Comments Add Comment

व्यवस्थापिका संसदमा भारतबारे बहस

८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण तथा नेपाल भारत जलविद्युत सम्झौताको तयारीका सम्बन्धमा सभासदहरुले यथार्थ जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । स्वराजको भ्रमणबारे सरकारले यथार्थ जानकारी नदिनु र दलहरुसँग छलफल नगर्नुले प्रश्नहरु उब्जिएको सभासदहरुले बताएका छन् ।

व्यवस्थापिका संसदको विहीवारको बैठकमा मधेश केन्द्रीत दलका सभासदहरुले राष्ट्रवादका नाममा भारतविरोधी गतिविधि हुने गरेको भन्दै आपत्ति जनाए । तराई मधेश लोकतान्त्रिक पार्टीका बृजेशकुमार गुप्ताले सरकारले सबैको विश्वास लिएर भारतसँग आवश्यक सम्झौता गर्नुपर्ने बताए । उनले जलविद्युत सम्बन्धी उर्जा सम्झौताका लागि भारतले गरेको प्रस्ताव उपयुक्त रहेको बताए ।मधेशी जनअधिकार लोकतान्त्रिकका जितेन्द्र देवले भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई सफल बनाउन सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाए । उनले नेपालमा केही जलमाफिया, सूचना माफिया र राजनीतिक माफियाले राष्ट्रवादका नाममा भारतको बिरोध गरेर जलविद्युतको विकास हुन नदिएको आरोप लगाए ।

नेपाली कांग्रेसका चन्द्र भण्डारी र गगन थापाले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमणका बारेमा सरकारले सम्बद्ध पक्षसँग पर्याप्त छलफल गरेर मुलुकको हितमा सम्झौता गर्नुपर्ने बताए । राष्ट्रियताको नाममा सधैं बिरोध गर्ने र सम्झौताको नाममा आत्ममर्पण गपर्ने कुरा दुवै गलत भएको सभासद भण्डारीले बताए ।सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमणका बेला के-के गर्ने भन्ने एजेण्डामा सरकारले दलहरु र सम्बद्ध पक्षसँग छलफल नगरेकाले नकारात्मक विषयले चर्चा पाएका बताए ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण राम्रो कुरा भए पनि विगतका अनुभवलाई हेर्दा भारतीय नेता नेपाल आउँदा अब कुन सम्पदा बेचिने हो भन्ने आशंका जनतालाई हुने गरेको बताए । ‘नेपालको हितमा सम्झौता होस, माथिल्लो कर्णाली मोदीलाई भेटी चढाउने काम नहोस’ केसीले भने । सभासदहरुले उठाएको प्रश्नप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै वनमन्त्री महेश आचार्यले भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारीबारे सरकारले संसदलाई जानकारी गराउने बताए ।

गगन र सभामुखवीच जुहारी

संसद बैठकको शुरुमै सभासदहरुले बाढिपहिरोको प्रकोपबारे बोलेपछि सभामुख सुवास नेम्वाङले बाढी पहिरोको क्षति र यसबाट पीडितलाई राहतबारे सरकारले के गरिरहेको छ भनेर सरकारलाई रुलिङ गरे । त्यसलगत्तै शून्य समयमा बोलेका कांग्रेस सभासद गगन थापाले बाढिपहिरो सरकारको ध्यानाकर्षण गराए पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा उठेका विषयमा सभामुख मौन बसेकोमा छक्क परेको बताए । सभाुमख नेम्वाङले थापालाई तत्काल जवाफ फर्काए- ‘छक्क नपर्नुस् माननीय ज्यू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment