, शनिश्चरे, दुधे, बाहुनडाँगी र बैगुनधुरामा रहेका छन् ।
आर्थिक वर्ष ०७०/०७१ मा २३ हजार बिमारीले विभिन्न किसिमका सेवा लिएका छन् । औषधालयले विशेष रुपमा स्तनपायी आमालाई स्तनवर्द्धक औषधि, ज्येष्ठ नागरिकलाई रसायन योग औषधि, गाउँघर क्लिनिक, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, आयुर्वेद स्वयम्सेविका परिचालन, समयसमयमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।
जिल्ला आयुर्वेद प्रमुख चिकित्सक सूर्यनारायण मेहताका अनुसार यो वर्ष झापाको जनसङ्ख्याको पाँच प्रतिशत जनतालाई आयुर्वेद सेवा पुर्‍याउने लक्ष्य रहेको छ । आयुर्वेदमा दम, बाथ, पिनास, पथ्थरी, महिलाको समस्या, पाइल्स, जन्डिस, चर्म रोगका बिमारी धेरै आउने गरेको वरिष्ठ वैद्य मिथिलेश ठाकुरले जानकारी दिए ।
दुई दशकअघि सम्म झापामा गन्तीका आयुर्वेदिक औषधि पसल दुई/चारवटा थिए भने अहिले दुई दर्जनभन्दा बढी पसल खुलेको रबिन आयुर्वेदिक दमकका थोक बिक्रेता युवराज भट्टराईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment