Comments Add Comment

अख्तियार पसेपछि स्वास्थ्यका कर्मचारीले रोजे राजीनामा र स्वेच्छिक अवकाश

११ साउन, काठमाडौं । आइतबार टेकुस्थित स्वास्थ्य सेवा विभागको कार्यालयमा पुग्दा चार पाँचजना कर्मचारी हातमा राजीनामा बोकेर हाकिमको कोठा अगाडि उभिइरहेका थिए । तर, हाकिम यसअघिनै अख्तियारको निलम्बनमा परिसकेकाले उनीहरु साथीभाइ जम्मा गरेर राजीनामा बुझाउने ठाउँ खोज्दै थिए ।

पछिल्ला केही दिनयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय अन्तर्गतका बिभिन्न विभागमा छापा मारेर भ्र्रष्टाचारजन्य क्रियाकलापमा संलग्न दर्जन भन्दा बढि साना ठूला कर्मचारीलाई निलम्बन गराइसकेको छ । कतिपयविरुद्द विशेष अदालतमा मुद्दा दायर हुँदैछ ।

कलम चलाउँदैनन्

पछिल्लो पटक स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखाका महानिर्देशक आनन्दकुमार श्रेष्ठसहित एक दर्जन कर्मचारीलाई फर्जी बिल र फर्जी कार्यक्रम बनाएर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्न्ितयारले निलम्बन गर्न निर्देशन दिएको थियो । लगातार विभागमा अख्तियारले छापा मार्न थालेपछि कर्मचारीहरुको भागाभाग भएको छ ।

काम गर्ने वातावरण नभएकाले राजीनामा दिन लागिएको हातमा राजीनामा बोकेका एक कर्मचारीले बताए । बिभिन्न बिभागमा फाइल टेबुलमा राखेर बसेका कर्मचारीहरु समेत सेवाग्राही काम लिएर जाँदा कलम चलाउन मान्दैनन् । ‘कलम चलाउँ भने अख्तियारले हामील्ााई पनि कुन दिन लैजान्छ, बरु कामै नगरी बसे ठिक होला’-रोग नियन्त्रण महाशााका एक अधिकृत यसरी जवाफ फर्काउँदै थिए ।

हाकिमकोमा कर्मचारी

फर्जी बिल, कार्यक्रम नै नगरी कार्यक्रम गरेको बनाएर पैसा निकासा गरेको, जाँदै नगएको ठाउँको पनि भ्रमण आदेश बनाएर पैसा लिएको जस्ता प्रमाण भेटिएपछि अख्तियारले कागजपत्र जफत गर्दै विभागका कर्मचारीलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, विभागका कर्मचारीहरु भने अख्तियारले आतंकित बनाएको र काम गर्ने मनोबल नभएको भन्दै हाकिमहरुको कोठामा जम्मा भएर बस्न थालेका छन् ।

हाकिमहरु आफैं झन् आतंकित छन् । स्वास्थ्य सचिव प्रविण मिश्र पनि यहि बेला अवकाश भएकाले उनीहरु अहिले आ-आफ्नै बिभागमा जम्मा भएर राजीनामा दिने कि सामुहिक विरोधमा उत्रिने भन्ने छलफल गरिरहेका छन् । ‘सचिव अवकाश नभएका भए सबैजना उनलाई भेटेर काम गर्न सकिदैन भन्ने सल्लाह भएको थियो’-एक कर्मचारीले भने ।

धेरैजसो पूराना कर्मचारीहरु स्वेच्छिक अवकाशमा जान लागेका र केहीले राजीनामा दिने तयारी भइरहेको विभागका एक कर्मचारी नेताले बताए । स्वेच्छिक अवकाशको योजना आइरहेकाले धेरैले त्यो बाटो रोज्न लागेको उनले बताए । ‘कसैले पनि काम गर्ने जाँगर देखाएका छैनन्, कुन मनोबलले काम गर्ने’ एक विभागीय प्रमुखले भने-‘बिल भर्पाइकै आधारमा कारवाही थाल्ने हो भने नेपालमा कोही पनि जोगिदैनन्, अख्तियारकै मान्छे पनि जोगिदैनन् ।’

बिलको नियम बनाउ

स्वास्थ्यका कर्मचारीले कि त कर्मचारीलाई भ्रमण भत्ता लगायतका कार्यक्रमिक खर्चमा अर्थ मन्त्रालयबाटै फ्लाटमा रकम तोक्नुपर्ने कि त बिल सम्बन्धी नयाँ नियम दिनुपर्ने माग गरेका छन् । ‘जनस्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्नुपर्छ त्यहाँ बिल भरपाइ त के बस्ने होटल समेत हुदैनन्’ एक कर्मचारीले भने-‘लागेको खर्च उठाउन सदरमुकामतिरका होटलका बिल बनाएर पेस गर्नुपर्छ तर अब त त्यहि बेल पासो हुने भो’ ।

गलत गर्नेहरु डराउछन्

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भने गलत काम नगर्ने राष्ट्रसेवक कर्मचारीहरुले अख्तियारसँग डराउन नपर्ने बताएका छन् । ‘असल नियतले काम गर्नेले अख्तियारसँग डराउने होइन सहयोग गर्छन् । गलत गर्ने र राज्यकोषमा आँखा लगाउनेहरु आतंकित हुन्छन् भने त्यो राम्रो कुरा हो’-अख्तियार प्रमुख कार्कीले अनलाइनखबरसँग भने ।

अख्तियारले गलत काम गर्ने जो कोही जुनसुकै तहको भए पनि नछाड्ने चेतावनी समेत उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment