१२ साउन, काठमाडौं । विकासवादी छवि बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नजिकिँदै जाँदा नेपालले लिन सक्ने फाइदाबारे बहस सुरु भएको छ ।
सरकारका अधिकारीहरु भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा प्रस्तुत गर्ने विकासे एजेण्डाहरु बनाउन व्यस्त छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश खुद्रे मागको विन्तिपत्र राख्न नहुने बताउँछन् । जलविद्यतु, सडक र हुलाकी मार्गलाई प्राथमिकताबारे उठाउनु पर्ने उनको सुझाव छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय प्रधानमन्त्री मोदी स्वयंमले भने ६०० मेटावाटको जलविद्युत परियोजना उपहार लिएर काठमाडौं आउनेछन् ।
विकासवादी छवि बनाएका मोदीको भ्रमणमा नेपालले नेपाल र भारतलाई रेलमार्गले जोड्न प्रस्ताव गर्न सक्नेछ । मोदी सोमबार पारेर नेपाल आउँदैछन् र भ्रमणको मुख्य मध्येको एक कार्यक्रम पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुछ ।
मोदी सरकारले हालै ल्याएको बजेटमा धार्मिक क्षेत्रलाई रेल नेटवर्कमा जोड्ने विषयलाई प्राथमिकता दिइएको छ । त्यस्तोमा नेपालले भारतसँगै नेपालका तीर्थस्थललाई रेल नेटवर्कमा जोड्ने एजेण्डालाई उठाउँदा मोदीलाई कन्भिन्स गर्न सहज हुनेछ ।
मोदी सरकारले केदारनाथ, बद्रीनाथ र सोमनाथलाई तीर्थयात्रा रेल रुटका रुपमा अघि सारेको छ । अब यो नाथ रुटलाई काठमाडौंको पशुपतिनाथ हुँदै मुक्तिनाथसम्म लैजान सकिनेछ । यो रेल मार्गलाई मनकामनासम्म विस्तार गर्ने विकल्प पनि हुनेछ । यसले नेपालमा भारतीय पर्यटकहरुको आगमन बढ्नेछ भने राजश्व बढ्नेछ ।
भारतले प्रमुख तीर्थस्थल वाराणसी, सारनाथ र बोधगयालाई पनि रेट नेटवर्कले जोड्दैछ । नेपालले यसलाई गौतम बुद्धको जन्मस्थान लुम्बिनीसम्म विस्तार गर्न प्रस्ताव गर्न सक्ने बताइएको छ ।
उसो त नेपाल र भारतबीच जनकपुर-जयनगर चल्ने रेल छ । यो निकै नाजुक अवस्थामा छ र भारतले नेपालको एकमात्र रेलवे सेवालाई अपग्रेट गर्ने आश्वासन दिँदै आएको छ ।
चीनको दबाव
पछिल्लो पटक चीनले नेपालमा विकास निर्माणमा जोड दिएपछि भारतमाथि पनि दबाव परेको छ । भारतीय विदेश मामिलाका जानकार एनएन झा अब भारतले पनि नेपालमा काम गरेर देखाउनु पर्ने बताउँछन् । ‘पश्चिम नेपालमा माओवादी समस्याका कारण भारतले काम गर्न सकेन । अब हामीले पनि काम गर्ने बेला आएको छ’ उनले भारतीय टीभी एनडीटीभीसँग भनेका छन् ।
चीनले ल्हासा हुँदै सिगात्सेसम्म रेल मार्ग बनाएको छ र ६ वर्षभित्र नेपालको सीमा क्षेत्र केरुङ जोड्ने चीनको घोषणा छ । हालै निर्माण सम्पन्न भएको ल्हासा-सिगात्से २५३ किलोमिटर रेलमार्गमा आगामी अगष्टबाट रेल सञ्चालनमा आउनेछ ।
अधिकारीहरुका अनुुसार नेपाल, भारत र भुटानी सीमामा रेल कुदाउने चीनको तयारी छ र केरुङबाट नेपानलसम्मै लैजान चीन सकारात्मक छ ।
प्रतिक्रिया 4