Comments Add Comment

यस्तो छ नेपाल-भारत व्यापारको दुर्दशा

नविन अर्याल

१८ साउन, काठमाडौं । छिमेकी मुलुक भारतसँग नेपालको परनिर्भरता कहालिलाग्दो रुपमा बढ्दै गइरहेको छ । नेपालको कुल वैदेशिक व्यापारमध्ये करिव ७० प्रतिशत व्यापार भारतसँग हुने गरेको छ ।

भर्खरै सम्पन्न आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म भारतसँग ४ खर्ब ८६ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको कुल व्यापार भएको छ । यसमध्ये ५४ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तुहरु नेपालबाट भारतमा निर्यात भएको छ भने ४ खर्ब ३१ अर्ब ६२ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट आयात गरिएको छ ।

India Nepal_import export

यस अवधिमा भारतसँग नेपालको व्यापार घाटा ३०.३ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा भारतसँग जम्मा २ खर्ब ८९ अर्ब २९ करोड ६३ लाख रुपैयाँको व्यापार घाटा थियो । भारतसँगको व्यापार घाटा विगतका वर्षदेखि नै बढ्दो क्रममा रहेको छ ।

सवा एक खर्बको पेट्रोल आयात

भारतबाट एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थमात्र १ खर्ब २१ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन आयात भारतमा नेपालबाट भएको निर्यात भन्दा दुई गुनाभन्दा बढी हो । अघिल्लो जेठसम्मको तुलनामा यस जेठमा पेट्रोलियम पदार्थको आयात २३.८ प्रतिशतले बढेको छ । अघिल्लो जेठमा ९८ अर्ब ५ करोड ५३ लाख रुपैयाँको पेट्रोल आयात भएको थियो । पछिल्ला वर्षहरुमा नेपालको व्यापार घाटा हृवात्तै बढाउन पेट्रोलियम पदार्थको ठूलो भूमिका रहेको देखिएको छ ।

३० अर्बको सवारी तथा पार्टस्

भारतबाट सवारीसाधन तथा पार्टसहरुको आयात पनि निकै बढेको छ । जेठ मसान्तसम्म ३० अर्ब ४ करोड ९८ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु भारतबाट आयात भएका छन् । यो आयात अघिल्लो जेठ मसान्तको तुलनामा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको जेठसम्म भारतबाट २४ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका थिए ।

नेपाल कृषि प्रधान मुलुक भए पनि चामलसमेत भारतबाट आयात गर्नुपरेको छ । जेठ मसान्तसम्म भारतबाट ११ अर्ब ७ करोड ७१ लाख रुपैयाँ बराबरको चामल आयत भएको राष्ट्र बैंकले जनाएको छ । यो आयात अघिल्लो वर्षको जेठको तुलनामा ३९ प्रतिशतले बढी हो । भारतबाट फलाम २१ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ, फलाम तथा स्टिल रोल १० अर्ब ५४ करोड ९४ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको निर्यात

नेपालबाट भारतमा जेठ मसान्तसम्म ४ अर्बको अलैंची, २ अर्ब ६९ करोडको जिआई पाईप, ४ अर्ब ३ करोडको जुस, ४ अर्ब ५ करोडको जुस गुड्स, ४ अर्ब ७६ करोडको पोलिष्ट धागो, एक अर्ब ८० करोडको जुत्ता तथा सेन्डिल, एक अर्ब ४६ करोडको गिट्टी बालुवा, ५ अर्ब ९ करोडको टेक्सटाइल, १ अर्ब ५ करोडको टुथ पेष्ट, १ अर्ब ९२ करोडको तार र ५ अर्ब ७८ करोडको जिंक सिट निर्यात भएको छ ।

भारतबाट नेपालमा खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस्, हट रोल्ड शिट इन क्वायल, धागो, सिमेन्ट, कृषि उत्पादन तथा प्रविधि, हटरोल्ड सीट, मेसिनरी पार्टस्, चामल लगायतका वस्तुहरुको आयात उच्च रहेको छ ।  नेपालबाट भारततर्फ जिङ्क शिट, ढुङ्गा तथा वालुवा, अलैंची, जुस लगायतका वस्तुहरुको निर्यात हुँदै आएको छ ।

के भन्छन् व्यवसायी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा खासगरी भारतसँग बढ्दो व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्नेबारे सहयोगका लागि आग्रह गर्नुपर्नेमा नेपाली उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।

‘भारतसँग विद्युत व्यापार सम्झौता गरेर नेपालबाट विजुली निर्यात गर्न सकेमा व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले भने- ‘मोदीको भ्रमणमा विद्युत व्यापार सम्झौता गर्न नेपाल चुक्नुहुँदैन ।’

भारतसँग विद्युत व्यापार सम्झौता गर्न सकेमा स्वदेशी तथा विदेशी लगानी आकषिर्त हुने मुरारकाको विश्वास छ । ठूलो परिमाणमा विद्युत उत्पादन गरी भारत निर्यात गर्न सकेमा व्यापार घाटा कम गराउन सहयोग पुग्ने उनको भनाइ छ । त्यसो त नेपालमै लोडसेडिङ अन्त्य भएमा भारतबाट पेट्रोलियम पदार्थको आयात स्वतः घट्ने उनले बताए । पेट्रोलियम पदार्थकै कारण भारतसँगको व्यापार घाटा उच्च दरले बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म भारतबाट भएको ४ खर्ब ३१ अर्ब ६२ करोडको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.६ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०६९/७० को जेठसम्म भारतबाट ३ खर्ब ३५ अर्ब ७३ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको  थियो । अघिल्लो वर्षभन्दा समीक्षा वर्षमा भारतबाट झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको वस्तुहरु आयात भएको छ ।

नेपालबाट भारतमा गत जेठ मसान्तसम्म निर्यात १७.५ प्रतिशतले बढेर ५४ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको जेठसम्मा नेपालबाट ४६ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तुहरु भारत निर्यात भएको थियो । नेपालबाट भारततर्फ हुने निर्यात बढेपनि भारतबाट नेपालमा हुने आयातको तुलनामा नगन्य जस्तै रहेको छ ।

नेपाली वस्तुमा भारतले अन्तःशुल्क हटाअाेस्

भारतले नेपाली वस्तुहरुमा लगाउँदै आएको अन्तःशुल्क हटाई सहज रुपमा प्रवेश पाउने व्यवस्था तयर गरिदिएर नेपालमा औद्योगिक विकासमा सहयोग पुर्‍याउनुपर्ने महासंघका केन्द्रीय सदस्य अशोक तेमानी बताउँछन् । नेपाली बस्तुले भारतीय बजार पाएमा यहाँ उद्योगहरु बढ्ने उनको भनाइ छ ।

तेमानीले क्वारेनटाइनको समस्यालाई पनि भारतले फुकुवा गरेर नेपाली कृषि उत्पादनलाई भारतीय बजारमा सहज रुपमै बिक्री गर्न सक्ने अवस्था सिर्जना गरिदिएमा केही हदसम्म व्यापार घाटा कम गर्न सकिने बताए । यसो भएमा नेपालमा तरकारी खेतीमा किसानको आकर्षण बढ्ने उनले ठोकुवा गरे । मोदीको नेपाल भ्रमणका क्रममा सरकारले यी विषयहरु छलफल गरेर सहयोगका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालमा औद्योगिक विकासबीना बढ्दो व्यापार घाटा कम गर्न सकिँदैन’ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने- ‘भारतले नेपालमा उत्पादित वस्तुहरुको सहज प्रवेश व्यवस्था नगरेसम्म उद्योग धन्दामा लगानी बढ्नेवाला छैन् ।’ नेपाल सरकारले जसरी भए पनि निर्यातयोग्य वस्तुहरु उत्पादन गर्ने उद्योगमा लगानी गर्ने वातावरण तय गर्नु जुरुरी देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment