Comments Add Comment

सुनकोशीमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

uddar-2

१९ साउन, सिन्धुपाल्चोक । सुनकोशी नदी थुनिने गरी गत शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

डोजर र स्काभेटरले पहिरो हटाउने क्रममा घरको भग्नावशेषमा सोमबार मात्र २३ जनाको शव ंभेटिएको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले जानकारी दिए । ‘पहिरोले पुरिएको ठाउँमा त उत्खनन गर्न सकिने अवस्था छैन’ एसपी सिंहले अनलाइनखबरसँग भने-‘पहिरोको वेभले भेटाएको ठाउँमा मात्रै आज खोजी गरिएको हो ।’

यो पनि पढ्नुस् : संखुवासभाको पहिरोमा ५ को मृत्यु, ५ वेपत्ता

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा एकै परिवारका पाँच जनादेखि तीन महिने दूधेबच्चासमेत छन् । प्रहरीका अनुसार घुस्कुन १ का राजु धामी, उनकी पत्नी, २ वर्षका छोरा र दुई छोरीहरु १४ वर्षकी सरु र ९ वर्षकी रिजु रहेकी छन् ।

यस्तै माङ्खा १ की ३० वर्षीया मिठू तिमल्सिना, उनका ९ वर्षका राजीव, ७ वर्षका छोरी रञ्जित र ३० वर्षकी सोममाया श्रेष्ठ, उनको तीन महिने छोराको मृत्यु भएको छ । सोममायाको शवसँगै ११ हजार ४०५ रुपैयाँ र तीन तोला सुन भेटिएको छ ।

उदयपुर घर भएकी ४१ वर्षकी मिठू दनुवारको पनि शव भेटिएको छ । माङ्खा १ की ३५ वर्षकी चन्दा श्रेष्ठ, उनकी माइती आमा ५५ वर्षकी धनमाया श्रेष्ठको पनि शव भेटिएको छ ।

५१ वर्षका रामबहादुर श्रेष्ठसँगै ६ जनाको शव सुतेकै अवस्थामा भेटिएको छ । उनीहरुको नाता भने खुलेको छैन । जसमा ४७ वर्षकी सुशिला श्रेष्ठ, १० वर्षका प्रशान्त श्रेष्ठ, ६ वर्षका सिम्रन श्रेष्ठ र २० वर्षकी लक्ष्मी को शनाखत भएको छ । सिन्धुपाल्चोकको टेकानपुर २ का लालकुमारी बूढाथोकी, माङ्का १ का ४० वर्षका गणेश श्रेष्ठ, १४ वर्षकी जया श्रेष्ठ र २० वर्षकी पुनम श्रेष्ठको पनि शव भेटिएको छ ।

अधिकांश शव सुन्निएको अवस्थामा भेटिएको छ । यसअघि शनिबार ८ जनाको र आइतबार एक बालिकाको शव भेटिएको थियो । एउटा भने हात मात्र पहिलो दिन नै भेटिएको थियो ।

uddar-1

सोमबार बिहानैबाट डोजर र स्काभेटरको सहयोगमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव खोजी थालेको थियो । स्थानीयले यहाँ घर थियो, शव हुनसक्छन् भनेका आधारमा डोजर र स्काभेटरले पहिरो हटाएको हो । मुख्य पहिरो झरेको ठाउँमा भने तत्काल उत्खनन गर्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।

दुई वम बिस्फोट

पहिरोले नदी थुनिएपछि बनेको तालको पानी पास गराउन सोमबार नेपाली सेनाले थप दुईवटा बम बिस्फोट गराइएको छ । यसले नदीमा माथिबाट आएको पानी ९० प्रतिशत पास हुन थालेको छ ।

तर, अहिले पनि थप पहिरोको खतरा छ । ‘घाम चर्को लाग्दा अहिले पनि ढुंगाहरु खस्छ’ सिंहले भने-‘पहिरोको माथिल्लो भागमा चिरा परेको छ, त्यो कहिले खस्छ भन्न सकिन्न ।’ सरकारले भूगर्भविदहरुसहितको टोली पठाउने तयारी गरेको छ ।

शनिबार बिहान करिव साढे ३ बजेतिर राम्चेबाट झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुप्रेको थियो भने गाउँ नै पुरिएको छ । प्रहरीले १५० बढी सर्वसाधारण वेपत्ता रहेको बताएको छ । तर, झण्डै ५० घर पुरिएको आशंका गरे पनि यकिन तथ्यांक छैन ।  पहिरोले थुनेको नदी ओभरफ्लो भएर बगेपछि बनेको ताल कायमै छ । जसका कारण उद्धार कार्यमा समेत अप्ठ्यारो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment